विचारद्वारा धन प्राप्ति


विचारद्वारा धन प्राप्ति

यस विषयमा केही विद्वानहरु के भन्दछन् भने एकातिर हामी धन प्राप्तिको इच्छा गर्दछौँ र अर्काेतिर के पनि मान्दछौँ भने धन प्राप्ति र प्रारब्धको अधीन छ । यसैले धन प्राप्तिको इच्छा हुँदाहुँदै पनि ती धन प्राप्तिका लागि अधिक विचार गर्दैनन्, उल्टो गरीबीको विचार नै अधिक गर्दछन् अर्थात धन नष्ट होला, जागीर छुट्ला वा व्यापार चलेन भने हामी के गरौँला, यस्ता नाना चिन्तामा परिरहनाले गरीबी र चिन्ताका विचार बढ्छन् र धन प्राप्तिका विचार दबिन्छन् । प्रकृतिको नियम के छ भने गरीबीका विचारले मनलाई दरिद्र राखेर कोही धनी हुन सक्दैन । तर आश्चर्य के छ भने हामीलाई धनी बन्नु छ तैपनि हामी गरीबीको विचारमा डुबिरहन्छौँ । जस्तै फलाना मानिसको धन नाश भयो त्यसैले धेरै दुःखी छ । उस्तै नै हाम्रो धन गयो भने हाम्रो के होला ? फलानो मानिस धेरै धनी थियो, व्यापारमा घाटा लाग्नाले त्यो दुई कौडीको रहेन । फलानो ठूलो ओहदाको थियो, नोकरी छुटेपछि उसलाई कसैले चिन्दैन, त्यस्तै हाम्रो हाल भएमा हामी के गरौँला ? छोराहरुको विवाह गर्नुछ, उनीहरुलाई जातिका अनुसार खर्च गर्नका लागि कर्जा लिनु पर्ला ? घर पनि खराब भयो, यसलाई फेरि बनाउनु पर्नेछ । स्वास्नीको गहनाको कुरा आयो भने सुन्या नसुन्यै जस्तै गरिदिन्छौँ अथवा अघिबाट नै भनिदिन्छौँ हामी गरीब छौँ । मित्रहरुसँग भन्ने गर्छाैँ हामी गरिब छौँ । यस प्रकार हामी सदैव नै गरीबीका विचारमा डुबिरहन्छौँ । त्यसमाथि पनि धनी हुन चाहन्छौँ । यो कसरी हुन सक्छ ?

त्यसैले यदि धनी हुनु छ भने सदैव धनको नै विचार गर्नुपर्दछ । धनवानहरुका जीवन चरित्र पढ्नुपर्दछ र धनवानहरुका मनमा जस्तो उदारता रहन्छ उस्तै उदारता आफ्नो विचारमा ल्याउनुपर्दछ साथै धनवानहरुले पहिले कति परिश्रम गरे अथवा धन प्राप्तिका लागि उनले कस्ता कस्ता क्लेश उठाए ती क्लेशहरुलाई र जिम्मेवारीलाई उठाउन उद्यत हुनु तथा धन प्राप्ति विषयक युक्तिहरु र चातुर्यको सम्पदान गर्नु एवं दरिद्रताको विचार कुनै समय पनि मनमा आउन नदिनु – यही नै धन प्राप्तिको सरल साधन हो । 

(खप्तड बाबाको पुस्तक ‘विचार विज्ञान’बाट साभार)