अष्टावक्र गीता
«
श्लोक १
अष्टावक्र उवाच ॥
यस्य बोधोदये तावत्स्वप्नवद् भवति भ्रमः ।
तस्मै सुखैकरूपाय नमः शान्ताय तेजसे ॥ १८-१॥
अष्टावक्र भन्नुहुन्छ – ‘जुन बोधको उदय भइसकेपछि जाग्दा सपना समान भ्रम निवृत्त हुन्छ, त्यस एक, सुखरुप शान्त प्रकाशलाई म नमस्कार गर्दछु ।’
श्लोक २
अर्जयित्वाखिलान् अर्थान् भोगानाप्नोति पुष्कलान् ।
न हि सर्वपरित्यागमन्तरेण सुखी भवेत् ॥ १८-२॥
जगतका सम्पूर्ण पदार्थहरुलाई प्राप्त गरेर मानिस अनेक भोग गर्दछ तर ती सबैको आन्तरिक त्याग नगरीकन वास्तविक सुख प्राप्त हुन सक्दैन ।
श्लोक ३
कर्तव्यदुःखमार्तण्डज्वालादग्धान्तरात्मनः ।
कुतः प्रशमपीयूषधारासारमृते सुखम् ॥ १८-३॥
जसको मन ‘यो कर्तव्य हो’ र ‘यो कर्तव्य होइन’ भन्ने सूर्यको किरणरुपी तापाग्निबाट जलिरहेको छ, त्यसलाई कर्मत्यागरुपी शान्तिको अमृतधारा सेवन नगरीकन कसरी सुख प्राप्त हुन सक्दछ ?
श्लोक ४
भवोऽयं भावनामात्रो न किञ्चित् परमर्थतः ।
नास्त्यभावः स्वभावानां भावाभावविभाविनाम् ॥ १८-४॥
यो संसार केवल एउटा भावना मात्र हो, परमार्थ भावनासँग सम्बन्धित छैन । त्यसैले भाव र अभावको रुपमा स्वभावतः स्थित पदार्थको कहिल्यै पनि अभाव हुन सक्दैन ।
श्लोक ५
न दूरं न च सङ्कोचाल्लब्धमेवात्मनः पदम् ।
निर्विकल्पं निरायासं निर्विकारं निरञ्जनम् ॥ १८-५॥
आत्मा न त टाढा छ न नजिक । त्यो त सदा उपलब्ध नै छ, तिमी स्वयं नै त्यही हौ, यसमा न कुनै विकल्प छ, न प्रयत्न, न विकार र न मल नै ।
श्लोक ६
व्यामोहमात्रविरतौ स्वरूपादानमात्रतः ।
वीतशोका विराजन्ते निरावरणदृष्टयः ॥ १८-६॥
अज्ञानको निवृत्ति र स्वरुपको ज्ञान हुनबित्तिकै दृष्टिको आवरण भङ्ग हुन्छ र तत्वलाई जान्ने पुरुष दुःखरुपी पर्दालाई हटाएर स्वरुपको निश्चय गरी जगतमा शोभायमान हुन्छ ।
श्लोक ७
समस्तं कल्पनामात्रमात्मा मुक्तः सनातनः ।
इति विज्ञाय धीरो हि किमभ्यस्यति बालवत् ॥ १८-७॥
सबै कल्पना मात्र हो र आत्मा नित्य मुक्त छ । धीर पुरुष यी सबै तथ्यलाई जानेर फेरि बालकजस्तो किन फेरि सांसारिक अभ्यासमा लागिरहोस् ?
श्लोक ८
आत्मा ब्रह्मेति निश्चित्य भावाभावौ च कल्पितौ ।
निष्कामः किं विजानाति किं ब्रूते च करोति किम् ॥ १८-८॥
आत्मा नै ब्रह्म हो र भाव–अभाव सबै कल्पित हो । यस्तो निश्चय भएको निष्काम ज्ञानीलाई फेरि न केही जान्न रहन्छ न केही भन्न रहन्छ न त केही गर्न नै बाँकी रहन्छ ?
श्लोक ९
अयं सोऽहमयं नाहमिति क्षीणा विकल्पना ।
सर्वमात्मेति निश्चित्य तूष्णीम्भूतस्य योगिनः ॥ १८-९॥
जुन धीर पुरुषलाई यो सम्पूर्ण जगत ब्रह्मरुप प्रतीत हुन्छ, उसको अन्तष्करण वृत्तिरहित भएर ब्रह्ममा एकाकार हुन जान्छ । अज्ञान नाश भएर जीवनमुक्त भएको पुरुषलाई आफ्नो र अर्काको भन्ने भेदभाव केही रहन्न ।
श्लोक १०
न विक्षेपो न चैकाग्र्यं नातिबोधो न मूढता ।
न सुखं न च वा दुःखमुपशान्तस्य योगिनः ॥ १८-१०॥
आफ्नो स्वरुपमा स्थित भएर शान्त भएको तत्वज्ञानीको लागि न विक्षेप हुन्छ, न एकाग्रता, न ज्ञान हुन्छ, न अज्ञान, न सुख हुन्छ र न दुःख नै ।
श्लोक ११
स्वाराज्ये भैक्षवृत्तौ च लाभालाभे जने वने ।
निर्विकल्पस्वभावस्य न विशेषोऽस्ति योगिनः ॥ १८-११॥
जो योगी स्वभावबाट नै विकल्परहित छ, त्यसको लागि न राज्यमा हर्ष वा भिक्षावृत्तिमा खिन्नता नै हुन्छ । उसको लागि प्राप्त–अप्राप्त केही हुँदैन र भीड र सुनसान जङ्गलमा पनि केही भेद हुँदैन ।
श्लोक १२
क्व धर्मः क्व च वा कामः क्व चार्थः क्व विवेकिता ।
इदं कृतमिदं नेति द्वन्द्वैर्मुक्तस्य योगिनः ॥ १८-१२॥
यो काम मैले गरेँ, यो काम गरेको छैन, यस प्रकारको द्वन्द्वबाट पर भइसकेको योगिका निमित्त धर्म कहाँ, कर्म कहाँ, अर्थ कहाँ र विवेक कहाँ ?
