मणिपुर चक्र

मणिपुर चक्र

मानवदेहको नाभिदेशमा मणिपुर चक्र विद्यमान छ । मणिको अर्थ रत्न र पुरको अर्थ स्थान हुन्छ । यसरी शब्दार्थमा मणिपुरको अर्थ रत्नहरुले भरिएको स्थान भनेर बुझ्न सकिन्छ ।
यो चक्र पहेँलो वर्णको छ र दश दल विशिष्ट छ जसका दश पाँखुरीहरुमा डं, ढं, णं, तं, थं, दं, धं, नं, पं र फं वर्णहरु अवस्थित छन् । यस चक्रको सम्बन्ध ब्रह्माण्डिय प्राण उर्जासँग छ । यस पद्मका कर्णिका बीचमा अग्नीबीज ‘रं’ विद्यमान छन् । अग्निले चेतन तत्व, ताप र शक्तिलाई प्रतिनिधित्व गर्दछ । यहाँ भस्मभूषित सिन्दूरवर्ण रुद्र विराजमान हुनुहुन्छ र नानालङ्कार भूषित चतुर्भुजा सिन्दूरवर्णा लाकिनी शक्ति पनि विराजित हुनुहुन्छ । 

मणिपुर चक्र असन्तुलित हुँदा शारीरिक र मानसिक रुपमा विभिन्न समस्या देखिन्छन् जस्तैः आत्मविश्वासमा कमी, भ्रमित, पाचन प्रणालीमा समस्या, मधुमेह, रक्तचापमा घटीबढी आदि । यस चक्र संतुलित हुँदा आत्मविश्वास, स्फूर्ति, बुद्धिमत्ता, निर्णायक क्षमता र शक्तिनिपुण हुन्छ । ध्यान, जपका साथसाथै यस चक्रलाई संतुलित राख्नको निमित्त वीरभद्रासन, सूर्य नमस्कार आदि आसनहरु गर्न सकिन्छ ।