अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच
अहो निरञ्जनः शान्तो बोधोऽहं प्रकृतेः परः ।
एतावन्तमहं कालं मोहेनैव विडम्बितः ॥ २-१॥
अष्टावक्र मुनिका उपदेशबाट साक्षात्कार प्राप्त भएर राजा जनक आश्चर्य मान्दै विन्ति गर्छन् – ‘हे भगवान ! म निरञ्जन, शान्त बोधस्वरुप, प्रकृतिबाट पर भएर पनि अनन्त कालदेखि देहाभिमानमा मोहित भएर सधैँ दुःखी रहेँ ।'
श्लोक २
यथा प्रकाशयाम्येको देहमेनं तथा जगत् ।
अतो मम जगत्सर्वमथवा न च किञ्चन ॥ २-२॥
जुन प्रकार म यस शरीरलाई प्रकाशित गर्दछु, उस प्रकार यस विश्वलाई पनि प्रकाशित गर्दछु । म बिना यस शरीर र जगतको अस्तित्व छैन । त्यसैले नामका कारणले म र यस विश्वको भेद भएको हो अन्यथा कुनै भेद छैन ।
श्लोक ३
स शरीरमहो विश्वं परित्यज्य मयाधुना ।
कुतश्चित् कौशलाद् एव परमात्मा विलोक्यते ॥ २-३॥
यो शरीर समेतको सम्पूर्ण विश्व केवल आत्माको सत्ताबाट मात्र सत्यझैँ लाग्दछ, उसको छुट्टै आफ्नो सत्ता छैन, त्यसैले मिथ्या हो । कुनै कौशलद्वारा यस शरीर र विश्वलाई त्याग गरेर परमात्माको दर्शन गर्न सकिन्छ ।
श्लोक ४
यथा न तोयतो भिन्नास्तरङ्गाः फेनबुद्बुदाः ।
आत्मनो न तथा भिन्नं विश्वमात्मविनिर्गतम् ॥ २-४॥
जस्तै लहर, फिँज, फोका पानीबाट भिन्न हुँदैनन्, त्यस्तै प्रकार आत्मा पनि आफैँबाट उत्पन्न यो सम्पूर्ण चराचर जगतबाट भिन्न छैन ।
श्लोक ५
तन्तुमात्रो भवेद् एव पटो यद्वद् विचारितः ।
आत्मतन्मात्रमेवेदं तद्वद् विश्वं विचारितम् ॥ २-५॥
जुनप्रकार विचार गरेर हेर्दा वस्त्र केवल धागोको रुप मात्र भएको भान हुन्छ, उसै प्रकार यो समस्त विश्व आत्मा मात्र हो ।
श्लोक ६
यथैवेक्षुरसे क्लृप्ता तेन व्याप्तैव शर्करा ।
तथा विश्वं मयि क्लृप्तं मया व्याप्तं निरन्तरम् ॥ २-६॥
जुनप्रकार उखुको रसले बनेको शक्कर अवस्थामा मात्र भेद छ, वास्तवमा गुलियो रसले व्याप्त छ, त्यसै प्रकार जगतमा पनि निरन्तर रुपले आत्मा व्याप्त छ ।
श्लोक ७
आत्मज्ञानाज्जगद् भाति आत्मज्ञानान्न भासते ।
रज्ज्वज्ञानादहिर्भाति तज्ज्ञानाद् भासते न हि ॥ २-७॥
जसरी प्रकाशको कमीले रसी सर्पझैँ भान हुन्छ, त्यस्तै आत्मज्ञानको अभावले जगत सत्यजस्तो प्रतीत हुन्छ ।
श्लोक ८
प्रकाशो मे निजं रूपं नातिरिक्तोऽस्म्यहं ततः ।
यदा प्रकाशते विश्वं तदाहं भास एव हि ॥ २-८॥
प्रकाश मेरो स्वरुप हो, यसको अतिरिक्त म अरु होइन । प्रकाश जसले विश्वलाई प्रकाशित गरेको छ, त्यसले ‘म’ भावलाई पनि प्रकाशित गरेको छ ।
श्लोक ९
अहो विकल्पितं विश्वमज्ञानान्मयि भासते ।
रूप्यं शुक्तौ फणी रज्जौ वारि सूर्यकरे यथा ॥ २-९॥
आश्चर्य यो छ – अज्ञानले गर्दा जसरी सिपीमा चाँदी, डोरीमा सर्प र सूर्यकिरणमा पनि पानी प्रतीत हुन्छ, त्यसै गरी अज्ञानले गर्दा मेरो प्रकाशमय आत्मामा यो जगत प्रतीत भएको छ ।
