आत्मबोध–तत्वबोध
«
चार साधन
चार साधन भनेका के हुन् ?
१) नित्यानित्य वस्तु विवेक : यो वस्तु नित्य छ, यो वस्तु अनित्य छ भन्ने विचार । २) यस लोक र परलोकको फल भोगमा विरक्त हुनु, ३) षड्सम्पत्ति, ४) मोक्ष हुनलाई ईच्छा हुनु ।
नित्यानित्य वस्तु विवेक
नित्यानित्य वस्तु विवेक भनेको के हो ?
कहिल्यै नाश नहुने एक ब्रह्मरुप अर्थात् आत्मरुप वस्तु नित्य हो । यसदेखि भिन्न सम्पूर्ण नाशवान् वस्तु अनित्य हुन् भनेर सधैँ विचार गरिरहनु ।
भोगमा विरक्त
यस लोक र परलोकको फल भोगमा विरक्त हुनु भनेको के हो ?
यस लोकका सम्पूर्ण भोग्य पदार्थमा ईच्छा नराख्नु, मरेपछि स्वर्ग वैकुण्ठ आदि लोकमा सुख भोग गर्न पाईन्छ भन्ने ईच्छा नराख्नुलाई नै यस लोक र परलोकको फल भोगमा विरक्त हुनु भनेको हो ।
षड्सम्पत्ति
षड्सम्पत्ति के के हुन् ?
१) शम २) दम ३) उपरति ४) तितिक्षा ५) श्रद्धा ६) समाधान ।
शम
शम भनेको के हो ?
भित्रि ईन्द्रिय रोक्नु अर्थात् मन, चित्त, बुद्धि र अहङ्कारलाई बाहिर जान नदिनुलाई नै शम भनिन्छ ।
दम
दम भनेको के हो ?
बाहिरका ईन्द्रिय अर्थात ज्ञानेन्द्रिय र कर्मेन्द्रियलाई आफ्नो वशमा राख्नुलाई नै दम भनिन्छ । अन्तःकरणले जानेका कुरा ज्ञानेन्द्रिय र कर्मेन्द्रियले जानेर बाहिर काम गर्ने हुनाले बाह्य ईन्द्रिय भनिएको हो ।
उपरति
उपरति भनेको के हो ?
संसारलाई दुःखको सागर जानेर त्यसबाट निवृत्ति हुनु अर्थात् त्यसबाट विरक्त भएर आत्मविचारमा लाग्नुलाई नै उपरति भनिन्छ ।
तितिक्षा
तितिक्षा भनेको के हो ?
जाडो–गर्मी, सुख–दुःख आदि सहन सक्नु, लाभ–हानी, मान–अपमान, धनी–गरिब, जय–पराजय आदि सम्पूर्णमा समान व्यवहार गर्नुलाई नै तितिक्षा भनिन्छ ।
श्रद्धा
श्रद्धा भनेको के हो ?
गुरु र शास्त्रको वचनमा विश्वास गर्नु अर्थात जुन गुरुले वेदान्तको यथार्थ निर्णय गरेर उपदेश गर्दछन्, त्यस्ता गुरुको वचनमा विश्वास गर्नुलाई नै श्रद्धा भनेर बुझिन्छ ।
समाधान
समाधान भनेको के हो ?
चित्तलाई एकाग्र गराउनु अर्थात् गुरुले निर्णय गरी बताईएका वाक्यलाई निरन्तर एकान्तमा बसेर विचार गर्नुलाई नै समाधान भनेर बुझिन्छ ।
मुमुक्षुत्व
मुमुक्षुत्व भनेको के हो ?
