अष्टावक्र गीता
«
श्लोक १
जनक उवाच
कथं ज्ञानमवाप्नोति कथं मुक्तिर्भविष्यति ।
वैराग्यं च कथं प्राप्तमेतद् ब्रूहि मम प्रभो ॥ १-१॥
राजा जनक चित्तको सन्देह निवारण गर्ने उद्देश्यले महर्षि अष्टावक्र मुनिसँग बिन्ति गर्नुहुन्छ – ‘हे प्रभु ! ज्ञान कसरी प्राप्त हुन्छ ? मुक्ति कसरी मिल्दछ ? वैराग्य कसरी प्राप्त हुन्छ ? कृपा गरेर बिस्तारपूर्वक बताउनुहोस् ।’
श्लोक २
अष्टावक्र उवाच
मुक्तिमिच्छसि चेत्तात विषयान् विषवत्त्यज ।
क्षमार्जवदयातोषसत्यं पीयूषवद् भज ॥ १-२॥
अष्टावक्र आज्ञा गर्नुहुन्छ – 'हे राजन ! यदि तिमी मुक्ति चाहन्छौ भने मनद्वारा विषयहरुलाई विष सम्झेर त्यागिदेऊ । विषयभोगबाट बुद्धि क्षीण हुन्छ । मुमुक्षुले विषयहरुलाई त्याग गरी क्षमा, सरलता, दया, सन्तोष एवम् सत्यलाई अमृत मानेर पान गर्नुपर्छ ।'
श्लोक ३
न पृथ्वी न जलं नाग्निर्न वायुर्द्यौर्न वा भवान् ।
एषां साक्षिणमात्मानं चिद्रूपं विद्धि मुक्तये ॥ १-३॥
तिमी न पृथ्वी, जल, तेज, वायु वा आकाश नै हौ । तिमी यिनका धर्म गन्ध, रस, रुप, स्पर्श र शब्दबाट पनि अलग छौ । मुक्तिको निमित्त पञ्च महाभूत र तिनको गुणलाई अनात्म धर्म जानेर त्यागिदेऊ र चैतन्यस्वरुप साक्षी आत्मालाई धारण गर ।
श्लोक ४
यदि देहं पृथक् कृत्य चिति विश्राम्य तिष्ठसि ।
अधुनैव सुखी शान्तो बन्धमुक्तो भविष्यसि ॥ १-४॥
यदि तिमी स्वयंलाई यस शरीरबाट अलग गरी चेतनामा विश्राम गर्छौ भने तत्काल नै तिमीलाई सुखशान्ति मिल्छ र कर्तापन र भोक्तापनको बन्धनबाट मुक्ति मिल्दछ ।
श्लोक ५
न त्वं विप्रादिको वर्णो नाश्रमी नाक्षगोचरः ।
असङ्गोऽसि निराकारो विश्वसाक्षी सुखी भव ॥ १-५॥
तिमी ब्राह्मण आदि सम्पूर्ण जातिबाट अथवा ब्रह्मचर्य आदि सम्पूर्ण आश्रमबाट तथा आँखाको दृष्टिबाट पर छौ । तिमी निर्लिप्त, निराकार र यस विश्वको साक्षी हौ, यस्तो जानेर सुखी होऊ ।
श्लोक ६
धर्माधर्मौ सुखं दुःखं मानसानि न ते विभो ।
न कर्तासि न भोक्तासि मुक्त एवासि सर्वदा ॥ १-६॥
धर्म, अधर्म, सुख र दुःख केवल मनका सङ्कल्प मात्र हुन्, स्वयंप्रकाश आत्माका होइनन् । त्यसकारण तिमी कर्ता पनि होइनौ, भोक्ता पनि होइनौ । तिमी त शुद्ध चैतन्यस्वरुप हौ र सदा मुक्त छौ ।
श्लोक ७
एको द्रष्टासि सर्वस्य मुक्तप्रायोऽसि सर्वदा ।
अयमेव हि ते बन्धो द्रष्टारं पश्यसीतरम् ॥ १-७॥
तिमी समस्त विश्वको एकमात्र द्रष्टा हौ । तिमी अद्वितीय, सर्वसाक्षी र सर्वदा मुक्त छौ । तिम्रो बन्धन यो मात्र हो तिमी अरु कसैलाई द्रष्टा मान्छौ ।
श्लोक ८
अहं कर्तेत्यहंमानमहाकृष्णाहिदंशितः ।
नाहं कर्तेति विश्वासामृतं पीत्वा सुखी भव ॥ १-८॥
हे जनक ! अहंकाररुपी महासर्पको प्रभावले तिमीले कर्म गर्ने कर्ता र भोग गर्ने भोक्ता म नै हुँ भन्ने ठानेका छौ । यस्तो अहंकाररुपी सर्पको विष निकाल्नको निम्ति ‘म कर्ता होइन’ यस्तो निश्चय गरी विश्वासरुपी अमृत पान गरेर सुखी होऊ ।
श्लोक ९
एको विशुद्धबोधोऽहमिति निश्चयवह्निना ।
प्रज्वाल्याज्ञानगहनं वीतशोकः सुखी भव ॥ १-९॥
म एक विशुद्ध ज्ञान हुँ, यस्तो निश्चयरुपी अग्निले अज्ञानरुपी वनलाई खरानी बनाएर शोकरहित भई सुखी होऊ ।
श्लोक १०
यत्र विश्वमिदं भाति कल्पितं रज्जुसर्पवत् ।
आनन्दपरमानन्दः स बोधस्त्वं सुखं भव ॥ १-१०॥
