अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच ॥
कृताकृते च द्वन्द्वानि कदा शान्तानि कस्य वा ।
एवं ज्ञात्वेह निर्वेदाद् भव त्यागपरोऽव्रती ॥ ९-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘हे जनक ! कृत र अकृत अर्थात मैले यो गर्नुपर्छ वा मैले यो गर्नुहुँदैन आदि द्वन्द्व कसैको पनि कहिल्यै शान्त हुँदैन । यो विचार गरेर कृताकृत वस्तुको त्याग गरी कुनै नियमको पालना गर्न नपर्ने बन ।'
श्लोक २
कस्यापि तात धन्यस्य लोकचेष्टावलोकनात् ।
जीवितेच्छा बुभुक्षा च बुभुत्सोपशमः गताः ॥ ९-२॥
यस संसारको व्यर्थ चेष्टालाई देखेर मानिसमा वैराग्य प्राप्त हुन्छ । वैराग्य प्राप्त भएपछि न कुनै जान्ने, भोग गर्ने इच्छा हुन्छ, न त म बाँचिरहुँ भन्ने नै हुन्छ । अर्थात वैराग्य प्राप्त भएपछि इच्छा निवृत्त हुन्छ ।
श्लोक ३
अनित्यं सर्वमेवेदं तापत्रितयदूषितम् ।
असारं निन्दितं हेयमिति निश्चित्य शाम्यति ॥ ९-३॥
यो सबै अनित्य छ, तीन प्रकारका दुःख (दैविक, भौतिक, आध्यात्मिक)ले घेरिएको छ, सारहीन छ, निन्दनीय छ, त्याग गर्न योग्य छ, यस्तो निश्चित गरेर शान्ति प्राप्त गर ।
श्लोक ४
कोऽसौ कालो वयः किं वा यत्र द्वन्द्वानि नो नृणाम् ।
तान्युपेक्ष्य यथाप्राप्तवर्ती सिद्धिमवाप्नुयात् ॥ ९-४॥
यस्तो कुन समय अथवा उमेर छ, जब मनुष्यलाई संशय छैन, अतः संशयलाई उपेक्षा गरेर अनायास सिद्धि प्राप्त गर ।
श्लोक ५
नाना मतं महर्षीणां साधूनां योगिनां तथा ।
दृष्ट्वा निर्वेदमापन्नः को न शाम्यति मानवः ॥ ९-५॥
महर्षि, साधु तथा योगिहरुका विभिन्न मत, धारणा एवं तर्कहरु सुनेर-देखेर मनुष्य वैराग्यवान भएर शान्त हुन्छ ।
श्लोक ६
कृत्वा मूर्तिपरिज्ञानं चैतन्यस्य न किं गुरुः ।
निर्वेदसमतायुक्त्या यस्तारयति संसृतेः ॥ ९-६॥
जुन धीर पुरुषले श्रुतिशास्त्रको अनुकूल युक्तिबाट सच्चिदानन्दरुप आत्मालाई साक्षात्कार गरेको छ तथा विषयवासना त्याग गरेर सबैमा समदृष्टि राख्दछ, उसले संसाररुपी सागरबाट आफूलाई आफैँ पार गर्दछ अर्थात आफ्नो उद्धार गर्ने गुरु आफैँ बन्दछ ।
श्लोक ७
पश्य भूतविकारांस्त्वं भूतमात्रान् यथार्थतः ।
तत्क्षणाद् बन्धनिर्मुक्तः स्वरूपस्थो भविष्यसि ॥ ९-७॥
तत्वको विकारलाई वास्तवमा तिनको मात्राको परिवर्तनको रुपमा देख, यस्तो देख्नेबित्तिकै त्यही क्षण तिमी बन्धनबाट मुक्त भएर आफ्नो स्वरुपमा स्थित हुन्छौ ।
श्लोक ८
वासना एव संसार इति सर्वा विमुञ्च ताः ।
तत्त्यागो वासनात्यागात्स्थितिरद्य यथा तथा ॥ ९-८॥
संसार केवल इच्छाको हो, यस्तो जानेर सबैकुरा त्याग गर । यस्तो त्यागबाट इच्छाको त्याग हुन्छ अनि प्रारब्ध कर्मानुसार शरीरको स्थिति हुन्छ ।
«
१
२
३
४
५
६
७
८