श्लोक १३
कृत्यं किमपि नैवास्ति न कापि हृदि रञ्जना ।
यथा जीवनमेवेह जीवन्मुक्तस्य योगिनः ॥ १८-१३॥
जीवनमुक्त योगिको न त केही कर्तव्य हुन्छ र न त उसको हृदयमा कुनै अनुराग नै । यस्तो मुक्तपुरुषको जीवन केवल प्रारब्ध कर्मानुसार चल्दछ ।
श्लोक १४
क्व मोहः क्व च वा विश्वं क्व तद् ध्यानं क्व मुक्तता ।
सर्वसङ्कल्पसीमायां विश्रान्तस्य महात्मनः ॥ १८-१४॥
जो महात्माले सबै सङ्कल्पका सीमालाई विश्राम दिइसकेका हुन्छन्, तिनको लागि मोक्ष कहाँ, संसार कहाँ, ध्यान कहाँ र मुक्ति पनि कहाँ ?
श्लोक १५
येन विश्वमिदं दृष्टं स नास्तीति करोतु वै ।
निर्वासनः किं कुरुते पश्यन्नपि न पश्यति ॥ १८-१५॥
जसले जगतलाई देखेको छ, उसले जगतलाई छैन भनेर कसरी भनोस् । तर जो कामनारहित पुरुष छ, उसले जगत देखेर पनि देख्दैन ।
श्लोक १६
येन दृष्टं परं ब्रह्म सोऽहं ब्रह्मेति चिन्तयेत् ।
किं चिन्तयति निश्चिन्तो द्वितीयं यो न पश्यति ॥ १८-१६॥
जसले परब्रह्मलाई आफूबाट भिन्न देखेको हुन्छ, उसले ‘त्यो ब्रह्म म हुँ’ भनेर चिन्तन गर्दछ । तर जसले आफूबाट भिन्न केही देखेको हुँदैन, उसको लागि चिन्तन गर्ने कुनै वस्तु रहन्न ।
श्लोक १७
दृष्टो येनात्मविक्षेपो निरोधं कुरुते त्वसौ ।
उदारस्तु न विक्षिप्तः साध्याभावात्करोति किम् ॥ १८-१७॥
जसले आफ्नो स्वरुपमा केही विकार देखेको हुन्छ, उसले चित्तलाई निरोध गर्ने प्रयास गर्दछ । तर तत्वलाई जान्ने पुरुषका निमित्त कुनै विक्षेप हुँदैन, साध्य नभएपछि कुनै साधन किन गरोस् ?
श्लोक १८
धीरो लोकविपर्यस्तो वर्तमानोऽपि लोकवत् ।
न समाधिं न विक्षेपं न लोपं स्वस्य पश्यति ॥ १८-१८॥
तत्वज्ञ सांसारिक व्यक्तिभन्दा विपरीत नै हुन्छ । ऊ सामान्य मान्छेजस्तै व्यवहार गरेर पनि आफ्नो स्वरुपमा न समाधि देख्छ, न विक्षेप र न लय नै ।
श्लोक १९
भावाभावविहीनो यस्तृप्तो निर्वासनो बुधः ।
नैव किञ्चित्कृतं तेन लोकदृष्ट्या विकुर्वता ॥ १८-१९॥
तत्वज्ञ भाव र अभावबाट रहित, तृप्ति र कामनाबाट रहित हुन्छ । लोकदृष्टिमा अनेक प्रकारका लोकव्यवहारका कर्म गरे पनि ऊ अकर्ता नै रहन्छ किनभने ज्ञानीमा कर्तृत्वपना हुँदैन ।
श्लोक २०
प्रवृत्तौ वा निवृत्तौ वा नैव धीरस्य दुर्ग्रहः ।
यदा यत्कर्तुमायाति तत्कृत्वा तिष्ठतः सुखम् ॥ १८-२०॥
तत्वज्ञलाई प्रवृत्तिरुप कर्म वा निवृत्तिरुप कर्म कुनैमा हठभाव हुँदैन । जब जुन कर्म अगाडि आइपर्छ, त्यो कार्य गरेर आनन्दपूर्वक रहन्छ ।
श्लोक २१
निर्वासनो निरालम्बः स्वच्छन्दो मुक्तबन्धनः ।
क्षिप्तः संस्कारवातेन चेष्टते शुष्कपर्णवत् ॥ १८-२१॥
ज्ञानी वासनारहित, आलम्बरहित, सम्पूर्ण बन्धनहरुबाट सधैँ मुक्त हुन्छ । प्रारब्धरुपी वायुको प्रभावले उसको शरीर त्यही प्रकार गलिशील रहन्छ जुन प्रकार वायुको प्रभावले सुकेका पातहरु प्रभावित रहन्छन् ।
श्लोक २२
असंसारस्य तु क्वापि न हर्षो न विषादता ।
स शीतलमना नित्यं विदेह इव राजये ॥ १८-२२॥
जो संसारबाट मुक्त छ, उसमा हर्षशोकादि छ वटै उर्मि (हर्ष–शोक, दुःख–सुख, क्रोध–अभिमान)बाट अलग्ग हुन्छ । ऊ विदेहमुक्तझैँ सदा शान्त बनिरहन्छ ।
श्लोक २३
कुत्रापि न जिहासास्ति नाशो वापि न कुत्रचित् ।
आत्मारामस्य धीरस्य शीतलाच्छतरात्मनः ॥ १८-२३॥
जसको अन्तर्मन शीतल र स्वच्छ छ, जो आत्मामा नै रमण गर्दछ, त्यस धीर पुरुषलाई न त केही त्यागको इच्छा हुन्छ न कुनै प्राप्तिको ।
श्लोक २४
प्रकृत्या शून्यचित्तस्य कुर्वतोऽस्य यदृच्छया ।
प्राकृतस्येव धीरस्य न मानो नावमानता ॥ १८-२४॥
जुन धीर पुरुषको चित्त स्वभावैले निर्विषय हुन्छ, ऊ साधारण मनुष्यजस्तै प्रारब्धको अधीनमा अनेक कार्य गरेपनि उसलाई तिनमा न त कुनै मान हुन्छ, न त कुनै अभिमान ।
श्लोक २५
कृतं देहेन कर्मेदं न मया शुद्धरूपिणा ।
इति चिन्तानुरोधी यः कुर्वन्नपि करोति न ॥ १८-२५॥
