अध्याय ३ श्लाेक ४२ भगवद् गीता

इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ॥ ३-४२॥

अर्थात्ः

शरीर भन्दा सुक्ष्म इन्द्रियहरु, इन्द्रियहरु भन्दा सुक्ष्म मन, मन भन्दा सुक्ष्म बुद्धि र बुद्धि भन्दा सुक्ष्म आत्मा छ ।

कठोपनिषदमा शरीरलाई रथ र इन्द्रियहरुलाई घोडा बताईएको छ । रथको तुलनामा घोडा श्रेष्ठ र चेतन तत्व हो । आफ्नो इच्छानुसार उसले रथलाई लैजान सक्छ । यसै प्रकार इन्द्रियहरुले पनि शरीरलाई आफ्नो इच्छानुरुप चलाउन सक्छन् । त्यसैले स्थुल शरीरभन्दा इन्द्रियहरु सुक्ष्म हुन्छन् । तर इन्द्रियहरुभन्दा सूक्ष्म मन हुन्छ किनकी मनमा उत्पन्न संकल्प विकल्पका कारण नै इन्द्रियहरु कर्म गर्दछन् । फेरि मनभन्दा सूक्ष्म बुद्धि हुन्छ किनकी मनमा उत्पन्न संकल्प विकल्पहरुलाई निश्चय गर्ने कार्य बुद्धिको हो । तर सबैभन्दा श्रेष्ठ ‘आत्मा’ हुन्छ किनकी आत्मा नै चेतन तत्व हो र आत्माविना बुद्धि, मन, इन्द्रियहरु वा शरीर कुनैले पनि कार्य गर्न सक्दैनन् । 
कठोपनिषदमा थप भनिएको छ कि आत्मा रथी हो, बुद्धि सारथी, शरीर रथ, इन्द्रियहरु घोडा र शब्दादि विषयहरु नै मार्ग हुन् । रथीको अधीनमा सारथी, सारथीको अधीनमा लगाम, लगामको अधीनमा घोडा हुनु ठीक हो तर जसको बुद्धिरुपी सारथी विवेकज्ञानले शून्य छ, मनरुपी लगाम नियमानुसार चल्दैन, यस्तो जीवात्मारुपी रथीको इन्द्रियरुपी घोडा उच्छृङ्खल भएर दुष्ट घोडाहरुले जस्तै गलत मार्गमा चलेर खाल्डोमा हालिदिन्छन् । यहाँबाट यो सिद्ध हुन्छ कि जबसम्म बुद्धि, मन र इन्द्रियहरुमाथि जीवात्माको आधिपत्य हुँदैन, तबसम्म इन्द्रियहरु र मन बुद्धिलाई धोका दिएर गलत मार्गमा चलाउँछन् । इन्द्रियहरु पहिला मनलाई विषयसुखको प्रलोभन देखाएर आफ्नो अनुकुल बनाउँछन्, मन र इन्द्रियहरु मिलेर बुद्धिलाई आफ्नो अनुकुल बनाउँछन् र यी सबै मिलेर आत्मालाई आफ्नो अधीन गर्दछन् । त्यसैले जसको बुद्धिरुपी सारथी विवेकशील छ, मनरुपी लगाम जसको नियमानुसार चल्दछ, इन्द्रियरुपी घोडा पनि जसको वशमा छन्, यस्तो मन, बुद्धि र इन्द्रियहरु भएको पवित्र आत्मा परमात्मासँग एक हुन्छ ।