शब्दार्थ: अंग
अंग शब्दको अर्थ के हो ?
वीर शैव दर्शनमा अंग शब्द दीक्षा सम्पन्न शुद्ध जीवको वाचक हो । ‘अं’ शब्दको अर्थ परशिव हो भने ‘ग’ शब्दले गच्छति अर्थात जानु/प्राप्त गर्नु भन्ने जनाउँछ । यो जीव अनाद्यनंत परमतत्वलाई समरस भावले प्राप्त गर्ने अधिकार राख्दछ, त्यसैले यसलाई अंग शब्दले सम्बोधन गरिन्छ । परशिवको अंश अथवा अंग भएकोले नै यो जीव अंग भनिएको हो ।
यो अंग लिङ्गतत्वको उपासक हो । त्यसैले लिंग र अंगमा उपास्य–उपासकको सम्बन्ध हुन्छ । उपास्य लिङ्गतत्व आफ्नो लीलामा ‘भावलिंग’, ‘प्राणलिंग’, तथा ‘ईष्टलिंग’को नामबाट प्रसिद्ध हुन्छ । त्यसअनुसार उपासक अंग पनि योगांग, भोगांग र त्यागांगको भेदले तीन प्रकारका हुन्छन् ।
योगांगः परशिवसँग साक्षात योग अथवा तादात्म्य प्राप्त गर्ने अंगलाई योगांग भनिन्छ । सुषुप्ति अवस्थामा कारण शरीराभिमानी जीव पनि, जसलाई अन्य दर्शनमा ‘प्राज्ञ’ भनिन्छ, यहाँ योगांग शब्दले जानिन्छ । वस्तुतः ‘शरण’ तथा ‘ऐक्य’ यी दुवै स्थानका साधकलाई नै योगांग भनिन्छ । किनकी ‘शरण’ तथा ‘ऐक्य’ अवस्थामा जीवलाई साक्षात परशिव स्वरुपको अनुभव हुन्छ ।
भोगांगः यहाँ ‘भोग’ शब्द शिव–प्रसादको अर्थमा प्रयोग गरिएको छ । त्यसैले उपयोग गर्ने सबै वस्तुहरुलाई शिवमा समर्पित गरेर उहाँको प्रसाद रुपमा उपभोग गर्ने अंग भोगांग मानिन्छ । ‘प्रसादी’ एवं ‘प्राणलिंगी’ यी दुई अवस्थाको साधकलाई ‘भोगांग’ भनिन्छ । किनकी यी दुई स्थानका साधक आफ्नो साधना बलबाट यो प्रपञ्चलाई शिवस्वरुप देख्दै सबै उपभोग्य वस्तुहरुमा शिवको प्रसादको दृष्टि राख्दछन् । स्वप्नावास्था मा सूक्ष्म शरीराभिमानी जीवलाई अन्य दर्शनहरुमा ‘तेजस’ भनेर जानिन्छ, वीर शैव दर्शनमा ‘भोगांग’ भनिन्छ । यसैलाई अन्तरात्मा पनि भनिन्छ ।
त्यागांगः गुरु कृपाको माध्यमबाट अथवा आफ्नो साधनको बलबाट जो साधकले संसारको भ्रान्तिलाई त्याग गरेको छ, अर्थात जसको भ्रान्ति छुटेको छ, त्यस अंगलाई त्यागांग भनिन्छ । यो ‘भक्त’ र ‘महेश’ स्थानको साधकको अवस्था हो किनकी यी दुई स्थानका साधक ‘म’ तथा ‘मेरो’ भन्ने सांसारिक भावबाट अलग भएर रहन्छन् । जाग्रतावस्थामा स्थूल शरीरसँग व्यवहार गर्ने जीव जसलाई दर्शनांतरमा ‘विश्व’ नामले जानिन्छ, यहाँ ‘त्यागांग’ हो तथा यसलाई ‘जीवांग’ पनि भनिन्छ ।