सबै कर्मक्रियाहरु देहले गर्छ, मैले होइन, म त शुद्धस्वरुप हुँ । यस प्रकार निश्चय गरेको ज्ञानी पुरुष कर्मप्रति अभिमान नहुँदा कर्म गरेर पनि नगरेसमान हुन्छ ।
श्लोक २६
अतद्वादीव कुरुते न भवेदपि बालिशः ।
जीवन्मुक्तः सुखी श्रीमान् संसरन्नपि शोभते ॥ १८-२६॥
ज्ञानी पुरुष प्रारब्धअनुसार कर्म गर्दछ तर लोकव्यवहार गरेर पनि त्यसमा लिप्त हुँदैन । त्यसकारण सदा शान्त, सुखी र शोभायमान हुन्छ ।
श्लोक २७
नानाविचारसुश्रान्तो धीरो विश्रान्तिमागतः ।
न कल्पते न जाति न शृणोति न पश्यति ॥ १८-२७॥
जो धीर पुरुष अनेक विचारहरुबाट थाकेर आफ्नो स्वरुपमा विश्राम गरिसकेको हुन्छ, ऊ न कल्पना गर्छ, न जान्दछ, न सुन्दछ न देख्दछ नै ।
श्लोक २८
असमाधेरविक्षेपान् न मुमुक्षुर्न चेतरः ।
निश्चित्य कल्पितं पश्यन् ब्रह्मैवास्ते महाशयः ॥ १८-२८॥
यस्तो ज्ञानी समाधिमा आग्रह नभएका कारण मुमुक्षु हुँदैन र विक्षेप नभएका कारण विषयी पनि हुँदैन । म बाहेक जे पनि देखिएको छ, त्यो सबै कल्पित हो भन्ने निश्चय गरेर केवल वाधितानुवृत्तिद्वारा जगतलाई हेर्दछ ।
श्लोक २९
यस्यान्तः स्यादहङ्कारो न करोति करोति सः ।
निरहङ्कारधीरेण न किञ्चिदकृतं कृतम् ॥ १८-२९॥
जसको अन्तष्करणमा अहंकार विद्यमान छ, त्यो हेर्दा अकर्ता देखिए पनि मनले सङ्कल्पविकल्प गर्ने कारणले अकर्ता हुन सक्दैन । तर धीर पुरुषमा सङ्कल्पविकल्प आदि विकार स्फुरण नहुने भएकाले ऊ सम्पूर्ण कार्य गरेर पनि अकर्ता नै हुन्छ ।
श्लोक ३०
नोद्विग्नं न च सन्तुष्टमकर्तृ स्पन्दवर्जितम् ।
निराशं गतसन्देहं चित्तं मुक्तस्य राजते ॥ १८-३०॥
जीवन्मुक्त ज्ञानीका निमित्त न उद्वेग हुन्छ, न असन्तोष, सन्देह तथा आशा नै रहन्छ । ऊ सङ्कल्पविकल्परहित सदा प्रकाशरुप छ र उसमा कर्तापनको अभिमान पनि हुँदैन ।
श्लोक ३१
निर्ध्यातुं चेष्टितुं वापि यच्चित्तं न प्रवर्तते ।
निर्निमित्तमिदं किन्तु निर्ध्यायेति विचेष्टते ॥ १८-३१॥
ज्ञानीको चित्त सङ्कल्पविकल्पादि चेष्टातिर प्रवृत्त हुँदैन । निमित्त शून्य भएका कारण ध्यानबाट निवृत्त पनि हुन्छ र व्यवहार पनि गर्दछ ।
श्लोक ३२
तत्त्वं यथार्थमाकर्ण्य मन्दः प्राप्नोति मूढताम् ।
अथवा याति सङ्कोचममूढः कोऽपि मूढवत् ॥ १८-३२॥
अविवेकी पुरुष यथार्थ तत्वको वर्णन सुनेर अधिक मोहित हुन्छ र आफूलाई संकुचित महसुस गर्दछ । कहिलेकहिले त बुद्धिमान पनि अविवेकी समान नै व्यवहार गर्दछन् ।
श्लोक ३३
एकाग्रता निरोधो वा मूढैरभ्यस्यते भृशम् ।
धीराः कृत्यं न पश्यन्ति सुप्तवत्स्वपदे स्थिताः ॥ १८-३३॥
मूढ पुरुष बारम्बार चित्तको एकाग्रता र निरोधको अभ्यास गर्दछ तर धीर पुरुष सुषुप्त अवस्थामा रहेर कुनै पनि कार्य कर्तृत्व अभिमानबाट गर्दैनन् ।
श्लोक ३४
अप्रयत्नात् प्रयत्नाद् वा मूढो नाप्नोति निर्वृतिम् ।
तत्त्वनिश्चयमात्रेण प्राज्ञो भवति निर्वृतः ॥ १८-३४॥
मूढ पुरुष अनेक किसिमका अनुष्ठान गरोस् वा समाधि अभ्यास गरोस्, उसलाई परमसुखको अनुभुति हुन सक्दैन तर प्रज्ञावान पुरुष तत्वको निश्चयमात्रले शान्त प्राप्त गर्दछन् ।
श्लोक ३५
शुद्धं बुद्धं प्रियं पूर्णं निष्प्रपञ्चं निरामयम् ।
आत्मानं तं न जानन्ति तत्राभ्यासपरा जनाः ॥ १८-३५॥
देहाभिमानद्वारा आत्माको सम्बन्धमा अभ्यास गर्नमा जो पनि लागेको हुन्छ, उसले आफ्नो शुद्ध, बुद्ध, प्रिय, पूर्ण, निष्प्रपञ्च र निरामय ब्रह्मस्वरुपलाई जान्न सक्दैन ।
श्लोक ३६
नाप्नोति कर्मणा मोक्षं विमूढोऽभ्यासरूपिणा ।
धन्यो विज्ञानमात्रेण मुक्तस्तिष्ठत्यविक्रियः ॥ १८-३६॥
अज्ञानी मनुष्य कर्मरुपी अभ्यासबाट पनि मुक्ति पाउन सक्दैन तर ज्ञानी कर्मरहित भएर पनि केवल ज्ञानबाट मुक्ति प्राप्त गर्दछन् ।
श्लोक ३७
मूढो नाप्नोति तद् ब्रह्म यतो भवितुमिच्छति ।
अनिच्छन्नपि धीरो हि परब्रह्मस्वरूपभाक् ॥ १८-३७॥
