प्रेरक कथा: साढेसाती र शिवजी

प्रेरक कथा: साढेसाती र शिवजी 

शनि ग्रहको दशा साढे सात वर्षको हुन्छ । हरेक मानिसले आफ्नो जीवनकालमा शनिको दशा भोग्नै परेको हुन्छ र त्यस समयमा अनेक दुःख कष्ट पनि पर्दछ । त्यस्तै भगवान शिवजीको पनि शनिको साढे सात वर्षको दशा शुरु हुनै लागेको थियो ।
शिवजीले यो साढेसातीको दशाबाट कसरी बच्ने भनेर धेरै सोच्नुभयो । अन्त्यमा शनिले थाहा पनि नपाउने र नदेख्ने गरी गोबरको किरो भएर लुकेर बस्नुपर्ला भन्ने निष्कर्ष निकाल्नुभयो । जब शनिको दशा शुरु भयो, उहाँ गोबरमा एउटा सानो किरो भएर बस्नुभयो र यसरी नै साढे सात वर्ष व्यतित गर्नुभयो । 
साढे सात वर्ष गोबरमा बसिसकेपछि बडो गर्व सहित शिवजी शनिको अगाडि उपस्थित भएर भन्नुभयो –‘हेर शनि ! तिमिले आफ्नो दशामा सबैलाई कति दुःख दिन्छौ तर तिमीले त मलाई केही पनि गर्न सकेनौ । तिम्रो प्रभाव पर्ने समयमा म तिमिले नदेख्ने गरी गोबरमा सानो किरो भएर लुकेर बसेँ ।’
शिवजीको यस्तो कुरा सुनी शनिले मुस्कुराउँदै भन्यो – ‘हे प्रभु ! हजुर जस्तो सर्वन्तर्यामीलाई म कसरी दुःख दिन सक्छु ? यो सम्पूर्ण जगत उत्पत्ति पनि हजुरले गर्नुभएको हो र नियम पनि हजुरले नै बनाउनुभएको हो । तर एउटा मैले नबुझेको जिज्ञासा हजुरले समाधान गरिदिनुभए आभारी हुन्थेँ ।’ शनिको यस्तो कुरा सुनेर शिवजीले भन्नुभयो – ‘के छ जिज्ञासा भन ।’ शनिले सोध्यो – ‘हजुर मेरो दशा आउन भन्दा अगाडि त आनन्दपूर्वक जीवन व्यतित गरिरहनुभएको थियो । तर जब मेरो दशा शुरु भयो के कारणले गर्दा हजुरलाई साढे सात वर्षसम्म गोबरको किरो भएर बस्नुपर्याे ?’ 
शिवजी आफूले बुद्धि लगाएर शनिको दशाबाट मुक्ति पाएँ भनेको त उल्टै शनिको दशामा परेर साढे सात वर्षसम्म गोबरमा किरो भएर बस्नुपरेको रहेछ भन्ने महशुश गर्नुभयो र लज्जाबोध गरी शनिलाई केही पनि जवाफ नदिई त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पर्वतमा जानुभयो । 

यसरी जीवनमा हामीले पनि धेरै बाठो भएर अनेक कार्य गर्दछौँ । तर उत्पादक हुनुको सट्टा व्युत्पादक भएको हुन्छ । उखान नै छ नि – ‘लाटो लड्छ एक पटक, बाठो लड्छ तीन पटक ।’ सुझबुझ नपुर्याई कुनै कार्य गर्दा र अरुलाई झुक्याउँछु भन्दा शिवजीलाई त अप्ठ्यारो पर्यो भने हामी सामान्य जीवलाई कति गाह्रो पर्ला । त्यसैले कुनै पनि कार्य गर्दा विचार गरेर र त्यसले निम्त्याउने फलको आङ्कलन गरेर गर्नु नै बुद्धिमानी हुन्छ ।