कथा: ईश्वर एक कि अनेक ?

ईश्वर एक कि अनेक ?

एकादेशमा एउटा राजालाई ईश्वर एक छ कि अनेक भन्ने आध्यात्मिक जिज्ञासा थियो । यस प्रश्नले उनलाई निकै लामो समयदेखि पिरोलिरहेको थियो । राज्यमा भएका अनेक विद्वानहरुको उत्तरले उनी सन्तुष्ट हुन सकेनन् । उनी एकदिन घोडामा डुल्न निस्किएका थिए । बाटोमा एक जना महात्मा देखे । उनले महात्मालाई त्यही प्रश्न गरे – ‘ईश्वर एक छ कि अनेक ?’ महात्माले राजालाई हेरेर भने – ‘राजन ! तपाईँलाई यसको उत्तर त कतिले दिए होलान् । तर तपाईँ सन्तुष्ट हुन सक्नुभएन । किन ?’ महात्माको यस्तो प्रश्न सुनेर राजा अक्क न बक्क भए । महात्माले फेरि भने – ‘किनकी तपाईँमा श्रद्धा भएन । तपाईँ घोडामा बस्नुभएको छ र महात्मालाई तल फर्केर सोधिरहनुभएको छ । प्रश्न जहिले पनि श्रद्धासहित सोध्नुपर्छ । श्रद्धा भएको व्यक्तिले नै उत्तर प्राप्त गर्न समथ्र्य हुन्छ ।’ राजाले सोचे यी महात्मा सामान्य छैनन् । उनी घोडाबाट ओर्लिए र दुवै हात जोडी विनम्रतापूर्वक भने – ‘महात्मा मेरो कृत्यलाई क्षमा गर्नुहोस् र कृपा गरेर मलाई धेरै समयदेखि पिरोलेको प्रश्नको उत्तर दिनुहोस् – ईश्वर एक छ कि अनेक ?’ महात्माले भने – ‘तपाईँ राजा भएर यस्तो प्रश्न पैदा हुनु स्वभाविक छैन । वैराग्यको मार्गमा लाग्नेलाई मात्र यस्तो जिज्ञासा उत्पन्न हुन्छ ।’ राजाले भने – ‘महात्मा ! तपाईँ ज्ञानी हुनुहुन्छ । म अज्ञानीलाई वैराग्यको अर्थ थाहा छैन । मलाई मेरो प्रश्नको उत्तर दिनुहोस् ।’ त्यसपछि महात्माले भने – ‘यसको उत्तर म तपाईँलाई भोली दिन्छु । म भोकाएको पनि छु । मलाई खानपिनको व्यवस्था गर्नुहोस् ।’ महात्माको यस्तो आग्रह सुनेर राजाले महात्मालाई राज्यमा लगरे अनेक मिष्ठान्न खुवाए । 

अर्काे दिन राजाले सबै मन्त्रीहरुलाई पनि बोलाए । सबैको अगाडि महात्मासामु त्यही प्रश्न सोधे – ‘ईश्वर एक छ कि अनेक ?’ महात्माले भने – ‘राजन ! केही मणिहरु ल्याउनुहोस् ।’ मणिहरु आएपछि महात्माले मणिको थाली समाएर राजालाई भने – ‘मणि म समात्छु । गिन्ती तपाईँ गर्नुहोस् ।’ राजाले हुन्छ भने । त्यसपछि महात्माले एउटा मणि हातमा लिए । राजाले भने – ‘एक’ । महात्माले पहिलाको मणि थालीमा राखि अर्काे मणि हातमा लिए । राजाले भने – ‘दुई’ । महात्माले हाततर्फ देखाउँदै भने – ‘हातमा कति छ भन्नुस्’ । राजाले सच्चाएर भने – ‘एक’ । महात्माले त्यो मणि पनि थालीमा राखेर अर्काे मणि हातमा लिए । राजाले भने – ‘तीन’ । महात्माले फेरि हातमा देखाउँदै भने – ‘हातको मात्र भन्नुस् राजन’ । राजाले फेरि सच्चाउँदै भने – ‘एक’ । त्यसपछि महात्माले मुस्कुराउँदै भने – ‘जसरी तपाईँ ईश्वर एक छ कि अनेक भन्ने प्रश्नमा भ्रमित हुनुहुन्छ, त्यसरी नै धेरै मानिसहरु भ्रमित छन् । मणि थालीमा अनेक छन् भने हातमा लिँदा एक छ । यसरी ईश्वर पनि अनेक छन् तर अनुभवमा आउँदा एक हुन्छ । एउटाको अनुभवमा आउँदा एक भयो । अर्काेको अनुभवमा अर्काे ‘एक’ भयो । यसरी धेरैको अनुभवलाई समेट्दा ईश्वर अनेक भयो ।’ 


