विशुद्ध चक्र

विशुद्ध चक्र

मानवदेहको कण्ठदेशमा विशुद्ध चक्र विद्यमान छ । विषलाई शुद्ध गर्नु अर्थात साधकलाई सत्य निरुपण गर्नमा यो चक्र विशेष सहायक हुन्छ ।   

यो चक्र नीलो वर्णको र सोह्रदल विशिष्ट छ जसका सोह्र पाँखुरीहरुमा अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः सोह्र वर्णहरु अवस्थित छन् । यस पद्ममा कर्णिकाको बिचमा स्फटिक समान आकाशबीज हं विद्यमान छ । त्यहाँ श्वेत हात्तीमा आकाशदेव विराजित हुनुहुन्छ । यहाँ पञ्चमुखलसित दसभूजा भएका सदाशिव विराजमान हुनुहुन्छ र शर, चाप, पास र शूलयुक्ता चतुर्भुजा, रक्तवर्णा शाकिनी शक्ति पनि विराजित हुनुहुन्छ ।  

विशुद्ध चक्रलाई कंठ चक्र भनेर पनि जानिन्छ । त्यसैले यस चक्र संतुलित हुँदा वाणीमा स्पष्टता आउँछ र संप्रेषण गर्ने क्षमतामा पनि वृद्धि हुन्छ । ध्यान, जपका साथसाथै यस चक्रलाई संतुलित राख्नको निमित्त सर्वाङ्गासन, मत्स्यासन, भुजंगासन आदि आसनहरु गर्न सकिन्छ ।