अज्ञानीलाई ब्रह्म साक्षातर हुन सक्दैन किनकी ऊ ब्रह्म हुने चाहना गर्दछ, तर आत्मज्ञानी इच्छा नगर्दा पनि परब्रह्म बोधस्वरुपमा रहन्छ ।
श्लोक ३८
निराधारा ग्रहव्यग्रा मूढाः संसारपोषकाः ।
एतस्यानर्थमूलस्य मूलच्छेदः कृतो बुधैः ॥ १८-३८॥
अज्ञानी निराधार दुराग्रह गरेर संसारको पोषण गरिरहन्छन् तर ज्ञानी पुरुष जन्ममृत्युरुप अवस्थाको कारण जुन अज्ञान हो त्यसलाई समूल नष्ट गरी मुक्त बन्दछ ।
श्लोक ३९
न शान्तिं लभते मूढो यतः शमितुमिच्छति ।
धीरस्तत्त्वं विनिश्चित्य सर्वदा शान्तमानसः ॥ १८-३९॥
अज्ञानी शान्ति प्राप्त गर्न सक्दैन किनकी ऊ शान्त हुने इच्छाले ग्रस्त हुन्छ तर ज्ञानी तत्वको ज्ञानमा निश्चय गरी सदैव शान्त चित्तमा रहन्छन् ।
श्लोक ४०
क्वात्मनो दर्शनं तस्य यद् दृष्टमवलम्बते ।
धीरास्तं तं न पश्यन्ति पश्यन्त्यात्मानमव्ययम् ॥ १८-४०॥
अज्ञानीलाई आत्मसाक्षात्कार कसरी हुन सक्दछ जब ऊ दृश्य पदार्थो आश्रयलाई स्वीकार गर्दछ ? तर ज्ञानी पुरुष दृश्य वस्तुभित्र भएको कारणशक्ति, सर्वव्यापी, चिद्रुप आत्मालाई देखेर ऊ सदा आत्मामा रहन्छ ।
श्लोक ४१
क्व निरोधो विमूढस्य यो निर्बन्धं करोति वै ।
स्वारामस्यैव धीरस्य सर्वदासावकृत्रिमः ॥ १८-४१॥
जो सङ्कल्पविकल्प गर्दै चित्त निरोध गर्ने हठ गर्दछ, त्यस्ता अज्ञानीको चित्त कसरी निरोध हुन सक्छ ? आत्मामा रमण गर्ने धीर पुरुषको चित्त त सदैव स्वाभाविक रुपमा नै निरोध भएको हुन्छ ।
श्लोक ४२
भावस्य भावकः कश्चिन् न किञ्चिद् भावकोपरः ।
उभयाभावकः कश्चिद् एवमेव निराकुलः ॥ १८-४२॥
कोही पदार्थको सत्ताको भावना गर्छन् र कोही पदार्थको असत्ताको । ज्ञानी त भाव–अभाव दुवैको भावनालाई छोडेर निश्चित रहन्छ ।
श्लोक ४३
शुद्धमद्वयमात्मानं भावयन्ति कुबुद्धयः ।
न तु जानन्ति संमोहाद्यावज्जीवमनिर्वृताः ॥ १८-४३॥
बुद्धिहीन पुरुष अज्ञानवश आफ्नो शुद्ध अद्वितीय स्वरुपको ज्ञान त प्राप्त गर्दैनन् तर केवल भावना गर्छन्, तिनलाई जीवपर्यन्त शान्ति मिल्दैन ।
श्लोक ४४
मुमुक्षोर्बुद्धिरालम्बमन्तरेण न विद्यते ।
निरालम्बैव निष्कामा बुद्धिर्मुक्तस्य सर्वदा ॥ १८-४४॥
मुमुक्षु पुरुषको बुद्धि कुनै आश्रय ग्रहण नगरीकन बस्नै सक्दैन । मुक्त पुरुषको बुद्धि त सबै प्रकारले निष्काम र निराश्रय हुन्छ ।
श्लोक ४५
विषयद्वीपिनो वीक्ष्य चकिताः शरणार्थिनः ।
विशन्ति झटिति क्रोडं निरोधैकाग्रसिद्धये ॥ १८-४५॥
अज्ञानी मुमुक्षु जो विषयरुपी हात्तीबाट डराउँदै आफ्नो रक्षाका साथै चित्तनिरोध र एकाग्रताका निमित्त चित्तको गुफामा लुक्न जान्छन् ।
श्लोक ४६
निर्वासनं हरिं दृष्ट्वा तूष्णीं विषयदन्तिनः ।
पलायन्ते न शक्तास्ते सेवन्ते कृतचाटवः ॥ १८-४६॥
कामनारहित ज्ञानी सिंहजस्तै हुन् जसलाई देखेर विषयरुपी हात्तीजस्ता मूढ मनुष्य चुपचाप भाग्दछन् । ती वासनारहित पुरुषप्रति आकर्षित भएर इतर पुरुषहरु ईश्वरको वरदान मानेर सेवा गर्दछन् ।
श्लोक ४७
न मुक्तिकारिकां धत्ते निःशङ्को युक्तमानसः ।
पश्यन् शृण्वन् स्पृशन् जिघ्रन्नश्नन्नास्ते यथासुखम् ॥ १८-४७॥
संशयरहित ज्ञानी पुरुष मुक्तिको साधनाको अभ्यास पनि गर्दैनन्, ती त हेर्दै, सुन्दै, छुँदै, सुँघ्दै, भोग्दै पनि आनन्दमा मग्न रहन्छन् ।
श्लोक ४८
वस्तुश्रवणमात्रेण शुद्धबुद्धिर्निराकुलः ।
नैवाचारमनाचारमौदास्यं वा प्रपश्यति ॥ १८-४८॥
शुद्धबुद्धि पुरुष वस्तुतत्वलाई सुनेर मात्र नै पूर्ण आत्मसाक्षात्कार गर्न सक्छन्, फेरि आचारअनाचार र उदासीनता प्रति तिनको दृष्टि हुँदैन ।
श्लोक ४९
यदा यत्कर्तुमायाति तदा तत्कुरुते ऋजुः ।
शुभं वाप्यशुभं वापि तस्य चेष्टा हि बालवत् ॥ १८-४९॥
स्वभावमा स्थित ज्ञानी, शुभ होस् वा अशुभ होस्, जुन बेला जे काम आइपर्छ, त्यस कार्यलाई बालकको चेष्टाको समान सरलतापूर्वक गर्दछन् ।
श्लोक ५०
स्वातन्त्र्यात्सुखमाप्नोति स्वातन्त्र्याल्लभते परम् ।
