हलासन
                        हलासन
यो आसन दुई शब्द मिलेर बनेको छ – हल अर्थात् हलो र आसन अर्थात् मुद्रा । जसरी हलोलाई वर्षाैँदेखि जमिनमा लुकेका खजाना खोज्नको निमित्त प्रयोग गरिन्छ, त्यसरी हलासन मार्फत शरीरमा वर्षैँदेखि लुकेका शक्ति जगाउनको निमित्त यो आसन गरिन्छ ।
विधि
१) सभासनमा सुत्नुहोस् । 
२) हातलाई शरीरसँग जोड्नुहोस्, हत्केला जमिनतर्फ फर्काउनुहोस् । 
३) स्वास भित्र तान्दै खुट्टालाई उठाउनुहोस् । 
४) खुट्टाले कम्मरसँग नब्बे डिग्री कोण बनाउँछ, जोड पेटमा पर्दछ । 
५) खुट्टालाई माथि उठाउँदा हातले कम्मरलाई साथ दिनुहोस् । 
६) खुट्टालाई शिरतिर झुकाउँदै लगेर शिरको पछाडितिर लगेर खुट्टाका औँलाले जमिनमा छुवाउनुहोस् । 
७) हातलाई कम्मरबाट हटाएर जमिनमा सिधा राख्नुहोस् । 
८) हत्केलालाई जमिनतर्फ फर्काउनुहोस् । 
९) यस अवस्थामा केही समय रहेर स्वास छोड्दै खुट्टालाई उठाउँदै पूर्व अवस्थामा आउनुहोस् । 
लाभ
- यो आसनले थकान र तनाव व्यवस्थापन गर्न मद्दत गर्दछ ।
 - मधुमेह सन्तुलित राख्दछ ।
 - थाईरोइडको समस्या निराकरण गर्न मद्दत गर्दछ ।
 - तौल घटाउन मद्दत गर्दछ ।
 - पाचन प्रणाली सन्तुलित राख्दछ ।
 
सावधानी
- यो आसन योग्य शिक्षकको निर्देशनमा मात्र गर्नुहोस् ।
 - घाँटीमा चोट भएको व्यक्तिले नगर्नुहोस् ।
 - उच्च रक्तचाप भएकोले गर्न हुँदैन ।