सत्यकाे खाेज

सत्यको खोज
         –कृष्ण खनाल
ज्ञानीहरु ‘सत् नै शिव हो र शिव नै सत्य हो’ भन्दछन् । ‘ब्रह्म सत्य, जगत मिथ्या’ भन्दछन् । ‘निरपेक्ष सत्य बुझ्नको निमित्त ‘शिवतत्व, ब्रह्मतत्व’ बोध गर्नुपर्दछ । अर्थात् शिव तत्वको बोध हुँदा नै पूर्ण सत्यको बोध हुन्छ । शिव जो आफैँमा साकार र निराकार हुनुहुन्छ, उहाँ नै सत्य हुनुहुन्छ । अनेकन स्वरुपहरुमा स्थित भएर सम्पूर्ण ब्रह्माण्ड उहाँले नै सञ्चालन गर्नुभएको छ । सम्पूर्ण चेतन अवचेतन अचेतन अवस्थाका जीव, पदार्थ समयक्रममा उहाँमा नै संवरण हुन्छन् । शिवतत्व बाहेक सबै अनित्य छ । त्यसैले सत्यको खोजको अन्तिम विन्दु शिवतत्वमा समाप्त हुन्छ ।’ भनेर उपदेश गर्छन् । 


अज्ञानी नभनौँ तर जो अध्यात्मले किटान गरेको सत्यलाई स्वीकार गर्दैनन्, उनीहरुको सत्यको परिभाषा सापेक्षतामा सिमित छ । सापेक्ष अर्थात् एउटा पदार्थको अस्तित्व र व्याख्याको निमित्त अर्काे पदार्थ हुनैपर्छ भन्ने सिद्धान्त । भौतिक विज्ञानको खोजमा पनि जीवनप्रतिको सत्यको ठोस निर्णय भएको भने पाईँदैन । एउटा खोजको अन्त्य भयो भन्ने बेला अर्काे खोज गर्नुपर्ने संकेत मात्र भेटिन्छ, वास्तविक सत्य के हो भेट्न सकिँदैन । भौतिक विज्ञानको सत्यतिरको खोज दार्शनिकहरुले भन्ने गरेजस्तै ‘जीवन सुल्झाउनको निमित्त गणितको हिसाब होइन, यो त विराट रहस्यको पुञ्ज हो, जति रहस्योद्घाटन गर्दा पनि थप रहस्य भेटिन्छ’ भनेजस्तै भएको छ ।


भौतिक विज्ञानमा होस् वा अध्यात्मिक विज्ञानमा सत्यको खोजीमा कैयौँ अनुसन्धान भएका छन् । सबै अनुसन्धानले सत्यलाई सर्वाेपरी राखेर तर्क दिएका छन् । समय क्रममा त्यसरी प्रस्तुत गरिएका तर्कहरुले ‘दर्शन’को रुप लिन्छन् । यसरी एक कालखण्डमा भएको ‘सत्यको खोज’ अर्काे कालखण्डमा ‘दर्शन’ हुन्छन् । जति दर्शनहरु प्रतिपादित भएपनि दर्शनहरुले सत्यलाई तर्कको सहायताले कोरल्छन्, स्थापित गर्न सक्दैनन् । किनकी अध्यात्मको अन्तर्तम् गहिराईमा सत्य दर्शनको विषय नै होइन । ‘सत्य’ परमात्माको ‘सत् शक्ति’ हो । ‘सत् चित् आनन्द’ स्वरुप परमात्माको ‘सत् शक्ति’ । 


जीवन के हो ? जगत के हो ? धर्म के हो ? अध्यात्म के हो ? चैतन्य के हो ? सृष्टि कसरी भयो ? आदि अनेकन प्रश्नहरुको खोजको मूलमा सत्य के हो ? भन्ने अहम् प्रश्न लुकेको हुन्छ । परमात्माले ऋषिहरुमार्फत निर्देशन गर्नुभएको सत्यलाई हामीले त्यही स्वरुपमा ग्रहण गर्न नसक्नुको मुख्य कारण सृष्टिमा जीव मायाबद्ध छ । उसलाई स्व–अस्तित्वको बोध छैन । आवरणहरुले ढपक्क ढाकिएको छ । ऊसँग सिमित श्रोत साधन छन् । स्थुल ग्रहण गर्ने इन्द्रियहरु र सूक्ष्म ग्रहण गर्ने मन अनित्यतर्फ सोजिएका छन् । बुद्धि देश, काल, परिस्थिति भन्दै के सत्य हो, के असत्य हो छुट्याउन नसकेर चपेटिएको छ । संस्कार, स्वभाव र आचरणले चित्तमा कालो बादल मडारिएको छ । त्यसैले जीवको निमित्त चैतन्य धुमिल छ । अर्थात् ‘सत्य’ धुमिल छ । यी अस्थिर मन, अनिश्चयात्मक बुद्धि र मलिन चित्तको सहयताले सत्यलाई अथ्र्याउने प्रयास गरेको हुनाले वास्तविक सत्य ओझेल परेको हो । 