स्वातन्त्र्यान्निर्वृतिं गच्छेत्स्वातन्त्र्यात् परमं पदम् ॥ १८-५०॥
रागद्वेषको अधीनताबाट स्वतन्त्र पुरुषलाई नै नित्य सुख, शान्ति, ज्ञान एवं परमपद मिल्न सक्दछ ।
श्लोक ५१
अकर्तृत्वमभोक्तृत्वं स्वात्मनो मन्यते यदा ।
तदा क्षीणा भवन्त्येव समस्ताश्चित्तवृत्तयः ॥ १८-५१॥
जब साधक आफूलाई अकर्ता र अभोक्ता भएको निश्चय गर्दछ, उसका चित्तका सबै वृत्तिहरु नष्ट भएर उसलाई तुरुन्त शान्ति मिल्दछ ।
श्लोक ५२
उच्छृङ्खलाप्यकृतिका स्थितिर्धीरस्य राजते ।
न तु सस्पृहचित्तस्य शान्तिर्मूढस्य कृत्रिमा ॥ १८-५२॥
धीर पुरुषको स्वाभाविक स्थिति विक्षोभयुक्त भएर पनि श्रेष्ठ हुन्छ तर जसको चित्तमा अनेक इच्छाहरु भरिएका हुन्छन्, त्यस अज्ञानी पुरुषमा बनावटी शान्तिले शोभा दिँदैन ।
श्लोक ५३
विलसन्ति महाभोगैर्विशन्ति गिरिगह्वरान् ।
निरस्तकल्पना धीरा अबद्धा मुक्तबुद्धयः ॥ १८-५३॥
धीर पुरुष प्रारब्धवश ठूलाठूला भोगमा आनन्द लिन्छ र प्रारब्धवश पहाड–पर्वत, वनजङ्गल, गुफाकन्दरा आदिमा घुम्दछ तर पनि ऊ कल्पना, बन्धन र बुद्धिको वृत्तिबाट मुक्त हुन्छ ।
श्लोक ५४
श्रोत्रियं देवतां तीर्थमङ्गनां भूपतिं प्रियम् ।
दृष्ट्वा सम्पूज्य धीरस्य न कापि हृदि वासना ॥ १८-५४॥
धीर पुरुष शास्त्रज्ञ, ब्राह्मण, देवता, तीर्थ, स्त्री, राजा र प्रियलाई देखेर तिनीहरुको स्वागत त गर्छन् तर उनको हृदयमा कुनै कामना हुँदैन ।
श्लोक ५५
भृत्यैः पुत्रैः कलत्रैश्च दौहित्रैश्चापि गोत्रजैः ।
विहस्य धिक्कृतो योगी न याति विकृतिं मनाक् ॥ १८-५५॥
सेवक, पुत्र, स्त्री, नाती र सगोत्रीद्वारा निन्दा गरियोस् वा स्तुति प्रशंसा गरियोस्, योगीको चित्तमा अलिकति पनि विकार उत्पन्न हुँदैन ।
श्लोक ५६
सन्तुष्टोऽपि न सन्तुष्टः खिन्नोऽपि न च खिद्यते ।
तस्याश्चर्यदशां तां तां तादृशा एव जानते ॥ १८-५६॥
लौकिक दृष्टिले प्रसन्न देखिँदैमा ऊ प्रसन्न हुँदैन र दुःखी देखिँदैमा ऊ दुःखी हुँदैन । उसको यस आश्चर्यमय दशालाई उसको समान ज्ञानी नै जान्न सक्दछन् ।
श्लोक ५७
कर्तव्यतैव संसारो न तां पश्यन्ति सूरयः ।
शून्याकारा निराकारा निर्विकारा निरामयाः ॥ १८-५७॥
कर्तव्यबुद्धिको नाम नै संसार हो, विद्वान त्यस कर्तव्यतालाई देख्दैनन् किनभने तिनको बुद्धि शून्याकार, निराकार, निर्विकार र निरामय हुन्छ ।
श्लोक ५८
अकुर्वन्नपि सङ्क्षोभाद् व्यग्रः सर्वत्र मूढधीः ।
कुर्वन्नपि तु कृत्यानि कुशलो हि निराकुलः ॥ १८-५८॥
अज्ञानी पुरुषहरु कर्म नगर्दापनि सङ्कल्प गरिरहने कारण सधैँ व्यग्र रहन्छन् । तर योगी समस्त कार्य गरेर पनि शान्त रहन्छन् ।
श्लोक ५९
सुखमास्ते सुखं शेते सुखमायाति याति च ।
सुखं वक्ति सुखं भुङ्क्ते व्यवहारेऽपि शान्तधीः ॥ १८-५९॥
आत्मनिष्ठ ब्रह्मज्ञानी प्रारब्धवश सम्पूर्ण इन्द्रियादिद्वारा सुखपूर्वक लोकव्यवहारहरु जस्तै उठ्नुबस्नु, खानपिन गर्नु, हिँड्डुल गर्नु, बोलचाल गर्नु आदि गर्छ तापनि व्यवहारी कुरामा आसक्ति नभएका कारण त्यस्ता ज्ञानीको चित्त हर्दम शान्ति रहन्छ ।
श्लोक ६०
स्वभावाद्यस्य नैवार्तिर्लोकवद् व्यवहारिणः ।
महाहृद इवाक्षोभ्यो गतक्लेशः सुशोभते ॥ १८-६०॥
जो ठूलो जलसरोवर समान शान्त छन् र लौकिक आचरण गर्दा पनि जसलाई अन्य मनुष्य समान दुःख हुँदैन, त्यस्तो दुःखरहित ज्ञानी शोभायमान हुन्छ ।
श्लोक ६१
निवृत्तिरपि मूढस्य प्रवृत्ति रुपजायते ।
प्रवृत्तिरपि धीरस्य निवृत्तिफलभागिनी ॥ १८-६१॥
अज्ञानी मूढमा निवृत्तिबाट पनि प्रवृत्ति उत्पन्न हुन्छ तर धीर पुरुषको प्रवृत्ति पनि निवृत्ति समान फलदायी हुन्छ ।
श्लोक ६२
परिग्रहेषु वैराग्यं प्रायो मूढस्य दृश्यते ।
देहे विगलिताशस्य क्व रागः क्व विरागता ॥ १८-६२॥
ज्ञानी पुरुष प्रायः गृह आदि पदार्थबाट वैराग्य भएको देखिन्छ तर जसको देह–अभिमान नष्ट भइसकेको हुन्छ, उसलाई कहाँ राग र कहाँ विराग ?
