पापमोचिनी एकादशी

पापमोचिनी एकादशी

हिन्दु पञ्चाङ्ग अनुसार चैत्र महिनाको कृष्ण पक्षको एकादशी तिथिलाई पापमोचिनी एकादशी भनिन्छ । यो दिन पूर्ण रुपमा भक्ति–भावले व्रत गर्नाले मानिस सबै पापबाट मुक्त हुन्छ भन्ने मान्यता छ । पापमोचिनी एकादशीको व्रत गर्नाले मानिसको लागि मोक्षको ढोका खुल्छ ।  यो एकादशीको व्रत गर्नाले सबै पाप नष्ट हुन्छन् भनेर श्री कृष्णले अर्जुनलाई बताउनुभएको थियो । 

एकचोटी एकजना मेधावी नामका ऋषि गहिरो तपस्या गरिरहनुभएको थियो । उहाँको तपस्या निकै नै प्रभावशाली थियो ।  त्यो देखेर देवताका राजा इन्द्र आत्तिनुभयो । ऋषिको तपस्या भंग गर्नको लागि इन्द्रले मंजुघोषा नामकी अप्सरालाई ऋषि भएको ठाउँमा पठाउनुभयो । विद्वान ऋषि ती अप्सराको हाउ–भाउबाट मन्त्रमुग्ध हुनुभयो । उहाँ आफ्नो तपस्या छोडेर अप्सरासँग बस्न थाल्नुभयो । यसरी धेरै वर्ष बितिसकेपछि ती अप्सराले ऋषिसँग स्वर्ग जाने आज्ञा मागिन् । बल्ल ऋषिलाई आफ्नो तपस्या भंग भएको ज्ञान भयो र आत्मग्लानी अनुभव गर्नुभयो । 

आफ्नो तपस्या भंग हुनुको कारण ती अप्सरा भएको सोचेर ऋषिले अप्सरालाई पिशाचिनी हुने श्राप दिनुभयो । श्राप पाएपछि अप्सरा धेरै दुःखी भईन् र श्राप मुक्तिको याचना गर्न लागिन् । त्यहि बेला महर्षि नारद त्यहाँ आउनुभयो र ऋषि र अप्सरा दुवैलाई आफ्नो पापबाट मुक्ति पाउन पापमोचिनी एकादशीको व्रत गर्ने सल्लाह दिनुभयो । 

महर्षि नारदले भन्नुभएको व्रत विधिबाट व्रत गरिसकेपछि ऋषि र अप्सरा दुवैजना पाप मुक्त भए । शास्त्रमा बताएअनुसार पापमोचिनी एकादशीको यो व्रत कथा पढ्ने र सुन्ने लाई १००० गोदानको फल प्राप्त हुन्छ ।