मेरो मोक्ष होस् भनी बलियो ईच्छा गर्नुलाई नै मुमुक्षुत्व भनेर बुझिन्छ । चार साधन जुन मानिसमा हुन्छन्, त्यही मानिस नै तत्वविवेकको अधिकारी हुन्छन् । यस्तो साधनयुक्त मानिसले ‘म को हुँ, कहाँ छु ?’ भनेर आफ्नो शरीरमा आफूलाई खोजी परमात्माको विचार गर्न शुरु गर्दछ ।
तत्वविवेक
तत्वविवेक भनेको के हो ?
आत्मा सत्य छ अर्थात् म सत्य छु, आत्मादेखि बाहेक सबै वस्तु असत्य छन् अर्थात् मदेखि भिन्न सबै नाशवान् छन् भन्ने यस्तो ज्ञान हुनुलाई तत्वविवेक भन्दछन् ।
‘म’ भनेको को हुँ ?
आत्मा भनेको के हो ? अर्थात् ‘म’ भनेको को हुँ ?
स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीरदेखि भिन्न रहेका, पाँच कोशदेखि पर रहेको, जाग्रत, स्वप्न र सुषुप्ति यी तीन अवस्थालाई घटद्रष्टाले जस्तै जान्ने साक्षी, सत चित् र आनन्दस्वरुप भएको जो वस्तु छ, त्यही नै आत्मा हो अर्थात् म हुँ ।
स्थूल शरीर
स्थूल शरीर भनेको के हो ?
पञ्चीकृत पञ्चमहाभूतले बनाईएको सत्कर्मबाट उत्पन्न भएको अस्त: छ, जायते: जन्मन्छ, वर्धते: बढ्दछ, विपरिणमते: परिवर्तन हुन्छ, अपक्षीमयते: घट्दछ, विश्यति: नाश हुन्छ भन्ने यी ६ विकारले युक्त भएको जुन शरीर छ, त्यही स्थूल शरीर हो । सूक्ष्म शरीरभन्दा ठूलो भएको हुनाले स्थूल शरीर भनिएको हो । यो स्थूल शरीर भनेको हाड मासुले बनेको शरीर हो । यसलाई नाश हुने हुनाले शरीर भनिएको हो । स्थूल शरीरमा बात, पित्त र कफ तीन रोग रहन्छन् ।
सूक्ष्म शरीर
सूक्ष्म शरीर भनेको के हो ?
अपञ्चीकृत पाँच महाभूतबाट उत्पन्न भएको सत्कर्मबाट बनेको सुख दुःखादि साधन भोग्ने पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण र मन बुद्धि यी सत्र कलाले बनेको जुन शरीर छ, त्यही नै सूक्ष्म शरीर हो । यो सूक्ष्म शरीर स्थूल शरीरभित्र रहन्छ । पुण्य पापको भोग गर्ने, स्वर्गमा नरकमा जाने तथा स्वप्नमा देखिने यही सूक्ष्म शरीर नै हो । यो सूक्ष्म शरीर स्थूल शरीरको तुलनामा सानो भएकोले यसलाई सूक्ष्म शरीर भनिएको हो । यो सूक्ष्म शरीरमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यी रोग रहन्छन् । त्यसैले रिसाउने, खुशी हुने यही सूक्ष्म शरीर हो । दुःख पनि यही सूक्ष्म शरीरले नै पाउँछ । सुख पनि यसैले पाउँछ, मरे पछि स्वर्ग–नर्कमा सुख दुःखको भोग भोग्ने पनि यही नै हो ।
कारण शरीर
कारण शरीर भनेको के हो ?