श्लोक ६३
भावनाभावनासक्ता दृष्टिर्मूढस्य सर्वदा ।
भाव्यभावनया सा तु स्वस्थस्यादृष्टिरूपिणी ॥ १८-६३॥
अज्ञानीको दृष्टि सदैव भाव र अभावमा लागिपरेको हुन्छ तर धीर पुरुष त दृश्यलाई देखेर पनि आत्मस्वरुपलाई देख्ने हुनाले अरु केही देख्दैनन् ।
श्लोक ६४
सर्वारम्भेषु निष्कामो यश्चरेद् बालवन् मुनिः ।
न लेपस्तस्य शुद्धस्य क्रियमाणेऽपि कर्मणि ॥ १८-६४॥
जो धीर पुरुष सबै कार्य गर्दा एउटा सानो बालक समान निष्काम भावबाट व्यवहार गर्दछ, ऊ शुद्ध हुन्छ र कर्म गर्दा पनि त्यसमा लिप्त भएको हुँदैन ।
श्लोक ६५
स एव धन्य आत्मज्ञः सर्वभावेषु यः समः ।
पश्यन् शृण्वन् स्पृशन् जिघ्रन्न् अश्नन्निस्तर्षमानसः ॥ १८-६५॥
त्यो आत्मज्ञानी धन्य छ जो सबै स्थितिमा समान रहन्छ । हेर्दा, सुन्दा, छुँदा, सुँघ्दा र खाँदा–पिउँदा पनि उसको मन कामनारहित हुन्छ ।
श्लोक ६६
क्व संसारः क्व चाभासः क्व साध्यं क्व च साधनम् ।
आकाशस्येव धीरस्य निर्विकल्पस्य सर्वदा ॥ १८-६६॥
धीर पुरुष सधैँ आकाश समान निर्विकल्प रहन्छ । उसको लागि न संसार छ, न स्वर्गादि साध्य छ, न त यज्ञादि साधन कुनै छ ।
श्लोक ६७
स जयत्यर्थसंन्यासी पूर्णस्वरसविग्रहः ।
अकृत्रिमोऽनवच्छिन्ने समाधिर्यस्य वर्तते ॥ १८-६७॥
जो संयासीलाई आफ्नो अखण्ड स्वरुपमा सदैव स्वभाविक रुपबाट समाधि लागेको हुन्छ, ऊ सदैव पूर्णानन्द स्वरुपमा हुन्छ र संसारमा पनि सर्वश्रेष्ठ मानिन्छ ।
श्लोक ६८
बहुनात्र किमुक्तेन ज्ञाततत्त्वो महाशयः ।
भोगमोक्षनिराकाङ्क्षी सदा सर्वत्र नीरसः ॥ १८-६८॥
धेरै भनेर पनि कुनै लाभ छैन । महात्मा पुरुष भोग र मोक्ष दुवैको इच्छा गर्दैनन् र सदा–सर्वदा रागरहित हुन्छन् ।
श्लोक ६९
महदादि जगद्द्वैतं नाममात्रविजृम्भितम् ।
विहाय शुद्धबोधस्य किं कृत्यमवशिष्यते ॥ १८-६९॥
महतत्वदृखि सम्पूर्ण द्वैतरुप दृश्य जगत नाम मात्रको विस्तार हो । शुद्ध बोधस्वरुप धीरले जब त्यसको पनि परित्याग गरेको छ भने उसको लागि के कर्तव्य बाँकी रहन्छ ?
श्लोक ७०
भ्रमभूतमिदं सर्वं किञ्चिन्नास्तीति निश्चयी ।
अलक्ष्यस्फुरणः शुद्धः स्वभावेनैव शाम्यति ॥ १८-७०॥
यो सम्पूर्ण दृश्य जगत भ्रममात्र हो । यो केही पनि होइन – यस्तो निश्चयले युक्त पुरुष दृश्यको स्फूर्तिबाट पनि रहित भई स्वभावैले शान्त हुन्छ ।
श्लोक ७१
शुद्धस्फुरणरूपस्य दृश्यभावमपश्यतः ।
क्व विधिः क्व च वैराग्यं क्व त्यागः क्व शमोऽपि वा ॥ १८-७१॥
जो शुद्ध स्फुरणरुप हुन्छ, जसलाई दृश्य सत्तावान महसुस हुँदैन, उसको लागि के विधि ? के वैराग्य ? के त्याग र के शान्ति ?
श्लोक ७२
स्फुरतोऽनन्तरूपेण प्रकृतिं च न पश्यतः ।
क्व बन्धः क्व च वा मोक्षः क्व हर्षः क्व विषादिता ॥ १८-७२॥
जो अनन्तरुपबाट स्वयं स्फुरित हुन्छन् र प्रकृतिको अलग सत्ता पनि देख्दैनन्, उसको लागि बन्धन कहाँ, मोक्ष कहाँ, हर्ष कहाँ र विषाद कहाँ ?
श्लोक ७३
बुद्धिपर्यन्तसंसारे मायामात्रं विवर्तते ।
निर्ममो निरहङ्कारो निष्कामः शोभते बुधः ॥ १८-७३॥
बुद्धिको अन्तिमसम्म मात्र संसार हो र यो केवल मायाको विस्तार हो, यस तत्वलाई जान्ने बुद्धिमान ममता, अहंकार र कामनारहित भएर शोभायमान हुन्छन् ।
श्लोक ७४
अक्षयं गतसन्तापमात्मानं पश्यतो मुनेः ।
क्व विद्या च क्व वा विश्वं क्व देहोऽहं ममेति वा ॥ १८-७४॥
जो मुनि सन्तापरहित आफ्नो अविनाशी स्वरुपलाई जानेको छ, उसको लागि विद्या कहाँ र विश्व कहाँ, देह कहाँ त्यस्तै अहंकार कहाँ ?
