उष्ट्रासन

उष्ट्रासन
उष्ट्रासन दुई शब्द मिलेर बनेको छ – उष्ट्र अर्थात उँट र आसन अर्थात मुद्रा । यो आसन गर्दा शरीरको आकृति उँटको जस्तै बन्ने भएको हुनाले यो आसनलाई उष्ट्रासन नामाकरण गरिएको हो । उँट मरुभूमि जस्तो ठाउँमा सजिलै बाँच्न सक्दछ । त्यस्तै यो आसन नियमित गर्नाले शारीरिक र मानसिक समस्या सजिलै निराकरण गर्न सकिन्छ ।

विधि

  • घुँडाको बलमा बस्नुहोस् । 
  • बिस्तारै शरीरलाई पछाडितिर मोड्नुहोस् र आफ्नो दुवै हात पछाडि लगेर कुरकुच्चामा समाउनुहोस् । 
  • यो आसन गर्दा घुँडा र काँध एकै लाईनमा सिधा हुनुपर्दछ । 
  • बिस्तारै स्वास तान्दै मेरुदण्डको तल्लो भागलाई अगाडितिर दबाब दिनुहोस् । 
  • यसो गर्दा पुरै दबाब नाभीमा महसुस हुन्छ । 
  • यस अवस्थामा ३० देखि ६० सेकेण्डसम्म रहनुहोस् र बिस्तारै स्वास छोड्दै पूर्व अवस्थामा आउनुहोस् । 
  • माथिको प्रकृयालाई कम्तिमा ३ देखि ५ पटकसम्म गर्नुहोस् । 

लाभ

  • यो आसनले पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्दछ । 
  • कम्मर र काँधलाई बलियो बनाउँछ । 
  • खुट्टा र पिठ्यूँमा हुने बाथ रोग कम गर्दछ । 
  • मेरुदण्डको हड्डी लचिलो बनाउँछ । 

सावधानी

  • यो आसन हृदयरोग र उच्च रक्तचाप भएको व्यक्तिले योग्य शिक्षकको निर्देशनमा मात्र गर्नुपर्दछ । 
  • ढाडमा समस्या भएका व्यक्तिले यो आसन गर्नुहुँदैन ।