अनिर्वाच्य अर्थात् यस्तो छ भनेर भन्नै नसकिने, अनादि अर्थात् आदि नै नभएको, अविद्यारुप स्थूल र सूक्ष्म शरीरको कारण भएको जसलाई सत्स्वरुप अज्ञान भन्दछन् र जसबाट विशेष ज्ञान हुँदैन, त्यसलाई कारण शरीर भन्दछन् । स्थूल शरीर र सूक्ष्म शरीरको कारण भएको अर्थात यी दुवै शरीर कारण शरीरबाटै बन्ने भएको हुनाले कारण शरीर भनिएको हो । कारण शरीरमा अज्ञान रहन्छ । अज्ञान ज्ञानद्वारा नाश भएपछि ब्रह्मस्वरुप हुन्छ अर्थात् मोक्ष हुन्छ । कारण शरीर भनेको माया हो । माया अनिर्वचनीय छ । सत् भनौँ भने ब्रह्मज्ञान हुनासाथ यो नाश हुन्छ । असत् भनौँ भने यसबाट नै सम्पूर्ण संसार भएको देखिन्छ । त्यसैले यसलाई सत् वा असत् भन्न नसकेर अनिर्वचनीय अर्थात् वचनले यस्तै छ भन्न नसकिने किसिमको भनिएको हो ।
ज्ञानेन्द्रिय
पाँच ज्ञानेन्द्रिय के के हुन् ?
१) कान २) छाला ३) आँखा ४) जिभ्रो ५) नाक ।
ज्ञानेन्द्रियका देवता
पाँच ज्ञानेन्द्रियका देवता के के हुन् ?
१) कानको देवता दिशा हुन् ः शब्द सुनेपछि त्यो शब्द कताबाट आयो भनेर दिशा हेरी पत्ता लगाइने भएकोले कानको देवतालाई दिशा भनिएको हो । २) छालाको देवता वायु हुन् ः हावा नभएको स्थानमा चिसो, ताताको ज्ञान हुँदैन । हावाद्वारा नै छालाले चिसो खस्रो आदि अवस्था जान्दछ । त्यसैले छालाको देवतालाई वायु भनिएको हो । ३) आँखाको देवता सूर्य हुन् ः सूर्यको सहायताले नै जगत् देखिने भएकोले आँखाको देवतालाई सूर्य भनिएको हो । ४) जलको देवता वरुण हुन् ः जलका स्वामी वरुण जिभ्रोका देवता हुनाले जिभ्रोमा पानी रहिरहन्छ । त्यसकारण जिभ्रोका देवतालाई वरुण भनिएको हो । ५) नाकको देवता अश्विनीकुमार हुन् ः सूर्यनारायणबाट घोडीमा जन्म लिएको हुँदा अश्विनीकुमार भनेको हो । घोडाले विशेष नाकद्वारा सुँघेर जान्ने हुनाले अश्विनीकुमारलाई नाकको देवता भनिएको हो ।
ज्ञानेन्द्रियका काम
पाँच ज्ञानेन्द्रियका काम के के हुन् ?
१) कानको काम शब्द ग्रहण गर्नु अर्थात् सुन्नु हो । २) छालाको काम स्पर्श ग्रहण गर्नु अर्थात् चिसो, तातो, साह्रो, कोमल इत्यादि जान्नु हो । ३) आँखाको काम रुपको ग्रहण गर्नु अर्थात् सेतो, कालो, ठूलो, सानो इत्यादि जान्नु वा देख्नु हो । ४) जिभ्रोको काम रस ग्रहण गर्नु अर्थात् गुलियो, अमिलो, पिरो इत्यादि रस जान्नु हो । ५) नाकको काम गन्ध ग्रहण गर्नु अर्थात सुगन्ध, दुर्गन्ध इत्यादि जान्नु हो ।
ज्ञानेन्द्रिय र पञ्चमहाभूत
पाँच ज्ञानेन्द्रिय र पञ्चमहाभूतको सम्बन्ध:
१) कान: कानले शब्द सुन्दछ । आकाशको गुण शब्द हो । २) छाला: छालाले चिसो, तातो, खस्रो, बाक्लो जान्दछ । वायुको गुण स्वर्श हो । ३) आँखा: आँखाले सेतो, कालो आदि रुप जान्दछ । तेजको गुण रुप हो । ४) जिभ्रो: जिभ्रोले गुलियो, अमिलो आदि रस जान्दछ । जलको गुण रस हो । ५) नाक: नाकले सुगन्ध, दुर्गन्ध आदि जान्दछ । पृथ्वीको गुण गन्ध हो ।
कर्मेन्द्रिय
पाँच कर्मेन्द्रिय के के हुन् ?