श्लोक ७५
निरोधादीनि कर्माणि जहाति जडधीर्यदि ।
मनोरथान् प्रलापांश्च कर्तुमाप्नोत्यतत्क्षणात् ॥ १८-७५॥
जड बुद्धि भएको मनुष्य निरोध आदि कर्मलाई छोड्न भनेपनि तत्काल ठूलो–ठूलो सङ्कल्प बनाउन थाल्छ र व्यवहारमा लिप्त हुँदैन ।
श्लोक ७६
मन्दः श्रुत्वापि तद्वस्तु न जहाति विमूढताम् ।
निर्विकल्पो बहिर्यत्नादन्तर्विषयलालसः ॥ १८-७६॥
अज्ञानी तत्वज्ञान सुनेर पनि आफ्नो मूढ बुद्धि त्याग गर्दैन । ऊ बाह्य रुपमा त निसंकल्प देखिन्छ तर अन्तर्मनमा विषयको इच्छा गरिरहेको हुन्छ ।
श्लोक ७७
ज्ञानाद् गलितकर्मा यो लोकदृष्ट्यापि कर्मकृत् ।
नाप्नोत्यवसरं कर्त्रुं वक्तुमेव न किञ्चन ॥ १८-७७॥
ज्ञानबाट जसको कर्मबन्धन नष्ट भइसकेको हुन्छ, ऊ लोकले देख्दा कर्म गरिरहेको भए पनि उसको लागि वास्तविक रुपमा कर्म गर्ने र भन्ने अवसर नै मिल्दैन ।
श्लोक ७८
क्व तमः क्व प्रकाशो वा हानं क्व च न किञ्चन ।
निर्विकारस्य धीरस्य निरातङ्कस्य सर्वदा ॥ १८-७८॥
जो धीर सदा निर्विकार र भयरहित हुन्छ, उसको लागि अन्धकार कहाँ, प्रकाश कहाँ र त्याग कहाँ ? उसको लागि केहीको पनि अस्तित्व हुँदैन ।
श्लोक ७९
क्व धैर्यं क्व विवेकित्वं क्व निरातङ्कतापि वा ।
अनिर्वाच्यस्वभावस्य निःस्वभावस्य योगिनः ॥ १८-७९॥
अनिर्वचनीय स्वभाव भएका ज्ञानीको मन कसैको ध्यानमा हुँदैन किनभने ज्ञानी स्वभावरहित हुन्छ । त्यसैले त्यस्तो स्वभावरहित योगीलाई धीरता कहाँ ? विवेक कहाँ ? निर्भयता कहाँ ?
श्लोक ८०
न स्वर्गो नैव नरको जीवन्मुक्तिर्न चैव हि ।
बहुनात्र किमुक्तेन योगदृष्ट्या न किञ्चन ॥ १८-८०॥
योगीको लागि न स्वर्ग छ, न नर्क छ न जीवनमुक्ति नै छ । यस सम्बन्धमा धेरै भनेर कुनै लाभ छैन किनभने योगको दृष्टिबाट हेर्दा केहीको पनि अस्तित्व छैन ।
श्लोक ८१
नैव प्रार्थयते लाभं नालाभेनानुशोचति ।
धीरस्य शीतलं चित्तममृतेनैव पूरितम् ॥ १८-८१॥
धीर पुरुषको चित्त यस्तो शीतल हुन्छ जस्तो ऊ अमृतले परिपूर्ण छ । ऊ न लाभको आशा गर्छ र न हानीमा शोक नै गर्छ ।
श्लोक ८२
न शान्तं स्तौति निष्कामो न दुष्टमपि निन्दति ।
समदुःखसुखस्तृप्तः किञ्चित् कृत्यं न पश्यति ॥ १८-८२॥
धीर पुरुष न संतको स्तुति गर्छ न दुष्टको निंदा नै । ऊ सुखदुःखमा समान, स्वयंमा तृप्त रहन्छ । ऊ आफ्नो लागी कुनै कर्तव्य देख्दैन ।
श्लोक ८३
धीरो न द्वेष्टि संसारमात्मानं न दिदृक्षति ।
हर्षामर्षविनिर्मुक्तो न मृतो न च जीवति ॥ १८-८३॥
धीर पुरुष न संसारसँग द्वेष गर्छ र न आत्मदर्शनको इच्छा गर्दछ । ऊ हर्ष र शोकबाट अलग हुन्छ । लौकिक दृष्टिबाट ऊ न मृत छ न जीवित ।
श्लोक ८४
निःस्नेहः पुत्रदारादौ निष्कामो विषयेषु च ।
निश्चिन्तः स्वशरीरेऽपि निराशः शोभते बुधः ॥ १८-८४॥
जो धीर पुरुष पुत्र–स्त्री आदिप्रति आसक्तिरहित हुन्छ, विषयको उपलब्धीमा उसको प्रवृत्ति हुँदैन । ऊ आफ्नो शरीरको प्रति पनि निश्चित रहन्छ, सबै आशाहरुबाट रहित हुन्छ, ऊ सबैबाट शोभायमान हुन्छ ।
श्लोक ८५
तुष्टिः सर्वत्र धीरस्य यथापतितवर्तिनः ।
स्वच्छन्दं चरतो देशान् यत्रस्तमितशायिनः ॥ १८-८५॥
जहाँ सूर्य अस्त हुन्छ, त्यहीँ शयन गर्दछ । जहाँ इच्छा हुन्छ, त्यहीँ बस्छ, जो अगाडि आउँछ, उसकै अनुरुप व्यवहार गर्दछ, यस्तो प्रकारले धीर सर्वत्र सन्तुष्ट रहन्छ ।
श्लोक ८६
पततूदेतु वा देहो नास्य चिन्ता महात्मनः ।
स्वभावभूमिविश्रान्तिविस्मृताशेषसंसृतेः ॥ १८-८६॥
जो आफ्नो आत्मस्वरुपमा विश्राम गरेर सबै प्रपञ्चलाई नष्ट गरिसकेका छन्, यस्तो महात्मालाई शरीर रहोस् अथवा नष्ट होस्, कुनै चिन्ता हुँदैन ।
श्लोक ८७
अकिञ्चनः कामचारो निर्द्वन्द्वश्छिन्नसंशयः ।
असक्तः सर्वभावेषु केवलो रमते बुधः ॥ १८-८७॥
ज्ञानी पुरुष संग्रहरहित, स्वच्छन्द, निद्र्वन्द र संशयरहित हुन्छ । उसलाई कुनै भावमा आसक्ति हुँदैन । स्वच्छन्द भएर सर्वभावमा रमण गर्दछ ।
श्लोक ८८
निर्ममः शोभते धीरः समलोष्टाश्मकाञ्चनः ।
सुभिन्नहृदयग्रन्थिर्विनिर्धूतरजस्तमः ॥ १८-८८॥
