अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच ॥
आचक्ष्व शृणु वा तात नानाशास्त्राण्यनेकशः ।
तथापि न तव स्वास्थ्यं सर्वविस्मरणाद् ऋते ॥ १६-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘हे प्रिय ! चाहे तिमी नाना प्रकारका शास्त्रहरु पढ वा विद्वानका मुखबाट सुन, तर जबसम्म सम्पूर्ण विषयवस्तुका वासनालाई तथा सम्पूर्ण वस्तुभेदलाई त्याग्न सक्दैनौ, तबसम्म मुक्ति प्राप्त हुन सक्दैन ।’
श्लोक २
भोगं कर्म समाधिं वा कुरु विज्ञ तथापि ते ।
चित्तं निरस्तसर्वाशमत्यर्थं रोचयिष्यति ॥ १६-२॥
कर्म भोग गर वा समाधि लगाऊ किनकी तिमीलाई आत्मज्ञान प्राप्त भइसकेको छ, त्यसैले चित्तका सबै आशालाई शान्त गर्नु नै अत्यन्त आनन्दप्रद हुन्छ ।
श्लोक ३
आयासात्सकलो दुःखी नैनं जानाति कश्चन ।
अनेनैवोपदेशेन धन्यः प्राप्नोति निर्वृतिम् ॥ १६-३॥
शरीरको पालनपोषण गर्ने परिश्रमबाट नै सबै दुःखी छन् तर यस कुराको ज्ञान कसैलाई छैन । यस निष्पाप उपदेशबाट नै भाग्यवान व्यक्ति सबै वृत्तिहरुबाट रहित हुन्छन् ।
श्लोक ४
व्यापारे खिद्यते यस्तु निमेषोन्मेषयोरपि ।
तस्यालस्य धुरीणस्य सुखं नन्यस्य कस्यचित् ॥ १६-४॥
जो पुरुष आँखाका परेला खोल्दा र चिम्लिँदा पनि क्रिया देख्छन् अथवा संसारको व्यर्थता देख्छन्, यस्तो महाअल्छी र निष्क्रिय पुरुषको निम्ति नै सुख हो र यस्तो महापुरुषले नै आनन्दमय जीवनयापन गर्दछ ।
श्लोक ५
इदं कृतमिदं नेति द्वन्द्वैर्मुक्तं यदा मनः ।
धर्मार्थकाममोक्षेषु निरपेक्षं तदा भवेत् ॥ १६-५॥
यो गर्नुपर्छ र त्यो गर्नुपर्दैन, जब मन यसप्रकारको द्वन्दबाट मुक्त हुन्छ, तब उसलाई धर्म, अर्थ, काम र मोक्षको अपेक्षा हुँदैन ।
श्लोक ६
विरक्तो विषयद्वेष्टा रागी विषयलोलुपः ।
ग्रहमोक्षविहीनस्तु न विरक्तो न रागवान् ॥ १६-६॥
विषयमा द्वेष गर्नेलाई विरक्त भनिन्छ, विषयमा आसक्तलाई रागी भनिन्छ तर विषयको ग्रहण र त्यागको इच्छाबाट पनि रहित जो परमविरक्त छ, उसलाई नै जीवनमुक्त भनिन्छ ।
श्लोक ७
हेयोपादेयता तावत्संसारविटपाङ्कुरः ।
स्पृहा जीवति यावद् वै निर्विचारदशास्पदम् ॥ १६-७॥
जबसम्म विषयको ग्रहण र त्यागको कामना रहन्छ, तबसम्म संसाररुपी वृक्षको अंकुर विद्यमान रहन्छ । त्यसैले विचारहीन अवस्थाको आश्रय लिऊ ।
श्लोक ८
प्रवृत्तौ जायते रागो निर्वृत्तौ द्वेष एव हि ।
निर्द्वन्द्वो बालवद् धीमान् एवमेव व्यवस्थितः ॥ १६-८॥
प्रवृत्तिबाट आसक्ति र निवृत्तिबाट द्वैष उत्पन्न हुन्छ । त्यसैले बुद्धिमान बालक समान निद्र्वन्द भएर स्वयंमा स्थित रहन्छन् ।
श्लोक ९
हातुमिच्छति संसारं रागी दुःखजिहासया ।
वीतरागो हि निर्दुःखस्तस्मिन्नपि न खिद्यति ॥ १६-९॥
विषयमा आसक्त पुरुष दुःखबाट बच्नको निम्ति संसारलाई त्याग गर्न चाहन्छ तर त्यो विरक्त नै सुखी हुन्छ जसलाई ती दुःखहरुमा पनि असर पर्दैन ।
श्लोक १०
यस्याभिमानो मोक्षेऽपि देहेऽपि ममता तथा ।
न च ज्ञानी न वा योगी केवलं दुःखभागसौ ॥ १६-१०॥
जो मोक्ष पनि चाहन्छन् र यो शरीरमा आसक्ति पनि राख्दछन्, तिनी न ज्ञानी हुन् न योगी हुन्, केवल दुःख प्राप्त मात्र गर्दछन् ।
श्लोक११
हरो यद्युपदेष्टा ते हरिः कमलजोऽपि वा ।
तथापि न तव स्वाथ्यं सर्वविस्मरणादृते ॥ १६-११॥
यदि तिमीलाई उपदेश गर्ने ब्रह्मा, विष्णु वा महेश्वर भएपनि सम्पूर्ण अनित्य वस्तुलाई त्याग नगरीकन तिम्रो चित्त शान्ति हुँदैन र तिमीले आत्मस्वरुप प्राप्त गर्न सक्दैनौ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११