१) वचन २) हात ३) गोडा ४) मलद्वार ५) लिङ्ग ।
कमेन्द्रियका देवता
पाँच कमेन्द्रियका देवता के के हुन् ?
१) वचनका देवता अग्नि हुन् : अग्निले जसरी अँध्यारोमा रहेको वस्तु प्रकाश गर्दछ, वचनले पनि त्यस्तै अँध्यारोमा रहेको वस्तु देखाउँछ । २) हातको देवता ईन्द्र हुन् : ईन्द्रले जसरी स्वर्ग, मत्र्य, पाताल तीनै लोकको रक्षा गर्दछन्, हाले पनि त्यसरी शिरदेखि पाउसम्म सम्पूर्ण शरीरमा रक्षा गर्दछ । ३) गोडाको देवता विष्णु हुन् : विष्णुले जसरी ब्रह्माण्ड धारण गरेका छन्, पाउले पनि त्यसै गरी देहरुपी ब्रह्माण्ड धारण गरेको छ । यसैकारण पाउ ढोगेदेखि सम्पूर्ण ब्रह्माण्ड धारण गर्ने विष्णुलाई ढोगेजस्तै हुने हुनाले पाउमा ढोग्ने चलन चलेको हो । ४) मलद्वारको देवता यमराज हुन् : यमराजले जसरी प्राणीलाई मार्दछन्, मलेन्द्रिय बिग्रियो भने पनि त्यसै गरी त्यसले प्राणीलाई मार्दछ । यसकारण, कविराज तथा डाक्टरले दिसा कस्तो छ भनेर सबैभन्दा पहिला सोध्ने गरेका हुन् । ५) लिङ्गको देवता ब्रह्मा हुन् : ब्रह्माले जसरी सृष्टि गर्दछन्, लिङ्गद्वारा पनि सृष्टि हुने भएकोले लिङ्गको देवता ब्रह्मा भनिएको हो ।
कमेन्द्रियका काम
पाँच कमेन्द्रियका काम के के हुन् ?
१) वचनको काम बोल्नु हो । २) हातको काम कुनै वस्तु लिनु दिनु हो । ३) गोडाको काम हिँड्नु हो । ४) मलद्वारको काम विषय मल त्याग गर्नु हो । ५) लिङ्गको काम आनन्द लिनु हो ।
तीन अवस्था
तीन अवस्था कुन कुन हुन् ?
१) जाग्रत २) स्वप्न ३) सुषुप्ति ।
जाग्रत
जाग्रत अवस्था भनेको के हो ?
जुन अवस्थामा कान, छाला, आँखा, जिभ्रो र नाकमा रहेका इन्द्रियले शब्द, स्पर्श, रुप, रस र गन्धको ज्ञान जान्दछ, त्यही अवस्थाको नाम जाग्रत अवस्था हो । पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, मन, बुद्धि, चित्त र अहंकार गरी जम्मा चौध ईन्द्रियहरु छन् र यिनीहरुको जम्मा बयालिस त्रिपुटी हुन्छन् । तिनैले जानिने अवस्था जाग्रत अवस्था हो र जाग्रत अवस्थामा आत्माको वास आँखामा रहन्छ ।
स्वप्न
स्वप्न अवस्था भनेको के हो ?
जाग्रत अवस्थामा जे देखिएको छ, सुनिएको छ, त्यसबाट भएको वासनाले निन्द्रा समयमा जे देखिन्छ, जे सुनिन्छ, त्यही नै स्वप्न अवस्था हो । स्वप्न अवस्थामा आत्माको वास घाँटीमा रहन्छ । सूक्ष्म शरीरको अभिमान गर्ने तैजसस्वरुप आत्माले स्वर्गीय सुख तथा नारकीय दुःख पाएँ भनेर जान्दछ ।
सुषुप्ति
सुषुप्ति अवस्था भनेको के हो ?