हे जनक ! ममतालाई जसले त्यागिसकेको छ, हृदयको ज्ञानरुपी ग्रन्थीलाई जसले फुकाइसकेको छ, जो रजोगुण तथा तमोगुणबाट मुक्त छ, जसका निमित्त सुन, ढुङ्गो, माटो सबै समान छन्, यस्तो जीवनमुक्त ज्ञानी पुरुष सदा शोभायमान रहन्छ ।
श्लोक ८९
सर्वत्रानवधानस्य न किञ्चिद् वासना हृदि ।
मुक्तात्मनो वितृप्तस्य तुलना केन जायते ॥ १८-८९॥
जो यस दृश्य प्रपञ्चलाई ध्यान दिँदैन, जसको आत्म तृप्त छ जसको हृदयमा अलिकति पनि कामना छैन, यस्तो मुक्तात्माको तुलना कसैसँग पनि गर्न सकिँदैन ।
श्लोक ९०
जानन्नपि न जानाति पश्यन्नपि न पश्यति ।
ब्रुवन्न् अपि न च ब्रूते कोऽन्यो निर्वासनादृते ॥ १८-९०॥
जीवन्मुक्त ज्ञानी पुरुष नै त्यस्तो विद्वान हुन्छ जो जानेर पनि जान्दैन, देखेर पनि देख्दैन र बोलेर पनि बोलेको हुँदैन । लोकदृष्टिमा उसले जान्दछ, देख्दछ र बोल्दछ पनि तर परमार्थ दृष्टिबाट भने न जान्दछ, न देख्दछ, न त बोल्दछ ।
श्लोक ९१
भिक्षुर्वा भूपतिर्वापि यो निष्कामः स शोभते ।
भावेषु गलिता यस्य शोभनाशोभना मतिः ॥ १८-९१॥
राजा होस् वा रंक, जो कामनारहित छ, ऊ नै शोभायमान हुन्छ । जसको दृश्य वस्तुमा शुभ र अशुभ बुद्धि समाप्त भइसकेको हुन्छ, उसले नै निष्काम कर्म गर्न सक्दछ ।
श्लोक ९२
क्व स्वाच्छन्द्यं क्व सङ्कोचः क्व वा तत्त्वविनिश्चयः ।
निर्व्याजार्जवभूतस्य चरितार्थस्य योगिनः ॥ १८-९२॥
योगी निष्कपट, सरल र चरित्रवान हुन्छ । उसको लागि स्वच्छंदता, संकोच र तत्व विचारमा कुनै भेद हुँदैन ।
श्लोक ९३
आत्मविश्रान्तितृप्तेन निराशेन गतार्तिना ।
अन्तर्यदनुभूयेत तत् कथं कस्य कथ्यते ॥ १८-९३॥
जो आफ्नो स्वरुपमा विश्राम गरेर तृप्त छ, आशारहित छ, दुःखरहित छ, ऊ आफ्नो अन्तष्करणमा जुन आनन्द अनुभव गर्दछ, त्यो कसरी कसैलाई भन्न संभव छ ?
श्लोक ९४
सुप्तोऽपि न सुषुप्तौ च स्वप्नेऽपि शयितो न च ।
जागरेऽपि न जागर्ति धीरस्तृप्तः पदे पदे ॥ १८-९४॥
आत्मज्ञानी जाग्रत अवस्थामा जागेको हुँदैन, स्वप्न अवस्थामा सुतेको हुँदैन र सुषुपितका पनि मस्त निद्रित हुँदैन । तर ती तीनै अवस्था भएका बुद्धि साक्षी भएर अलग्गै बस्दछ र स्वानन्दमा मग्न हुन्छ ।
श्लोक ९५
ज्ञः सचिन्तोऽपि निश्चिन्तः सेन्द्रियोऽपि निरिन्द्रियः ।
सुबुद्धिरपि निर्बुद्धिः साहङ्कारोऽनहङ्कृतिः ॥ १८-९५॥
धीर पुरुष लोकका दृष्टिमा चिन्तित रहेको, इन्द्रियहरुका वशमा परेको, अहङ्कारयुक्त तथा चतुरो देखिन्छ तर वास्तवमा ज्ञानी पुरुष बुद्धि, अहङ्कार एवं इन्द्रियादिक कर्मविकारबाट मुक्त हुन्छ ।
श्लोक ९६
न सुखी न च वा दुःखी न विरक्तो न सङ्गवान् ।
न मुमुक्षुर्न वा मुक्ता न किञ्चिन्न्न च किञ्चन ॥ १८-९६॥
धीर पुरुष न सुखी हुन्छ न दुःखी, न विरक्त हुन्छ न अनुरक्त । ऊ न मुमुक्षु हो न मुक्त नै । ऊ केही पनि होइन, केही पनि होइन ।
श्लोक ९७
विक्षेपेऽपि न विक्षिप्तः समाधौ न समाधिमान् ।
जाड्येऽपि न जडो धन्यः पाण्डित्येऽपि न पण्डितः ॥ १८-९७॥
धीर पुरुष विक्षेपमा विक्षिप्त हुँदैन समाधिमा समाधिस्त हुँदैन, लौकिक जडतमा जड हुँदैन र पाण्डित्यमा पण्डित हुँदैन ।
श्लोक ९८
मुक्तो यथास्थितिस्वस्थः कृतकर्तव्यनिर्वृतः ।
समः सर्वत्र वैतृष्ण्यान्न स्मरत्यकृतं कृतम् ॥ १८-९८॥
धीर पुरुष सबै अवस्थामा आफ्नो स्वरुपमा स्थित रहन्छ । कर्तव्यरहित भएर शान्त रहन्छ, सदा समान रहन्छ । तृष्णारहित भएको कारण ऊ गरेको र गर्नुपर्ने कार्यको स्मरण गर्दैन ।
श्लोक ९९
न प्रीयते वन्द्यमानो निन्द्यमानो न कुप्यति ।
नैवोद्विजति मरणे जीवने नाभिनन्दति ॥ १८-९९॥
ज्ञानी कसैले वन्दना गर्दा प्रसन्न हुँदैन, निंदा गर्दा क्रोधित हुँदैन, मृत्युसँग उद्वेग गर्दैन र जीवनलाई अभिनन्दन पनि गर्दैन ।
श्लोक १००
न धावति जनाकीर्णं नारण्यमुपशान्तधीः ।
यथातथा यत्रतत्र सम एवावतिष्ठते ॥ १८-१००॥
शान्त बुद्धि भएको धीर न त जनसमूहको तर्फ दौडिन्छ, न निर्जन वनजङ्गल नै जान चाहन्छ । ऊ जुन स्थितिमा हुन्छ, त्यहीँ नै समचित्त सहित निवास गर्दछ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८
६९
७०
७१
७२
७३
७४
७५
७६
७७
७८
७९
८०
८१
८२
८३
८४
८५
८६
८७
८८
८९
९०
९१
९२
९३
९४
९५
९६
९७
९८
९९
१००