नवधा भक्ति

नवधा भक्ति

श्रीमद्भागवत महापुराणको सातौँ स्कन्दमा हिरण्यकश्यपु आफ्नो पुत्रलाई सोध्छन् –‘तिमीले गुरुकुलमा के सिक्यौ ?’ पिताको प्रश्नमा प्रल्हाद भक्तिका नौ प्रकारलाई वर्णन गर्छन्:
श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् । 
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।।

श्रवणः ईश्वरको लीला, कथा, महत्व, शक्ति आदिलाई परमश्रद्धा सहित अतृप्त मनबाट निरन्तर सुन्नु । 

कीर्तनः ईश्वरको गुण, चरित्र, नाम, पराक्रम आदिको आनन्द एवं उत्साहसहित भजन कीर्तन गर्नु ।
 
स्मरणः निरन्तर अनन्य प्रेमसहित परमेश्वरलाई स्मरण गर्नु, उहाँको महात्म्य र शक्तिको स्मरण गरेर त्यसैमा लीन हुनु । 

पाद सेवनः भगवानको चरणकमलको आश्रय लिनु र उहाँलाई नै आफ्नो सर्वस्व ठान्नु । 

अर्चनः मन, वचन र कर्मद्वारा पवित्र सामग्रीले भगवानको चरणको पूजा गर्नु । 

वन्दनः भगवानको मूर्ति तथा भगवानको अंश रुपमा व्याप्त भक्तजन, ब्राह्मण, आचार्य, गुरुजन, माता–पिता आदिलाई परम आदर सत्कार साथ पवित्र भावले नमस्कार गर्नु अथवा उहाँहरुको सेवा गर्नु । 

दास्यः ईश्वरलाई स्वामी र आफूलाई दास सम्झेर परम श्रद्धासहित सेवा गर्नु । 

सख्यः ईश्वरलाई नै आफ्नो परम मित्र सम्झेर आफ्नो सर्वस्व उहाँमा समर्पण गर्नु तथा पवित्र भावबाट आफ्नो पाप–पुण्य निवेदन गर्नु । 

आत्मनिवेदनः आफूले आफैँलाई भगवानको चरणमा सधैँका लागि समर्पण गर्नु र केही पनि आफ्नो स्वतन्त्र सत्तामा नराख्नु । 

त्यस्तै नवधा भक्तिबारे रामायण (श्रीरामचरितमानस)को अरण्यकाण्डमा पनि छ । जब माता शबरीले भन्नुहुन्छ – ‘म नीच, अधम, मंदबुद्धि छु, म कसरी हजुरको स्तुति गरुँ ?’ भनेर भगवान् श्रीरामसँग विन्ति गर्नुहुन्छ, तब भगवान् भन्नुहुन्छ – ‘म त केवल एक भक्तिको सम्बन्ध मात्र मान्दछु ।’ यसरी श्रीरामले नवधा भक्तिबारे यसो भन्नुभएको छ भनी तुलसीदास लेख्नुहुन्छ –

म तिमीलाई आफ्नो नवधा भक्तिबारे भन्दछु । तिमी सावधान भएर सुन र मनमा धारण गर । पहिलो भक्ति हो – सन्तसँग सत्सङ्ग, दास्रो भक्ति मेरो कथा प्रसङ्गमा प्रेम । 

तेस्रो भक्ति हो – अभिमानरहित भएर गुरुको चरणकमलको सेवा गर्नु, त्यस्तै चौथो भक्ति कपट छोडेर मेरो गुणहरुको गान गर्नु । 

मेरो मन्त्रको जप र ममा दृढ विश्वास – यो पाचौँ भक्ति हो, जो वेदमा प्रसिद्ध छ । छैठौँ भक्ति हो – ईन्द्रियनिग्रह, शील, धेरै कार्यबाट वैराग्य तथा निरन्तर सन्त पुरुषको धर्म(आचरण)मा लागिरहनु । 

सातौँ भक्ति हो – जगतभरिको समभाव ममा ओतप्रोत भएको देख्नु र सन्तहरुलाई मलाई भन्दा बढी मान्नु । आठौँ भक्ति हो – जो प्राप्त छ, त्यसैमा सन्तोष गर्नु अथवा सपनामा पनि अरुको दोष नदेख्नु । 

नवौँ भक्ति हो – सरलता र सबैसँग कपटरहित व्यवहार गर्नु, हृदयमा मेरो भरोसा राख्नु र कुनै पनि अवस्थामा हर्ष र विषद नहुनु । यी नौ मध्ये जसमा एक पनि भक्ति हुन्छ, त्यो स्त्री–पुरुष, जड–चेतन जे पनि हुन्छ, त्यो मेरो प्रिय छ । 

हे भामिनि ! मलाई त्यही अत्यन्त प्रीय छ, तिमीमा त यी सबै भक्ति दृढ छन् । त्यसैले जो गति योगीहरुलाई पनि दुर्लभ छ, आज तिमीलाई त्यो सुलभ छ ।’