चुप साधन
भित्र–बाहिर दुवैतिरबाट चुप हुनु नै ‘चुप–साधन’ हो । भित्रबाट यस्तो विचार गर्नुहोस् कि मलाई केही गर्नु नै छैन । न स्वार्थ, न परमार्थ, न लौकिक, न पारलौकिक केही पनि नाईँ । यस्तो विचार गरेर बस्नुहोस् । बस्नको लागि सबैभन्दा उत्तम समय हो – बिहान निद्राबाट उठेपछि । निद्राबाट उठेपछि भगवानलाई नमस्कार गरेर बस्नुहोस् । जसरी गाढा निन्द्रामा केही पनि गर्ने संकल्प थिएन, त्यस्तै जाग्रत अवस्थामा पनि केही गर्ने संकल्प नहोस् । चिन्तन, जप, ध्यान आदि केही पनि नगर्ने । तर ‘चिन्तन आदि केही गर्दिनँ ।’ – यस्तो संकल्प पनि नराख्नुहोस् किनकी नगर्ने संकल्प राख्नु पनि गर्नु हो । वास्तवमा ‘नगर्नु’ नै स्वतःसिद्ध हो । मन–बुद्धि आदिलाई स्वीकार गरेर नै ‘गर्नु’ हुन्छ ।
अब अलिकति पनि केही गर्ने हुँदैन – यस्तो विचार गरेर चुप बस्नुहोस् । यदि मनले मानेन भने ‘सबै स्थानमा परमात्मा परिपूर्ण हुनुहुन्छ’ – यस्तो मानेर चुप बस्नुहोस् । सगुणको उपासना गर्नुहुन्छ भने ‘म प्रभुको चरणमा परेको छु’ – यस्तो मानेर चुप हुनुहोस् । तर यो दाेस्राे कुरा हो । पहिलो कुरा त यो हो कि केही गर्नु नै छैन । यसरी चुप हुँदा भित्र केही संकल्प–विकल्प आयो भने त्यसलाई उपेक्षा गर्नुहोस्, विरोध नगर्नुहोस् । त्यसमा राजी पनि नहुनुहोस्, न राग न द्वेष उत्पन्न गर्नुहोस् । शास्त्रविहित राम्रो संकल्प आयो भने त्यसमा राजी नहुनुहोस् र शास्त्रनिषिद्ध संकल्प आए पनि त्यसमा द्वेष उत्पन्न नगर्नुहोस् । स्वयं ती विचारमा नलाग्नुहोस् अर्थात ति विचार मात्र हुन् भनेर जान्नुहोस् ।
तपाईँ भन्नुहुन्छ कि मन धेरै खराब चिज हो तर वास्तवमा मन न खराब न राम्रो नै हुन्छ । राम्रो वा नराम्रो हामी स्वयं हुन्छौँ । हामी राम्रो भएमा राम्रो संकल्प गरिन्छ र खराब भएमा खराब संकल्प गरिन्छ । राम्रो वा नराम्रो यी दुवै नै प्रकृतिको सम्बन्धले हुन्छ । प्रकृतिको सम्बन्ध बिना न राम्रो हुन्छ न खराब नै । जसरी सुख र दुःख दुई चिज हुन्, तर आनन्दमा न सुख हुन्छ, न दुःख हुन्छ । यसरी प्रकृतिको सम्बन्धबाट रहित तत्वमा न राम्रो हुन्छ न नराम्रो हुन्छ । त्यसैले राम्रो वा नराम्रोको भेदबाट अलग हुनुहोस् ।
संकल्प आउँछ वा जान्छ, यसमा पहिला नै यो विचार गर्नुपर्छ कि वास्तवमा संकल्प आएको होईन, हाम्रो संस्कार प्रतिबिम्बित भएको हो । भूतकालमा हामीले जे कर्म गर्यौँ, त्यसको याद आएको हो र भविष्यमा हामीले जे गर्ने सोच बनाएका छौँ, त्यो विचार आएको हो । भूत वा भविष्यको याद आउँछ, जसको वर्तमानमा कुनै अस्तित्व छैन । मनमा गहिरिएर जे बसेको छ, त्यो निक्लिएको हो । त्यसैले तपाईँ त्यो विचारसँग सम्बन्ध नबनाउनुहोस्, तटस्थ हुनुहोस् । सम्बन्ध नजोडेमा तपाईँलाई ति संकल्पहरुको दोष लाग्दैन र संकल्प पनि आफैँ नष्ट हुन्छन् किनकी जे उत्पन्न हुन्छ, त्यो अवश्य नष्ट हुन्छ, यो प्रकृतिको नियम छ ।
संसारमा धेरै पुण्यकर्म भएका हुन्छन्, तर के हामीलाई पुण्य प्राप्त हुन्छ ? यसरी नै संसारमा धेरै पापकर्म भएका हुन्छन्, तर के हामीलाई पाप लाग्छ ? लाग्दैन । किन लाग्दैन त भन्दा हाम्रो ति पाप वा पुण्यकर्मसँग सम्बन्ध थिएन । जसरी संसारमा पुण्य र पाप कर्म भईरहेको छ, त्यसरी नै मनमा पनि संकल्प–विकल्प भईरहेको हुन्छ । यदि उपेक्षा गरेमा त्यसको फल भोग्नुपर्दैन । तर यदि ति संकल्प–विकल्पमा हामी टासियौँ भने हामीले फल भोग्नुपर्छ । त्यसैले मनसँग नमिल्नुहोस् । न अनुमोदन गर्नुहोस्,, न विरोध नै । संकल्प–विकल्प उठ्छन् भने उठिरहोस् । यो गर्नुपर्छ वा यो गर्नुहुँदैन – यी दुवै विचारबाट माथि उठ्नुहोस् ।
नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन | (भगवद् गीता ३/१८)
गर्नु वा नगर्नु – दुवैको आग्रह नराख्नुहोस् । गर्ने आग्रह राख्नु पनि संकल्प हो र नगर्ने आग्रह राख्नु पनि संकल्प हो । गर्नु पनि कर्म हो र नगर्नु पनि कर्म हो । गर्दा पनि परिश्रम हुन्छ र नगर्दा पनि परिश्रम हुन्छ । त्यसैले गर्ने वा नगर्ने दुवैमा अलिकति पनि मतलब नराखेर चुप हुनुभयो भने प्रकृतिको सम्बन्ध छुट्छ र परम विश्राम प्राप्त हुन्छ, किनकी क्रियामा प्रकृति हुन्छ । त्यो क्रिया चाहे शरीरको हो, चाहे मनको हो, सबै प्रकृतिको नै हो । त्यसैले बाहिर भित्रबाट चुप हुनुभयो भने जसलाई तत्वज्ञान भनिन्छ, जसलाई जीवनमुक्ति भनिन्छ, जसलाई सहज समाधि भनिन्छ, त्यो स्वतः सिद्ध हुन्छ ।
उत्तमा सहजावस्था मध्यमा ध्यानधारणा ।
कनिष्ठा शास्त्रचिन्ता च तीर्थयात्राऽधमाऽधमा ।।
अर्थातः सबैभन्दा सानो साधन तीर्थयात्रा हो । त्योभन्दा ठूलो शास्त्रचिन्तन हो । शास्त्रचिन्तनभन्दा ठूलो ध्यान–धारणा हो र सबैभन्दा माथिल्लो सहजावस्था (सहज समाधि) हो, तपाईँ त्यो सहजावस्थामा पुग्नुहुन्छ ।
सहजावस्था न जाग्रत हो, न स्वप्न हो, न सुषुप्ति हो, न मूच्र्छा हो र न समाधि नै । सुषुप्ति र सहजावस्थामा फरक यो हो कि सुषुप्तिमा बेहोशी हुन्छ, तर सहजावस्थामा बेहोशी हुँदैन, प्रत्युत होश हुन्छ, जागृति हुन्छ, ज्ञानको प्रकाश हुन्छ ।
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ।। (भगवद् गीता ४/२७)
वास्तवमा चुप हुनुपर्दैन, प्रत्युत चुप त स्वाभाविक हो । जसको वेदान्तको संस्कार छ, उनीहरुलाई यो थाहा छ कि आत्मा न कर्ता हो, न भोक्ता हो । त्यसैले सहजावस्था स्वाभाविक हो ।
चुप भएको समयमा यदि निद्रा लाग्यो भने जप–कीर्तन गर्न शुरु गर्नुहोस्, उठ्नुहोस् । तर जबसम्म निन्द्रा लाग्दैन, तबसम्म केही क्रिया नगर्नुहोस् । चुप रहँदा धेरै शक्ति प्राप्त हुन्छ, त्यो क्रिया गर्दा कहिल्यै प्राप्त हुँदैन अझ खर्च हुन्छ । हामी काम गर्दागर्दै थाक्यौँ भने सुत्छौँ । गहिरो निन्द्रामा जब थकान मेटिन्छ, मनमा, इन्द्रियहरुमा, शरीरमा ताजापन आउँछ, क्रिया गर्ने शक्ति आउँछ । त्यस्तै प्रलयमा चुप भईयो भने सर्गको सामथ्र्य प्राप्त हुन्छ, महाप्रलयमा चुप भईयो भने महासर्गको सामथ्र्य प्राप्त हुन्छ । त्यसैले जति पनि सामथ्र्य छ, त्यो क्रिया नगर्दा नै प्राप्त हुन्छ । नगर्नु नै परमात्माको स्वरुप हो, जो नित्यप्राप्त छ । केही गर्दा त्यसको आरम्भ र अन्त हुन्छ, तर नगर्दा त्यसको अन्त वा आरम्भ हुँदैन । त्यसैले नगर्नु नित्य छ ।
हामीलाई केही गर्नुपर्ने नै छैन – न पहिला गर्नुपर्ने थियो, न भविष्यमा गर्नुपर्ने हुन्छ । भगवानको चिन्तन पनि गर्नुपर्र्दैन । न संसारको चिन्तन न भगवानको चिन्तन । मनलाई निरीक्षण पनि गर्नुपर्दैन । मनको निरीक्षण तब गर्नुपथ्र्याे यदि मनको साथमा हाम्रो सम्बन्ध भएमा । हाम्रो मनसँग केही पनि सम्बन्ध छैन । त्यसैले मनतर्फ हेर्नुपर्दैन । यो सानो साधना होइन, धेरै उच्च साधना हो । सबै साधनहरुको अन्तिम साधन हो । केही नगर्नुमा सबै साधन एक हुन्छन् । जसरी अरबौँ रुपैयाँको एक रुपैयाँ पनि अंश हो, त्यस्तै परमात्मातत्वको प्राप्ति, जीवनमुक्ति, सहज समाधि जसलाई भनिन्छ, त्यसको अंश हो यो । यो ‘चुप साधन’ लाई सन्तहरुले ‘अचिन्त्यको ध्यान’ भनेर पनि भनेका छन् ।
(स्वामी रामसुखदासको पुस्तक ‘सहज साधना’बाट अनुवाद गरिएको)