पुत्रदा एकादशी

पुत्रदा एकादशी
पुत्रदा एकादशी  श्रावण महिनाको शुक्ल पक्षमा पर्दछ। यो एकादशीको व्रत गर्नाले पुत्र नभएकालाई पुत्र प्राप्त हुने विश्वास छ । 
व्रतविधिः
  • ब्रह्ममुहुर्तमा उठेर नुहाएर चोखो लुगा लगाउनुपर्दछ ।
  • भगवान विष्णुको तस्बिर वा मूर्ति अगाडि चोखो घिउमा भिजाएको बत्ति बाल्नुपर्दछ ।
  • पूजा सामाग्रीमा तुलसीको पात, समय अनुसारको फलफुल र जौ तिल प्रयोग गर्नुपर्दछ । 
  • व्रतको दिनमा दिनभरी निराहार बस्नुपर्दछ र राति पूजा गरिसकेपछि फलफूल खान मिल्दछ । 
  • विष्णुसहस्रनामको पाठ गर्नुपर्दछ । 
  • राति भजन कीर्तन गरेर जागाराम बस्नुपर्दछ । 
  • द्वादशीको दिनमा ब्राह्मण वा दीनदुःखीलाई भोजन गराएर, दान–दक्षिणा गरेर मात्र आफुले खानुपर्दछ ।  
व्रतकथाः
द्वापर युगमा महिष्मती राज्यका राजा महिजितका छोरा थिएनन् । राजा धेरै शान्त र धर्मपालक थिए । राजाको छोरा नभएको कुरा उनका जनताले महामुनी लोमेशलाई भने। यो कुरा थाहा पाएपछि ऋषिले पूर्व जन्ममा राजा अत्यन्त अत्याचारी, धनहीन र वैश्य थिए भन्ने कुरा जनतासँग भने । पुत्रदा एकादशीको दिनमा उनी दिउँसो धेरै नै तिर्खाएर पानी खान नदीमा गए । त्यहाँ एउटा गाईले नदीको पानी पिइरहेको थियो । राजाले त्यस गाईलाई रोकेर आफूले पानी खान थाले । पानी पिइरहेको गाईलाई रोकेर आफूले पानी पिउनु धर्मपूर्वक थिएन । त्यसैले उनी अर्को जन्ममा पूण्य कर्मको फलले राजा त भए तर गाईलाई पानी खानबाट रोकेको हुनाले पुत्रविहिन भए । पुत्रदा एकादशीको नियमपूर्वक व्रत गर्नाले राजालाई पुत्र प्राप्त हुने कुरा ऋषिले जनतासँग भने । राजाले यो कुरा थाहा पाएपछि नियमपूर्वक पुत्रदा एकादशीको व्रत गरे। नभन्दै केहि समयपछि रानीले छोरोलाई जन्म दिइन् ।  
पुत्रदा एकादशीको व्रत गर्नाले निसन्तानले सन्तान जन्माउँछन् । त्यस्तै मानिसको सबै पाप नाश हुन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ ।