अध्याय ३ श्लाेक ३३ भगवद् गीता
सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि ।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ॥ ३-३३॥
अर्थात्ः
सबै प्राणीहरु प्रकृतिको स्वभाव अनुसार नै चल्छन् भने ज्ञानी पुरुष पनि प्रकतिको नियमानुसार कर्म गर्छन् । प्रकृतिको नियमलाई उल्लङ्घन गर्न खोज्नु हुँदैन ।
जसरी सबै नदीको जल स्वभाविक रुपमा समुन्द्रतर्फ नै बग्दछ, त्यसै प्रकार सबै प्राणी आ–आफ्नो प्रकृतिको अधीन भएर प्रकृतिको प्रवाहमा परेर प्रकृति अन्तर्गत नै रहन्छन् । त्यसैले कुनै पनि मनुष्यले हठपूर्वक कर्म त्याग गरेर प्रकृतिभन्दा अलग हुन सक्दैन ।
ज्ञानी महापुरुष पनि प्रकृति अन्तर्गत रहेर नै कर्म गर्दछन् । यसको अर्थ यो बुझ्नुपर्दछ कि ज्ञानी जनमा कुनै कर्तापनको अहं हुँदैन । त्यसैले उनीहरुले प्रारब्ध कर्मको फललाई स्वीकार गरी अगाडि गरिने कर्ममा कर्तापनको भाव राख्दैनन् । तर जो मनुष्य विहित कर्म त्याग गरेर स्वेच्छाचारी भई ‘कर्म’बाट अलग भएँ भन्ने भ्रममा पर्दछ, ऊ झन् कर्मबन्धनमा जकडिएको पत्तै पाउँदैन । त्यसैले हामीले पनि ज्ञानीजन र शास्त्र निर्देशित कर्म गरी राग–द्वेषयुक्त भावलाई त्याग गरी विशुद्ध कर्म गर्ने प्रयास गर्नुपर्दछ । यस्तो गर्दा सद्गुणहरु उत्पन्न हुन्छन् र मुक्तिको गति तय हुन्छ । ‘कर्म’ त्याग गर्ने भाव केवल आलस्य प्रेरित भाव हो भन्ने जानेर प्रकृति अन्तर्गत रहेर कर्म गर्दै जानुपर्छ ।