खप्तड बाबाका केही अनमोल उपदेश

खप्तड बाबाका केही अनमोल उपदेश

प्रतिदिन केही समय एकान्तमा बिताऊ, मौन रहने गर । वाणीको मौन पनि बडो लाभकारी छ । यी दुवै भगवद्–ध्यान र नाम–स्मरणमा अति सहायक छन् ।

वाणीको संयम गरेर अनावश्यक कुरो कहिल्यै नगर तथा कसैको निन्दा र चुक्ली पनि नगर न त स्तुति नै गर । कठोर वचन नबोल, असत्य तथा अरुको अहित गर्ने शब्द कहिल्यै नबोल । मनमा भय, अशान्ति, द्वेष, विषाद्लाई कहिल्यै आउन नदेऊ । भगवानकाे दया अथवा आत्माको पवित्रता र नित्यता माथि विश्वास गरेर सदा शान्त, निर्भय र प्रसन्न रहने उद्योग गर । 

उत्तेजनाबाट सदा बच्ने गर । धैर्य कहिल्यै नछोड, उत्तेजना र अधैर्यले शारीरिक र मानसिक रोग उत्पन्न हुन्छन्, जसबाट छुट्नु कठिन हुन जान्छ । कसैको अनादर नगर तथा कसैलाई घृणा पनि नगर र कसैको चित्त नदुखाऊ । स्वयं सहू, तर स्वार्थवश कसैलाई कष्ट नदेऊ, कुनै राम्रो काममा सधैँ लागिराख, कसैको चित्त नतोड । अरुलाई उत्साह दिईराख र यथासंभव उसको राम्रो काममा सहायता गर । निर्धन, दीन–दुःखी, रोगी र आतुरहरुमा भगवानको विशेष रुपलाई देखेर उनको सेवा गर र बडो आदर तथा प्रेमपूर्वक तीसँग भेटेर यथाशक्ति उनको दुःख हटाउन सहायता गर र प्रभुको भजनमा जहाँसम्म हुन सक्छ आफ्नो समय लगाऊ । 

हृदयको सरलतामा देवत्व र ऋषित्व छ र कपटमा असुरत्व छ । यसैले मनलाई सरल स्वभाववाला बनाऊ । यदि युक्तिले कुरो बन्दैन भने चिन्ता छैन तर निश्चय राख कि कपट, चातुरीले आफूलाई बुद्धिमान सिद्ध गर्नेहरु भन्दा तिमी निश्चय नै उच्च स्थितिमा छौ ।

एउटा महात्माको भनाइ छ – हिजोआज धेरैजसो मानिस मीठो चापलुसी कुरा गर्न त जान्दछन् तर मनमा भने दम्भ, कपट भरिएको छ । पहिलेका मानिस उति बोल्न जान्दैनथे तर तिनको हृदय सरल थियो, ती आफ्नो दोष लुकाउन जान्दैनथे । दम्भी, कपटी बनेर सुहाउँदो कुरा बोल्ने सम्यको अपेक्षा सरल ग्रामीण बन्नु सच्चा उन्नतिको लक्षण हो । सरलतामा पवित्रता र कपटमा अपवित्रता छ । कपटी मानिस जति अरुलाई हानि पुर्याउँछ त्यसभन्दा बढी त्यो आफ्नो हानि गर्दछ । 

आफ्ना पापहरुलाई नलुकाऊ र पुण्यहरुलाई प्रकट नगर । लुकाउनाले पाप बढ्ने छन् र प्रकट गर्नाले पाप घट्ने छन्, उस्तै नै पुण्य प्रकट गर्नाले घट्ने छन् र लुकाउनाले पुण्य बढ्ने छन् । पुण्यलाई कपूरको भाँति जान । यदि बोतलको मुख खोल्यो भने त्यो (कपूर) उडेर जान्छ । पाप नराम्रो वस्तु हो, यसैले पापलाई लुकाएर राख्यो भने भित्रै विष उत्पन्न गरेर हृदयका सब शुद्ध भावहरुलाई नष्ट गरिदिनेछ । 

जीवनको एक क्षणलाई पनि मूल्यवान् जानेर बडो सावधानीले प्रत्येक क्षणलाई भगवत्–चिन्तन गर्दै लोकहितको कार्यमा बिताऊ । 

अहित केवल शरीर वा वाणीबाट नै हुँदैन मनले पनि हुन्छ । तिम्रो मनमा नराम्रो विचार आयो भने जान अब तिमी आफ्नो र अरुको समेत अहित गर्ने भयौ । यसैले नराम्रो विचार कहिल्यै मनमा आउन नदेऊ । यदि पूर्व संस्कारवश आईहाल्यो भने त्यसलाई तत्काल नै बाहिर निकालिदेऊ, नराम्रो विचारलाई क्षणभर पनि मनमा टिक्न नदेऊ । विचार दुई प्रकारका हुन्छन्, राम्रा या नराम्रा । राम्रा विचार–सत्य–भाषण, दया, क्षमा, परोपकार, ईश्वरको आराधना आदि हुन् र नराम्रा विचार–असत्य, भाषण, क्रोध, निर्दयता, दोस्रालाई दुःख दिनु अपकार गर्नु, स्वार्थपरता आदि हुन् । 

