सहस्रार चक्र

सहस्रार चक्र

मानवदेहको ब्रह्मरन्ध्रको माथि महाशून्यमा सहस्रदल विशिष्ट सहस्रार चक्र विद्यमान छ । सहस्रको शाब्दिक अर्थ हजार हुन्छ भने गुणार्थमा अनन्त, असङ्ख्य भनेर पनि बुझिन्छ ।     

यो चक्रको कुनै विशेष रुप वा गुण हुँदैन । तर सम्पूर्ण रुप यसमा समाहित हुने हुनाले प्रतिकात्मक रुपमा चम्किलो सेतो वर्ण लिइएको हुन्छ । सहस्र पद्यका चारैतिर पचासदल विराजित छन् र एक अर्काेमाथि बीस–बीस स्तरमा सजिएका छन् । प्रत्येक स्तरका पचास दलमा पचास मातृकावर्ण विद्यमान छन् । सहस्रदलका कर्णिकाभित्र त्रिकोण शक्तिमण्डल विराजमान छ ।  

  
सबै नाडीहरुको उर्जा यस केन्द्रमा एक हुन्छन् । सहस्रार चक्र जागृत हुनुको अर्थ सर्वोच्च चेतनाको दर्शन हुनु हो । जसरी सूर्याेदय हुँदा सम्पूर्ण अन्धकार नष्ट हुन्छ, त्यस्तै सहस्रार चक्रको जागरणमा सबै अज्ञान हट्दछ । योगी निर्विकल्प समाधिको अवस्थामा पुग्दछ र जन्म–मृत्युको बन्धनबाट मुक्त हुन्छ । यस अवस्थामा ज्ञान, ज्ञाता र ज्ञेय एक भएर ब्रह्मसाक्षात्कार हुन्छ । 


चक्र ज्ञानमा सबैभन्दा माथिल्लो अवस्था भएको हुँदा योग्य गुरुको निर्देशनबिना यस चक्रमा ध्यान गर्न निषेधित हुन्छ ।