कथा: मान्छेको खप्पर

मान्छेको खप्पर
एकपटक नारद नारायणको धून गाउँदै पृथ्वीलोकमा विचरण गरिरहनुभएको थियो । त्यसै बेला उहाँको एक गरीब व्यक्तिसँग भेट भयो । ऊ धेरै दिनदेखि भोको थियो । उसले नारदसँग केही सम्पत्तिको याचना गर्यो । नारदले आफूसँग केही नभएको र कुवेरसँग गए उनले यथेष्ठ धन पाउने कुरा बताए । एउटा झुत्रे माग्ने आफ्नो अगाडि देखेपछि कुवेरले त्यहाँ आउनुको कारण सोधे । त्यस गरीब व्यक्तिले आफू निकै दुःखी भएको र सम्पत्ति माग्दा नारदले आफूलाई त्यहाँ पठाउनुभएको बतायो । त्यसपछि कुवेरले माग्नेको पात्रमा केही धन राखिदिए । अचम्म के भयो भन्दा माग्नेको पात्रमा केही अडिएन । कुवेरले दोहोर्याई तेहेर्याई प्रशस्त धन सम्पत्ति पात्रमा खन्याए, तर पात्रमा केही अडिएन । 
संयोगवश नारद सोही स्थानमा आए । कुवेरले नारदजीसँग गुनासो गर्दै भने – ‘यो पात्रमा जति सम्पत्ति हाले पनि सधैँ रित्तिरहन्छ, म हैरान भएँ ।’ कुवेरको त्यस्तो कुरा सुनेर गरिब माग्नेलाई नारदले सोध्नुभयो – ‘तिम्रो पात्रमा त केही अडिएन । तिम्रो त्यो पात्र के बाट बनेको हो ?’ माग्नेले भन्यो – ‘प्रभु ! यो माटो, काठ वा अन्य केही धातुबाट बनेको होइन, यो त एउटा मानवको खप्परबाट बनेको हो ।’ नारदजीले त्यो कुराको रहस्य बुझी भन्नुभयो – ‘हे माग्ने, मानवको खप्पर अत्यन्तै सन्तुष्ट नहुने किसिमको छ । तिमी यो मानवको खप्पर लिएर हिँडेर गरिब भएको रहेछौ । यसलाई फाल र नारायणरुपी प्रभुको नाम लिएर हिँड । छिट्टै धनी हुन्छौ ।’ नारदको उपदेश सुनेपछि माग्नेले त्यो पात्र त्यही फाल्यो र नारदसँग ‘नारायण’ नाम जप लियो । भगवान नारायणको जप गरेर हिँड्न थालेपनि उसलाई कहिल्यै पनि खान–लाउन अभाव भएन ।

यसरी हामीले पनि जीवनमा भगवानसँग सांसारिक पदार्थहरुको याचना गरिरहेका हुन्छौँ । तर भगवानले जति दिँदा पनि हामी आफूलाई रित्तो नै भएको महशुश गरिरहन्छौँ र थप प्राप्त गर्नको निमित्त हात फैलाईरहन्छौँ । तर सही गुरुको निर्देशबाट ‘नारायण’रुपी नाम जप लिएर चिन्तन मनन गर्याँै भने हामी आफूसँग भएको सम्पत्तिमा नै सुखी हुन सक्छौँ र यस्तो सुख दिनुभएकोमा भगवानप्रति कृतज्ञ हुन सक्छौँ ।