राम्रा विचारहरुको प्रभाव मनमाथि राम्रो हुन्छ र नराम्रा विचारहरुको नराम्रो प्रभाव हाम्रो मनमा र शरीरमाथि पर्दछ तथा समीप रहनेहरुमा सँगै रहनेहरुमा एवं टोल छिमेकीहरुमा पनि पर्दछ । यसको वर्णन तल क्रमैले सविस्तार गरिनेछ । 

जहाँसम्म हाम्रा विचारहरुको पहुँच छ त्यहाँसम्म जगत्लाई हामी सदा प्रभावित गर्दछौँ र त्यसबाट हामी पनि प्रभावित हुँदै रहन्छौँ । विचारहरुको कम्पनले जो क्षणभरमा हजारौँ कोश जान सक्छन्–विचित्र घटनाहरु निरन्तर भइरहन्छन् । जस्तो कसैको पुत्र अमेरिकामा पढ्दछ भने जुन समय त्यो आफ्नो पुत्रको सम्बन्धमा विचार गर्दछ ठीक त्यही समय पुत्रको मनमा पनि पिताका सम्बन्धमा विचार उठ्न लाग्दछ । यसको कारण पूवोक्त विचारका कम्पन नै हुन् । यिनको ज्ञान प्राप्त गर्नाले विस्मयकारक रहस्यमय ग्रन्थिको उद्घाटन हुन्छ । 

सद्–विचारहरुलाई मनमा ल्याउनाले मानिस दुष्कर्महरुबाट बच्न सक्छ । जब मानिस आफ्नो मनमा दुष्ट विचारहरुलाई स्थान दिन्छ भने त्यो तामसी वृत्तिको अनुभव गर्न लाग्दछ । यदि कोही सदा नराम्रो विचार राख्दछ, तिनैको चिन्तन गर्दछ र तिनैलाई मनमा धारण गर्छ भने उसलाई आफ्नो स्वभाव र प्रवृत्ति बदल्नमा बडो कठिनाई प्रतीत हुनेछ । 

प्रत्येक मानिस अभ्यासद्वारा आफ्नो विचार र वाणीमा आशातीत सुधार गर्न सक्छ । हाम्रो अन्तरात्मामा हाम्रा भावनाहरुको धेरै नै प्रभाव पर्दछ । यदि हाम्रा भाव शुद्ध छन् भने हाम्रो अन्तरात्मा हामीलाई दुष्ट कार्यहरुतिर जाँदा सचेत गर्दछ र हाम्रा भाव नराम्रा छन् र हामीले अन्तरात्मालाई सोध्यौँ भने हाम्रो अन्तरात्मा हामीलाई त्यसपछि गर्ने नगर्ने परिणाम सम्झाउन लाग्नेछ । 

जो धेरै कालदेखि खराब भावनामा परिरहेछन् उनीहरु अन्तरात्माको त्यो शब्दलाई सुन्दैनन् किनभने भावहरुको हो–हल्लामा उसको शब्द दबेर जान्छ । 

कैयौँ यस्ता मानिस पनि देखिन्छन् जसलाई आफू रोगी भन्न तथा आफ्नो दुःखलाई अरुभन्दा बढाएर भन्नमा सुख प्रतीत हुन्छ । यसको परिणाम केही समय त प्रतीत हुँदैन तर बारम्बार रोगी हुने कुरा गर्दा–गर्दा र मन कल्पित क्लेशहरुको वर्णन गर्दा–गर्दा भावनाअनुसार ती रोगी अवश्य हुन जान्छन् । धेरै जसो मानिस व्यर्थ नै यता उताका कुरा गरेर आफ्नो जीवन बिताइदिन्छन् । शुद्ध भावनाद्वारा ती आफ्नो जीवन आनन्दपूर्ण बनाउन सक्थे । यसैले मानिसलाई उचित त सदा सज्जनहरुको अनुसरण गर्नु र उनका नित्यका व्यवहारबाट शिक्षा ग्रहण गर्नुहुन्छ । जसका विचार सदा पवित्र रहन्छन् र जो सदा अपवित्र विचार राख्दछन् ती दुवैको तुलना गरेर हेर । नीच श्रेणीका मानिसहरुको जीवन जेलखाना र पागलखानामा नै व्यतीत हुन्छ र उत्तम श्रेणीका मानिसहरुको जीवन कति शान्ति एवं आनन्दपूर्वक व्यतीत हुन्छ तथा तिनको प्रभाव ती नरहँदा पनि कस्तो मधुर र स्थिर हुन्छ । 

श्रेष्ठ पुरुषहरुको यही भनाइ छ – हामीले जस्तो विचार मनमा आउन दियौँ भने केही समय पश्चात हाम्रो शरीर, हाम्रो आचार, व्यवहारादि उस्तै प्रकारका हुन लाग्नेछन् । मानिसका विचारहरुको प्रभाव उसको स्वास्थ्य र अङ्गहरुको बनावटमाथि धेरै पर्दछ । मन नै मार्दछ, मन नै जिलाउँछ र मनमा नै रोगहरुको जरो हुन्छ । 

(खप्तड बाबाको पुस्तक ‘विचार विज्ञान’बाट साभार)