श्लोक १०
मत्तो विनिर्गतं विश्वं मय्येव लयमेष्यति ।
मृदि कुम्भो जले वीचिः कनके कटकं यथा ॥ २-१०॥
मबाट उत्पन्न भएको विश्व ममा नै विलीन हुन्छ, जसरी घडा माटोमा, लहर जलमा र गहना सुनमा विलीन हुन्छन् ।
श्लोक ११
अहो अहं नमो मह्यं विनाशो यस्य नास्ति मे ।
ब्रह्मादिस्तम्बपर्यन्तं जगन्नाशोऽपि तिष्ठतः ॥ २-११॥
यो ठूलो आश्चर्य छ – प्रलयकालमा ब्रह्मादेखि तृणसम्म सम्पूर्ण जगतको नाश हुन्छ, तर मेरो (आत्माको) नाश हुँदैन । त्यसैले मलाई (स्वरुप ब्रह्मलाई) नमस्कार छ ।
श्लोक १२
अहो अहं नमो मह्यमेकोऽहं देहवानपि ।
क्वचिन्न गन्ता नागन्ता व्याप्य विश्वमवस्थितः ॥ २-१२॥
यो बडो आश्चर्यको कुरा छ कि आत्मा एउटै छ तर अनेक देहरुपी उपाधिहरुका भेदले गर्दा अनेक आत्मा भएजस्तो प्रतीत हुन्छ । आउनु–जानु शरीरादिको धर्म हो, आत्माको होइन । जसरी एउटै व्यापक आकाश उपाधि भेदले विभिन्न घटमठादिमा छुट्टाछुट्टै भान हुन्छ, त्यस्तै यस आत्मा पनि विभिन्न स्वरुपका कारणले अनेक भान हुन्छ, वास्तवमा एक छ र सर्वत्र व्याप्त छ ।
श्लोक १३
अहो अहं नमो मह्यं दक्षो नास्तीह मत्समः ।
असंस्पृश्य शरीरेण येन विश्वं चिरं धृतम् ॥ २-१३॥
म आश्चर्यरुप आत्मालाई स्वयं नमस्कार गर्दछु किनभने मभन्दा अर्काे कोही छैन जसलाई म नमस्कार गरुँ । जसरी आगोले घिउको डल्लोमा नछोईकन पनि घिउको डल्लालाई पगालेर रसरुप पार्दछ, त्यस्तै गरी म जगतमा लीन नभएर पनि सम्पूर्ण जगतलाई धारण गर्दछु ।
श्लोक १४
अहो अहं नमो मह्यं यस्य मे नास्ति किञ्चन ।
अथवा यस्य मे सर्वं यद् वाङ्मनसगोचरम् ॥ २-१४॥
आश्चर्य छ, मलाई नमस्कार छ, सम्पूर्णलाई धारण गरेर पनि मेरो कसैसँग सम्बन्ध छैन । परमार्थ दृष्टिबाट हेर्दा मेरो कसैसँग सम्बन्ध छैन, तर विचारदृष्टिबाट हेर्दा म कसैबाट भिन्न छैन । सांसारिक दृष्टिबाट जे जो देखिन्छ, मनवाणीबाट जे जो विचार गरिन्छ, ती सबै मेरा सम्बन्धी हुन् । तर त्यो सम्बन्ध मिथ्या हो ।
श्लोक १५
ज्ञानं ज्ञेयं तथा ज्ञाता त्रितयं नास्ति वास्तवम् ।
अज्ञानाद् भाति यत्रेदं सोऽहमस्मि निरञ्जनः ॥ २-१५॥
ज्ञान, ज्ञेय र ज्ञाता जुन त्रिपुटी रुप हो, त्यो पनि वास्तवमा छैन । अज्ञानले मात्र चेतनमा यी प्रतीत हुन्छन् । जुन माया र त्यसको कार्यबाट रहित चेतन आत्मा छ, त्यो म नै हुँ ।
श्लोक १६
द्वैतमूलमहो दुःखं नान्यत्तस्याऽस्ति भेषजम् ।
दृश्यमेतन् मृषा सर्वमेकोऽहं चिद्रसोमलः ॥ २-१६॥
द्वैत (सुख–दुःखको भ्रम) सबै दुःखको मूल कारण हो । जुन द्वैत भान भएको छ, त्यो सबै असत्य छ । म एक, चैतन्य र निर्मलस्वरुप हुँ ।
श्लोक १७
बोधमात्रोऽहमज्ञानाद् उपाधिः कल्पितो मया ।
एवं विमृशतो नित्यं निर्विकल्पे स्थितिर्मम ॥ २-१७॥
