कथा: दुःख

दुःख

एकजना महात्मा आफ्नो बाल्यकालदेखिको साथीलाई बेलाबेला भेट्न जान्थे । साथी पनि महात्मा साथी आएपछि अत्यन्त प्रसन्न हुन्थे । उनलाई आफूले जीवनमा दुःख गरेर अर्जेको सम्पत्तिप्रति धेरै गर्व थियो । त्यसैले हरेक पटक उनले आफ्नो सुन्दर बगैँचा, आलिसन महल, घरभित्र रहेका महङ्गा सरसामान लगायत सम्पूर्ण आधुनिक वैभवका उपकरणहरु सबै देखाउँथे र भित्रभित्र गर्वले गदगद हुन्थे । उनलाई सांसारिक भोग्य वस्तुहरुप्रति विशेष किसिमको लगाव थियो । महात्मालाई भन्थे – ‘हेर त म गाउँबाट आएको गरिब केटो । कस्तो अवस्थाबाट कस्तो अवस्थामा आईपुगेँ । एउटा सामान्य परिवारबाट आज यस शहरमा सबैभन्दा धनी व्यक्तिसँग भएको वस्तु मसँग सबै छ ।’ महात्मा पनि हरेक पटक एउटै कुरा उही आश्चर्यसहित सुन्थे । उनी साथीको खुशीमा खुशी हुन्थे । साथी अझ थप्थे – ‘मेरो तिमी मात्र यस्तो साथी हो जो मेरो प्रगतिमा ईष्र्या गर्दैन, अरु सबै ईष्र्या गर्छन र मलाई भेट्न आउँदैनन् । उनीहरु मेरो अवस्था देख्न सक्दैनन् ।’ महात्मा मन्द मुस्कुराउँथे र सबै कुरा सुन्थे । साथीको अहंकारमा ठेस पर्ने केही भन्दैनथे । उनकोमा भोजन गर्दथे र आफ्नो घरमा आउँथे । 
तर एकपटकको कुरा हो, महात्मा जाँदा साथी एकदमै उदास थिए । त्यस दिन उनले घर देखाएनन्, घरका कुनै सामान देखाएनन् । सधैँजस्तो आत्मरति गरेनन् । एकदम सामान्य बोले । महात्माले दुःखको कारण सोधे तर उनले केही भनेनन् । पछि साथीकी श्रीमतीलाई सोध्दा उनले भनिन् – ‘पहिला यस शहरमा सबैभन्दा ठूलो घर हाम्रो थियो, तर अहिले नजिकै हाम्रोभन्दा ठूलो घर बनेको छ, त्यसैले उहाँ दुःखी हुनुभएको छ ।’
यो कथाबाट मैले के सम्झिए भन्दा जब हामी सानो थियौँ हामीलाई गुरुले कापीमा एउटा धर्काे कोरेर सोध्नुहुन्थ्यो – ‘यो धर्कोलाई नछोईकन सानो बनाऊ ।’ हामी रनभुल्ल पर्दथ्यौँ । हामी जान्दैनथ्यौँ । एकछिन पछि गुरुले त्यो धर्कोसँगै अर्काे ठूलो धर्को कोरेर देखाउनुहुन्थ्यो । यसरी दोस्रो धर्काेको तुलनामा पहिलाको धर्काे आफै सानो देखिन्थ्यो ।
त्यस्तै यस कथामा पनि साथीको घरलाई केही भएको छैन । उनी किन दुःखी छन् भन्दा उनको नजिकै आफ्नो भन्दा ठूलो घर बनेको छ । जीवनमा हामी आफूसँग के छ, त्यसमा खुशी हुनुभन्दा आफूसँग अरुभन्दा कति बढी छ भनेर खुशी भईरहेका छौँ । यस्तो खुशी हुने मानक खोजेका कारणले गर्दा वास्तविक खुशी कहिल्यै पाईरहेका नै छैनौँ । त्यसैले खुशी–सुखी हुनको लागि आफ्नो गुणलाई पहिल्याउनुपर्दछ, आफ्नो अवस्थालाई चिन्नुपर्दछ र आफूसँग भएको सम्पत्तिमा रमाउनुपर्दछ ।