भुसुक्क निदाएको अवस्था अर्थात् म केही पनि जान्दिन, आनन्दसँग सुतेँ र मैले केही चाल पाउन सकिन भन्ने अवस्थाको नाम सुषुप्ति हो । सुषुप्ति अवस्थामा आत्माको वास छातीमा रहन्छ । यस अवस्थामा पनि आफ्नो शरीरको अभाव जान्ने हुँदा यसलाई प्राज्ञ भनिन्छ । प्राज्ञले ‘म कारण शरीर हुँ’ भनी अहङ्कार गर्दछ ।
पाँच कोश
पाँच कोश भनेका कुन कुन हुन् ?
१) अन्नमय कोश २) प्राणमय कोश ३) मनोमय कोश ४) विज्ञानमय कोश ५) आनन्दमय कोश ।
अन्नमय कोश
अन्नमय कोश भनेको के हो ?
अन्नको रसबाट उत्पन्न भएर अन्नकै रसले बढेर जो अन्न उत्पत्ति गर्ने पृथ्वीमा मिल्दछ अर्थात् लीन हुन्छ, त्यसैलाई अन्नमय कोश भन्दछन् । वास्तवमा अन्नमय कोश भनेको स्थूल शरीर नै हो । स्थूल शरीरमा प्रशस्त अन्नको भाग हुने भएकोले यसलाई अन्नमय कोश भनिएको हो ।
प्राणमय कोश
प्राणमय कोश भनेको के हो ?
प्राण, अपान, समान, व्यान, उदान यी पाँच वायु, अनि वाणी, हात, गोडा, लिङ्ग, मलद्वार यी पाँच कर्मेन्द्रिय मिलेर भएकोलाई प्राणमय कोश भन्दछन् । अर्को शब्दमा यसलाई क्रिया शक्ति पनि भनिन्छ । प्राणमय कोशको तागत पाएर आत्मा सबै काम गर्न सक्दछु भन्दछ ।
मनोमय कोश
मनोमय कोश भनेको के हो ?
मन र ज्ञानेन्द्रिय (कान, छाला, आँखा, जिभ्रो र नाक) मिलेर भएकोलाई मनोमय कोश भन्दछन् । यसलाई ईच्छा शक्ति पनि भन्दछन् । मनोमय कोशद्वारा नै आत्मामा ईच्छा शक्ति उत्पन्न हुन्छ, अनि आत्माले मनद्वारा संकल्प विकल्प गर्दछ । संकल्प भनेको ईच्छा हो, विकल्प भनेको संदेह हुनु हो । ईच्छा, कल्पना भएकोले नै यसलाई मनोमय कोश भनिएको हो ।
विज्ञानमय कोश
विज्ञानमय कोश भनेको के हो ?
बुद्धि र ज्ञानेन्द्रिय (कान, छाला, आँखा, जिभ्रो र नाक) मिलेर बन्नेलाई विज्ञानमय कोश भन्दछन् । यही विज्ञानमय कोशका सहायता पाई आत्माले सबै कुरा जानेँ भन्ने ठान्दछ अर्थात् विज्ञानमय कोशको सहायताले नै म सबै कुरा जान्दछु, यही विज्ञानमय कोश स्वरुप नै म जीव हुँ, कर्ता, भोक्ता पनि म नै हुँ भनेर जान्ने हुनाले यसलाई विज्ञानमय कोश भनिएको हो ।
आनन्दमय कोश
आनन्दमय कोश भनेको के हो ?