राजाले महात्माको कुरा बुझे र फेरि अर्काे जिज्ञासा राखे – ‘ईश्वरलाई कसरी भेट्न सकिन्छ ?’ महात्माले राजालाई दुध ल्याउन भने । कचौरामा दुध आएपछि महात्माले भने – ‘यो दूधमा सबै मान्छे घ्यू छ भन्छन् । मैले त घ्यू देख्दिन ।’ राजाले भने – ‘महात्मा, यत्तिकै हेरेर कहाँ घ्यू देखिन्छ त ? यस दूधलाई जमाउनुपर्छ, दही बनाउनुपर्छ, मथ्न पर्छ नौनी निस्कन्छ अनि आगोमा तपाउनुपर्छ र बल्ल घ्यू निस्कन्छ । यसको विधि हुन्छ । विधिअनुसार गरेमात्र घ्यू निस्कन्छ । कुनै एउटा मात्र विधिमा त्रुटि भएमा पनि घ्यू निकाल्न सकिँदैन ।’ महात्माले हाँस्दै भने – ‘जसरी एउटा दूधलाई हेरेर घ्यू देख्न सकिँदैन, त्यसैगरी बाहिरी आवरणहरु हेरेर मात्र ईश्वर भेट्न सकिँदैन । परमात्मा तपाईँमा नै छ तर पहिला निष्ठाले जमाउनु पर्छ । फेरि विचारद्वारा मथ्न पर्छ अनि नौनीरुपी वैराग्य निस्कन्छ । त्यसपछि तपस्याद्वारा तप्नुपर्छ । बल्ल परमात्मारुपी घ्यू निस्किन्छ । यसको पनि विधि छ । विधिअनुसार गरेमात्र परमात्मा भेटिन्छ । कुनै एउटा विधिमा त्रुटि भएमा परमात्मा प्राप्त गर्न सकिँदैन ।’ महात्माको उदारणद्वारा बुझाउने शैली देखेर राजा अत्यन्तै प्रशन्न भए । उनको निकै लामो समयदेखि मनमा रहेको जिज्ञासा मेटियो । उनले महात्मालाई राज्यमा ज्ञान दिनको निमित्त दरबारमा नै बस्न आग्रह गरे । महात्मा पनि राजाको आग्रह स्वीकार गरी त्यस उपरान्त राज्यमा ज्ञान दिँदै आनन्दपूर्वक बसे ।

यसरी जीवनमा हामी पनि अनेक प्रश्नहरुको जिज्ञासा लिएर बसेका हुन्छौँ । तर उत्तर दिने सही पात्र नभेटिँदा हामीले भ्रममा नै आफ्नो जीवन व्यतित गरेका हुन्छौँ । जसरी राजालाई उत्तर दिनको लागि महात्मा योग्य पात्र थिए, त्यसैगरी हामीले पनि योग्य गुरुको समीपमा नै सही उत्तर पाउन सक्छौँ जसले गर्दा हाम्रो कौतुहल पनि मेटिन्छ र जीवनको सही मार्गनिर्देश पनि मिल्दछ ।