जसरी भ्रमले गर्दा डोरीलाई सर्प मानिन्छ, त्यस्तै अज्ञानले गर्दा आत्मालाई जगतझैँ मानिन्छ र जन्ममृत्युको डर भईरहन्छ । वास्तवमा तिमी बौध हौ, आनन्दको निम्ति स्वयंलाई विशुद्ध बोध मानी सुखमय विचरण गर ।
श्लोक ११
मुक्ताभिमानी मुक्तो हि बद्धो बद्धाभिमान्यपि ।
किंवदन्तीह सत्येयं या मतिः सा गतिर्भवेत् ॥ १-११॥
बन्ध र मोक्ष भन्ने कुरा मनका धर्म हुन् र ती अभिमानबाटै उत्पन्न हुन्छन् । यो कहानी सत्य हो – जस्तो मति हुन्छ, त्यस्तै नै गति हुन्छ ।
श्लोक १२
आत्मा साक्षी विभुः पूर्ण एको मुक्तश्चिदक्रियः ।
असङ्गो निःस्पृहः शान्तो भ्रमात्संसारवानिव ॥ १-१२॥
आत्मा साक्षी, सर्वव्यापी, पूर्ण, मुक्त, चेतन, असङ्ग, इच्छारहित एवम् शान्त छ । भ्रमको कारणले नै यो सांसारिक प्रतीत हुन्छ । त्यस्तै आत्मा सजातीय, विजातीय र स्वागतभेदबाट पनि रहित छ र अक्रिय छ ।
श्लोक १३
कूटस्थं बोधमद्वैतमात्मानं परिभावय ।
आभासोऽहं भ्रमं मुक्त्वा भावं बाह्यमथान्तरम् ॥ १-१३॥
हे जनक ! जुन अहं र भ्रमरुपी मम भावना तिमीमा छ, सर्वप्रथम त्यसको त्याग गर । अनि अपरिवर्तनीय चेतन र अद्वैत आत्मालाई चिन्तन गरी बाह्य विश्वलाई आफूभित्र नै भावना गर ।
श्लोक १४
देहाभिमानपाशेन चिरं बद्धोऽसि पुत्रक ।
बोधोऽहं ज्ञानखड्गेन तन्निकृत्य सुखी भव ॥ १-१४॥
हे शिष्य ! अनादिकालदेखि ‘म शरीर हुँ’ यस भाव बन्धनले बाँधिएका छौ । त्यसकारण अब तिमीले ‘म बोधरुप, अखण्ड, परिपूर्ण आत्मा हुँ’ यस्तो निश्चय गरेर ज्ञानरुपी तरबारले पासोरुपी बन्धनलाई काटेर सुखी होऊ ।
श्लोक १५
निःसङ्गो निष्क्रियोऽसि त्वं स्वप्रकाशो निरञ्जनः ।
अयमेव हि ते बन्धः समाधिमनुतिष्ठति ॥ १-१५॥
तिमी निःसङ्ग, अक्रिय, स्वयं प्रकाशवान तथा सर्वथा दोषमुक्त छौ । यस्तो निःसङ्ग, अक्रिय आत्मालाई प्राप्त गर्नको लागि जसले समाधि अनुष्ठान गर्छ, त्यसलाई नै बन्धन भनिन्छ ।
श्लोक १६
त्वया व्याप्तमिदं विश्वं त्वयि प्रोतं यथार्थतः ।
शुद्धबुद्धस्वरूपस्त्वं मा गमः क्षुद्रचित्तताम् ॥ १-१६॥
वास्तवमा तिमी नै शुद्ध चैतन्यस्वरुप हौ, यो संसार तिमीद्वारा नै व्याप्त छ । जगतको आफ्नो सत्ता केही पनि छैन । तिम्रो सङ्कल्प निवृत्त भएमा जगत पनि निवृत्त हुन्छ । त्यसैले सानो चित्त नबनाई शुद्धस्वरुपमा स्थित होऊ ।
श्लोक १७
निरपेक्षो निर्विकारो निर्भरः शीतलाशयः ।
अगाधबुद्धिरक्षुब्धो भव चिन्मात्रवासनः ॥ १-१७॥
तिमी मन, प्राण र देहका धर्मबाट अलग, विकारहरुबाट अलग, अगाध बुद्धि भएका शीतलताको धामरुप छौ । त्यसैले शान्त भएर केवल शुद्ध चैतन्यको इन्छा गर ।
श्लोक १८
साकारमनृतं विद्धि निराकारं तु निश्चलम् ।
एतत्तत्त्वोपदेशेन न पुनर्भवसम्भवः ॥ १-१८॥
हे शिष्य ! यो सम्पूर्ण जगत आत्मामा अध्यस्त हुँदा सत्यझैँ भान भएको छ तर वास्तवमा मिथ्या छ । यस सत्यलाई जानेपछि पुनः जन्म लिन असम्भव छ ।
श्लोक १९
यथैवादर्शमध्यस्थे रूपेऽन्तः परितस्तु सः ।
तथैवाऽस्मिन् शरीरेऽन्तः परितः परमेश्वरः ॥ १-१९॥
जसरी दर्पणमा प्रतिबिम्बित रुप त्यसको भित्र पनि छ र बाहिर पनि छ, त्यसैप्रकार परमात्मा यस शरीरको भित्र पनि निवास गर्दछ र बाहिर पनि निवास गर्दछ ।
श्लोक २०
एकं सर्वगतं व्योम बहिरन्तर्यथा घटे ।
नित्यं निरन्तरं ब्रह्म सर्वभूतगणे तथा ॥ १-२०॥
जसरी आकाश घटादि, मठादि सम्पूर्ण वस्तुहरुमा व्याप्त छ, त्यसै गरी अखण्ड, अविनाशी ब्रह्म पनि सम्पूर्ण प्राणीमात्रमा विद्यमान छ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०