कारण शरीर रुप अविद्यामा रहने तमोगुण र रजोगुणले युक्त, प्रिय वस्तु देख्न पाउँदा खुशी मान्ने (प्रिय), देखेको वस्तु लिन पाउँदा खुशी मान्ने (मोद), लिएको वस्तु भोग गर्न पाउँदा खुशी मान्ने (प्रमोद), इत्यादि वृत्तिले सहित भएको जुन मलिन सत्व गुण छ, त्यही नै आनन्दमय कोश हो । यही आनन्दमय कोशको सहायताले गर्दा आत्माले विषयको केही ‘सुख पाएँ’ भन्ने ठान्दछ अर्थात् धन, पुत्र आदि विषयिक सुख पाउँदा ‘मैले सुख पाएँ’ भन्ने धारणा राख्दछ ।
भिन्न
पाँच कोशबाट आत्मा कसरी भिन्न छ ?
‘मेरो शरीर, मेरो प्राण, मेरो मन, मेरो बुद्धि, मेरो ज्ञान’ भन्ने सबैकुरा आफूद्वारा नै जानिन्छ । यसैले मेरो भनेर जानिएका वाला, माला, कुण्डल, घर आदि आफूदेखि भिन्न छन्, त्यस्तै मेरो भनेर मैले जानिसकेका पञ्चकोशादि पनि आत्मा होइनन् अर्थात् ‘म होइनन्’ किनभने अज्ञानले गर्दा भ्रमवश यिनै पञ्चकोश मध्येको अन्नमय कोशको साथ आत्माको सम्पर्क हुँदा मेरो शरीर भनिएको हो, त्यस्तै प्राणमय कोशको साथ सम्पर्क हुँदा मेरो प्राण, मनोमय कोशको साथ सम्पर्क हुँदा मेरो मन, विज्ञानमय कोशको साथ सम्पर्क हुँदा मेरो बुद्धि तथा आनन्दमय कोशको साथ सम्पर्क हुँदा प्रिय, मोद, प्रमोद आदि भनिएको हो । यही ज्ञानले गर्दा आत्मा र शरीर भिन्न भिन्न रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ । जसरी घडा देख्ने मानिस र घडा भिन्नभिन्नै छ, त्यसरी नै पञ्चकोश र पञ्चकोशको ज्ञाता आत्मा पनि भिन्नाभिन्नै छ अर्थात् पाँचकोश जान्ने ‘म’ पञ्चकोशदेखि छुट्टै छ । त्यसैले आत्मादेखि पञ्चकोश भिन्न छ । आत्मा केवल सच्चिदानन्दस्वरुप हो ।
सत्
सत् भनेको के हो ?
भूत (बितेको), भविष्यत् (आउने), वर्तमान (भईरहेको) यी तीनै कालमा जुन नित्य एक रसले रहिनै रहन्छ अर्थात् नाश हुँदैन, त्यही नै सत् हो ।
चित्
चित् भनेको के हो ?
चित् भनेको ज्ञानस्वरुप हो अर्थात् सम्पूर्ण पदार्थको स्वरुप जान्नुलाई चित् भनिन्छ ।
आनन्द
आनन्द भनेको के हो ?
आनन्द सुखस्वरुप हो अर्थात दुःखरुप प्रपञ्चबाट रहित शान्तस्वरुप जुन छ, त्यही नै आनन्द स्वरुप हो ।
म
म को हुँ ?
म शुद्ध अविनाशी सच्चिदानन्दस्वरुप आत्मा हुँ । अर्थात् स्थूल, सूक्ष्म, कारण यी तीन शरीर, जाग्रत, स्वप्न, सुषुप्ति यी तीन अवस्था, अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय, आनन्दमय यी पाँचकोश, र भोक्ता भोग्य यी सबैलाई बारम्बार विचार गरी यिनीहरु सम्पूर्णबाट भित्र रहेको घटद्रष्टा, साक्षीरुप निर्विकार शुद्ध चेतन ब्रह्मस्वरुप म हुँ ।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८