स्वाधिष्ठान चक्र

स्वाधिष्ठान चक्र

मानवदेहको लिङ्गमूलमा स्वाधिष्ठान चक्र विद्यमान छ । स्वको अर्थ आत्मा र अधिष्ठानको अर्थ स्थान हुन्छ । यसरी शब्दार्थमा स्वाधिष्ठानको अर्थ आफ्नो स्वरुपमा अवस्थित भनेर बुझ्न सकिन्छ ।


यो चक्र सुन्तला वर्णको र छ दल विशिष्ट छ जसका छ पाँखुरीहरुमा बं, भं, मं, यं, रं र लं वर्णहरु अवस्थित छन् । यस चक्रको सम्बन्ध अवचेतन मनको त्यो स्थानसँग सम्बन्ध छ जहाँ हाम्रो अस्तित्वको गर्भमा सबै जीवनका अनुभव संग्रहित भएका हुन्छन् । यस पद्मका कर्णिकाभ्यन्तरमा श्वेतवर्ण अर्धचन्द्राकार वरुण मण्डल विराजमान छन् जहाँ वरुणबीज वं विद्यमान छन् । वरुण देवता गोहीमा अधिष्ठित हुनुहुन्छ । नवयौवन सम्पन्न श्री हरि विराजमान हुनुहुन्छ र दिव्यवस्त्र र आभूषण भूषिता चतुर्भुजा गौरवर्णा राकिनी शक्ति पनि विराजित हुनुहुन्छ । 

स्वाधिष्ठान चक्र असन्तुलित हुँदा शारीरिक र मानसिक रुपमा विभिन्न समस्या देखिन्छन् जस्तैः उर्जाको कमी, मूत्राशयमा समस्या, कामेच्छामा कमी, उदासी, रचनात्मक प्रेरणाको अभाव, ईष्र्या, द्वेष, आत्मसम्मानमा कमी, क्रोध, घृणा, वैमनश्यता, क्रूरता, आलस्य, भय, संदेह आदि । स्वाधिष्ठान पद्मको सुन्तला रङ्गले उदयीमान सूर्य साथसाथै सक्रियता र शुद्धतालाई दर्शाउँछ र यस चक्र संतुलित हुँदा रचनात्मक क्षमतामा वृद्धि, कल्पनाशिलता, स्पष्टता, प्रसन्नता, निष्ठा, आत्मविश्वास र उर्जा उत्पन्न हुन्छ । ध्यान, जपका साथसाथै यस चक्रलाई संतुलित राख्नको निमित्त मलमलासन, धनुरासन, बद्ध कोणासन आदि आसनहरु गर्न सकिन्छ ।