कथा: मनमा भार
मनमा भार
धेरै पहिलेको कुरा हो । दुई जना साधु पैदल यात्रामा निस्किएका थिए । त्यस समय उनीहरुको साधनाको समय पनि थियो । उनीहरु ठाउँ ठाउँमा साधना गर्दै जहाँ जे मिल्दछ खाँदै, जहाँ रात पर्छ त्यही सुत्दै आफ्नो यात्रामा अगाडि बढिरेका थिए । जाँदै गर्दा एउटा नदी देखा पर्यो । नदीको किनारमा स्वर्गका अप्सराजस्तै देखिने अत्यन्त सुन्दर नारीहरु नग्न अवस्थामा स्नान गरिरहेका थिए । ती दुई साधुमध्ये अग्रजले अर्काे साधकलाई उपदेश गरे – ‘नग्न स्त्रीहरुलाई हेर्दा वासना पैदा हुन्छ । साधना खण्डित हुन्छ । त्यता नजर नलगाई आफ्नो बाटो लाग्दा नै उत्तम हुन्छ ।’
उनीहरु नदीको किनारमा नै पुगेका थिए, तीमध्ये एउटी सुन्दर स्त्री आएर विनय गरिन् – ‘हे साधक ! मेरो घर पारी पर्दछ । अहिले नदी अलि ठूलो भएको छ । म एक्लै तर्न नसकेर वारी नै बसेकी छु । कपडा पनि पारी छन् । तपाईँहरुले मलाई बोकेर तारिदिनुभए धन्य हुने थिएँ ।’ अग्रज साधकले उनीतिर हेर्दै नहेरी आफ्नो बाटो लागे । तर अर्काे साधकले ती नग्न स्त्रीलाई बोकेर नदी तारिदिए ।
त्यसपछि एक अर्कासँग केही नबोली ती दुई साधक आफ्नो बाटो लागे । करिब ३–४ घण्टापछि अग्रज साधकले मनमा असह्य भई भने – ‘तिमीले आज ठूलो पाप गर्यौ । मेरो उपदेश नमानेर तिमीले त्यो नग्न स्त्रीलाई बोक्यौ ।’ अर्का साधकले जवाफ दिए – ‘हजुर मैले गरेको कृत्य पुण्य हो कि पाप हो म छुट्टाउन सक्दिन । तर मैले त ती स्त्रीलाई एकछिन करिब एक मिनेटजस्तो मात्र बोकेर अघिनै नदीको किनारमा छोडेँ । तर म माफी माग्छु मेरो कारणले हजुरले चार घण्टादेखि ती स्त्रीलाई मनमा बोकिरहनुभएको रहेछ ।’ साधकको उत्तर सुनेर अग्रज साधक लज्जाबोध गरी ठूलो पाठ सिकाएकोमा उनीप्रति नतमस्तक भए ।
यसरी हाम्रो जीवनमा पनि घटना सानो हुन्छ, त्यसले हाम्रो मनलाई अत्यन्त धेरै सताईरहेको हुन्छ । औचित्यहीन विषयलाई हामीले मनमा बोकिरहेका हुन्छौँ जसले गर्दा हाम्रो जीवनचर्यामा नै असर परिरहेको हुन्छ । उखान नै छ नि – ‘वनको बाघले भन्दा मनको बाघले खान्छ ।’ त्यसैले के कुरा आफ्नो मनमा राख्ने र के कुरा मनबाट हटाउने भनेर जान्नको निमित्त सत्यलाई आधार मानी निश्चयात्मक बुद्धि प्रयोग गर्नुपर्दछ । बुद्धिलाई निश्चयात्मक बनाउनको लागि सत्सङ्ग, सत्विचार, सत्शास्त्र, सद्गुरु र सत्य ज्ञानको अनुशरण गर्नुपर्दछ ।