‘सत्यको खोज’ भन्ने विषय आफैँमा विरोधाषपूर्ण पनि देखिन्छ । किनकी ‘असत्यको खोज’ नै हुन सक्दैन । जसले ‘असत्य’ खोज्दछ, उसले पनि ‘असत्यभित्रको सत्य’ खोजिरहेको हुन्छ । त्यसैले ठोसदेखि सूक्ष्म हरेक क्रियामा गहिरिएर हेरौँ, हामीले ‘सत्य’ नै खोजिरहेका छौँ । हामीले ‘सत्य’ भेट्यौँ कि भेटेनौँ, त्यो विश्लेषको विषय होला । आंशिक सत्य थियो कि पूर्ण सत्य थियो, त्यो दृष्टिभेदले निर्धारण गर्ला । तर जति ज्ञान, विवेक, तर्क, उपलब्ध सामाग्रीले निर्धारण गर्न सक्यौँ, हाम्रो लागि हामीले जानेसम्म सत्य हो । कसैले हामीले जानेको बुझेको कुरालाई ‘आंशिक सत्य’ भन्न सक्छ वा असत्य नै भन्न सक्छ । यदि उसले तर्क दिएर हामीलाई बुझाउन सक्यो भने फेरि हामीले जति बुझ्छौँ, त्यति नै हाम्रो लागि अर्काे सत्य हुन्छ । एक जना पत्रकारले भन्ने गर्छन् – ‘मेरो जीवनमा सत्यहरु बदलिरहे ।’ यसको अर्थ हो मानिसले जीवनको एक उमेरमा मानेको अथवा जानेको सत्य अर्काे समयमा आंशिक सत्य वा असत्यमा परिणत हुन्छ । यसको अर्काे अर्थ पनि बुझ्न सकिन्छ – ‘सत्यं प्रशस्यतरं श्रद्धायाः’ । अर्थात् श्रद्धाभन्दा माथि सत्य हुन्छ । 


शंकर लामिछाने आफ्नो निबन्ध ‘एक चिठी सम्पादक’मा लेख्छन् – ‘हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौँ ।’ श्रद्धा र सत्य सम्बन्धमा यो वाक्य अत्यन्त सान्दर्भिक लाग्छ मलाई । हामीले मान्दै आएका कति रितिरिवाज, चालचलनमा हामीले श्रद्धा राखेका हुन्छौँ । समयक्रममा ति चालचलन वैज्ञानिक दृष्टिकोणमा असान्दर्भिक हुन्छन् । तर श्रद्धाको कारण समाजका मार्गनिर्देशक मानिनेहरु नै कुतर्क प्रस्तुत गरेर असत्यलाई नै प्रसय दिन्छन् । त्यसले गर्दा जनमानस सत्यतर्फभन्दा पनि असत्यतर्फ बहकिन्छ । अहिले भएका कुरितिलाई उदाहरणको लागि प्रस्तुत गर्दा यो प्रसङ्ग बुझ्न केही गाह्रो होला भनेर उदाहरणको लागि सतीप्रथालाई लिउँ । कुनै समयमा अधिकांशले स्वीकार गरेको प्रथालाई आजको समयमा सोच्दा पनि कति अमानवीय र क्रुर प्रथाको संज्ञा दिन्छौँ । त्यो बेलामा यो प्रथा उन्मुलन गर्दा कति व्यक्तिले विरोध गरेको र लुकिछिपि यो परम्परालाई अगाडि बढाएको इतिहासमा पढ्न पाइन्छ । यति अमानवीय हुँदाहुँदै पनि यस्तो परम्परालाई जोड दिनु भनेको परम्पराप्रतिको निष्ठा र श्रद्धा हो । आजको समयसँग इतिहासमा भएका घटना मुल्याङ्ककन गर्दा यथार्थ चित्रण हुन त सक्दैन तर पनि अर्काे दृष्टिकोणबाट बुझ्दा त्यो समयमा पनि आफूले मान्दै आएको परम्पराको कमजोरी रहेछ भनेर सत्यलाई स्वीकार गर्न नसकेको कारण कतिपयले कुप्रथालाई त्याग्न नसेकेका हुन् । 


त्यसैले सापेक्ष सत्य निरपेक्ष सत्यजस्तो निर्विकार छैन । यो धेरै विषयहरुबाट प्रभावित छ । राजनीतिमा ‘सत्ता नै सत्य हो’ भन्ने उक्ति प्रचलित छ । समाजमा पनि समाजका गन्यमान्य व्यक्तिले मानेको सत्यलाई धेरैले स्वीकारेका हुन्छन् । त्यस्तै कुलमा पनि चल्दै आएको आफ्नो परम्परालाई सत्य मानिएको हुन्छ । परिवेश, समाज र समयसँगै सत्यको खोजको निमित्त परिभाषा निर्माण र विनिर्माण भइरहन्छ ।