सोमबारको व्रत कथा र पूजा विधि

सोमबारको व्रत कथा र पूजा विधि

सोमबार भगवान शिव र देवी पार्वतीको पूजा अर्चना गर्ने विधान छ । ज्योतिष अनुसार चन्द्रमा खराब भएमा पनि सोमबारको व्रत गर्ने चलन छ । व्रत गर्नेले दिनमा एक चोटि मात्र भोजन गर्नुपर्दछ । 

सोमबार व्रतको पौराणिक कथा

अमरपुर नगरमा एक धनी व्यापारी बस्दथे । टाढा–टाढासम्म उनको व्यापार फैलिएको थियो । नगरमा त्यस व्यापारीलाई सबैले मान–सम्मान गर्दथे । सबै हुँदा पनि उनी अन्तर्मनदेखि भने अत्यन्त दुःखी थिए किनकी उनको पुत्र थिएनन् । पुत्र प्राप्त गर्ने ईच्छाले उनले भगवान शिवको व्रत–पूजा गर्दथे । 

त्यस व्यापारीको भक्ति देखेर पार्वतीले भगवान शिवलाई निवेदन गर्नुभयो – ‘हे प्राणनाथ, यो व्यापारी हजुरको सच्चा भक्त छ । उसको मनोकामना पूर्ण गरिदिनुहोस् ।’ भगवान शिवले उत्तर दिनुभयो – ‘ हे प्रिय ! यस संसारमा सबैले आफ्नो कर्म अनुसारको फल भोग्दछन् । तैपनि तिम्रो आग्रहमा यस व्यापारीलाई म एउटा पुत्र प्रदान त गर्दछु तर त्यस पुत्रको आयु मात्र सोह्र वर्षको हुनेछ ।’ त्यसै रात भगवान शिव व्यापारीलाई सपनामा दर्शन दिएर पुत्र प्राप्तिको वरदान दिनुभयो र पुत्रको अल्पायु हुनेबारे पनि जानकारी दिनुभयो । 

त्यसको केही समयमा नै व्यापारीको घरमा पुत्रको जन्म भयो । पुत्र जन्मिएकोमा सबैतिर खुशियाली मनाईयो तर व्यापारी भने पुत्रको अल्पायु हुने कुराले चिन्तित रह्यो । अन्य कसैलाई पनि उक्त रहस्य थाहा नभएको हुनाले विद्वानहरुले त्यस बालकको नाम अमर राखिदिए । समयचक्र बित्दै गयो । बालक बाह्र वर्षको भयो । व्यापारीले शिक्षाको निमित्त अमरलाई उसको मामासँग वाराणसी पठायो । अमरले गुरुकुलमा पढ्न सुरु गर्यो । 

स्रोह वर्षको भएपछि एक रात सुतेकै अवस्थामा अमरको शरीरबाट आत्मा उडेर गयो । त्यति तेजिलो बच्चाको निधन भएपछि जताततै कोलाहल भयो । उनीहरुको विलाप सुनेर पार्वतीले भगवान शिवसँग विन्ति गर्नुभयो – ‘हे प्राणनाथ ! हजुरको परम भक्तको पुत्रको मृत्यु भयो । उनीहरुको विलाप सुन्न असह्य भयो । कृपा गरेर उक्त बालकलाई जीवित गराईदिनुपर्याे ।’ पार्वती अनुनय र त्यस व्यापारीको अटुट सोमबारको व्रतको प्रभावको कारण भगवान शिव आफ्नो वचनसँग पनि हार मान्नुभयो र बालकलाई जीवित गराउनुभयो । 

यता व्यापारी आफ्नो पुत्रको मृत्युको खबर प्राप्त हुने होला भनी मनमनै अत्यन्त चिन्तित थिए । उनले मृत्यु भएको खबर आएमा आफ्नो पनि प्राण त्याग्ने सोच बनाएका थिए । तर पुत्र सोह्र वर्षको उमेर काटेर पढाई पनि पुरा गरेर आएको देखेर उनको खुशीको सिमा नै रहेन । उनले समाजमा भोजको आयोजना गरे । त्यसै रात भगवान शिवले सपनामा आएर भन्नुभयो – ‘हे श्रेष्ठ ! तिम्रो सोमबारको व्रतले प्रसन्न भएर मैले तिम्रो पुत्रलाई लामो आयु प्रदान गरेको छु ।’ व्यापारी धेरै खुशी भयो । शास्त्रमा लेखिएको छ कि जो स्त्री–पुरुष सोमबारको विधिवत व्रत बस्छन् र व्रतकथा सुन्छन्, तिनीहरुको सम्पूर्ण ईच्छाहरु पूर्ण हुन्छन् । 

सोमबार व्रतको पूजा विधिः

१) सोमबारको दिन ब्रह्ममुहुर्तमा उठ्नु,
२) सम्पूर्ण घर सफा गरेर स्नानादिबाट निवृत्त हुनु,
३) गंगा जल अथवा पवित्र जल सम्पूर्ण घरमा छर्किनु,
४) घरमा कुनै पवित्र स्थानमा भगवान शिवको मूर्ति वा चित्र स्थापना गर्नु,
५) सबै पूजा तयारी भएपछि निम्न मन्त्रले संकल्प गर्नुः
         ‘मम क्षेमस्थैर्यविजयारोग्यैश्वर्याभिवृद्धयर्थं सोमवार व्रतं करिष्ये
६) त्यसपछि निम्न मन्त्रले ध्यान गर्नुः
‘ध्यायेन्नित्यंमहेशं रजतगिरिनिभं चारुचंद्रावतंसं रत्नाकल्पोज्ज्वलांग  परशुमृगवराभीतिहस्तं प्रसन्नम् ।
पद्मासीनं समंतात्स्तुतममरगणैव्र्याघ्रकृत्तिं वसानं विश्वाद्यं विश्ववंद्यं निखिलभयहरं पंचवक्त्रं त्रिनेत्रम् ।।

७) ध्यान पछि ‘ॐ नमः शिवाय’ले शिवजी तथा ‘ॐ नमः शिवाय’ले पार्वतीको षोेडशोपचार पूजा गर्नु,
८) पूजा पछि व्रत कथा सुन्नु,
९) त्यसपछि आरती गरेर प्रसाद बाँड्नु,
१०) त्यसपछि भोजन अथवा फलाहार ग्रहण गर्नु ।