म केवल ज्ञानस्वरुप हुँ, अज्ञानको कारणले नै मद्वारा स्वयंमा अन्य गुण कल्पना गरिएको हो । विवेकविचारबाट हेर्दा म सनातन र कारणरहित रुपमा स्थित छु ।
श्लोक १८
न मे बन्धोऽस्ति मोक्षो वा भ्रान्तिः शान्तो निराश्रया ।
अहो मयि स्थितं विश्वं वस्तुतो न मयि स्थितम् ॥ २-१८॥
न ममा कुनै बन्धन छ, न कुनै मुक्तिको भ्रम । म शान्त र आश्रयरहित हुँ । ममा स्थित देखिएको यो विश्व वास्तवमा मबाट भिन्न छैन ।
श्लोक १९
सशरीरमिदं विश्वं न किञ्चिदिति निश्चितम् ।
शुद्धचिन्मात्र आत्मा च तत्कस्मिन् कल्पनाधुना ॥ २-१९॥
यो निश्चित हो कि यो शरीरसहित यो विश्व अस्तित्वहीन छ । केवल शुद्ध, चैतन्य आत्माको नै अस्तित्व छ । मायारुपी मलरहित प्रकाशस्वरुप आत्माको ज्ञान भएपछि फेरि कहिल्यै पनि जगतको उत्पत्ति हुने छैन अर्थात कल्पना हुने छैन ।
श्लोक २०
शरीरं स्वर्गनरकौ बन्धमोक्षौ भयं तथा ।
कल्पनामात्रमेवैतत् किं मे कार्यं चिदात्मनः ॥ २-२०॥
शरीर, स्वर्ग, नर्क, बन्धन, मोक्ष र भय यी सबै कल्पना मात्र हुन् । यीसँग म चैतन्यस्वरुपको कुनै प्रयोजन हुँदैन ।
श्लोक २१
अहो जनसमूहेऽपि न द्वैतं पश्यतो मम ।
अरण्यमिव संवृत्तं क्व रतिं करवाण्यहम् ॥ २-२१॥
आश्चर्य, म जनसमूहमा पनि दोस्रो केही देख्दिँन । यसकारण यो अवास्तविक मिथ्या संसारसँग मेरो कुनै प्रीति छैन किनभने संसारलाई मैले मिथ्या जानिसकेँ ।
श्लोक २२
नाहं देहो न मे देहो जीवो नाहमहं हि चित् ।
अयमेव हि मे बन्ध आसीद्या जीविते स्पृहा ॥ २-२२॥
म न शरीर हुँ, न यो शरीर नै मेरो हो । न म जीव हुँ, न चैतन्य नै हुँ । मभित्र भएको जिउने इच्छा नै मेरो बन्धन हो ।
श्लोक २३
अहो भुवनकल्लोलैर्विचित्रैर्द्राक् समुत्थितम् ।
मय्यनन्तमहाम्भोधौ चित्तवाते समुद्यते ॥ २-२३॥
आश्चर्यको अनुभव भएको छ, जसरी समुन्द्रमा हावा चल्दा अनेक तरङ्ग(लहर)हरु उठ्छन् र हावा शान्त भएपछि समुन्द्रमै लीन हुन्छन्, त्यस्तै आत्मारुपी महासमुन्द्रमा चित्तरुपी हावाको वेगले जगतरुपी अनेक तरङ्गहरु उत्पन्न हुन्छन् र चित्तरुपी हावा शान्त भएपछि लीन हुन्छन् ।
श्लोक २४
मय्यनन्तमहाम्भोधौ चित्तवाते प्रशाम्यति ।
अभाग्याज्जीववणिजो जगत्पोतो विनश्वरः ॥ २-२४॥
म अनन्त महासागरमा चित्तवायु शान्त भएपछि जीवरुपी व्यापारीको शरीररुपी डुङ्गा दुर्भाग्यवश नष्ट हुन्छ ।
श्लोक २५
मय्यनन्तमहाम्भोधावाश्चर्यं जीववीचयः ।
उद्यन्ति घ्नन्ति खेलन्ति प्रविशन्ति स्वभावतः ॥ २-२५॥
सम्पूर्ण प्रपञ्चलाई मिथ्या जानेर मुक्तात्मा आश्चर्यसहित भन्दछन् – ‘म अनन्त महासागरमा जीवरुपी लहरा उत्पन्न हुन्छन्, मिल्छन्, खेल्छन् र स्वभाव अनुसार ममा नै प्रवेश गर्दछन् ।'
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५