शुक्रबारको व्रतकथा र पूजा विधि

शुक्रबारको व्रतकथा र पूजा विधि

शुक्रबारको दिन संतोषी माताको व्रत गरिन्छ । यो व्रत गर्नाले निर्धनता, दरिद्रता नाश भई मनको कामना पूरा हुन्छ । 

शुक्रबार व्रतको पौराणिक कथा 

धेरै पहिलेको कुरा हो । एउटी बूढीका सात छोरा थिए । ती मध्ये ६ कमाउन जान्थे । बूढी ६ छोरालाई खाना बनाउँथी, भोजन गराउँथी र जुठो बचेको सातौँ छोरालाई दिन्थी । 

एक दिन सातौँ छोराले आफ्नी पत्नीसँग भन्यो – ‘मेरी आमाले मलाई कति प्रेम गर्नुहुन्छ ।’ 
पत्नीले भनी – ‘हो नि । सबैको जुठो खुवाउँछिन् ।’ 
उसले भन्यो – ‘यस्तो हुन सक्दैन । जबसम्म म आफ्नै आँखाले नदेखुँ, विश्वास गर्दिन ।’
पत्नीले भनी – ‘आफैँ हेर । अनि त थाहा हुन्छ ।’

केही दिनपछि पर्व आयो । घरमा नाना प्रकारका भोजन बन्यो । ऊ जाँच्ने उद्देश्य सहित भान्सामा नै सुत्यो । बिहान छ भाई खाना खान आए । उसले देख्यो आमाले छ छोराको निमित्त सुन्दर आसन लगाएर खुवाएकी थिइन् । सबै खाना खाएर उठेपछि आमाले उनीहरुको जुठो थालबाट बचेको लड्डु निकालेर एउटा लड्डु बनाईन् । जुठो सफा गरेर उसलाई उठाउँदै भनिन् – ‘सबै खाएर आफ्नो काममा लागिसके । तँ खाना खान उठ ।’ उसले भन्यो – ‘आमा मलाई भोक छैन । म अब विदेश जान्छु ।’ आमाले भनिन् – ‘भोली जाने भए आजै जा ।’ उसले म आजै जान्छु भनी घरबाट निस्कियो । 

विदेश गएर उसले एउटा साहुकोमा काम गर्न थाल्यो । उसको ईमान्दारिता र लगाव देखेर साहुले उसलाई आफ्नै छोराजस्तै गरेर पाल्यो र व्यापारमा नाफाको आधा हिस्सा दियो । यता उसकी पत्नीलाई घरको काम सबै गर्नुपथ्र्यो । जङ्गलमा दाउरा लिन जाने साथी पनि हुँदैनथे । एक दिन उसले बाटोको मन्दिरमा नारीहरुले पूजा गरिरहेको देखी । उसले के को पूजा गरेको भन्दा एउटीले भनी – ‘आज शुक्रबार हो । सन्तोषी माताको मन्दिरमा पूजा गरेको ।’ उसले सोधी – ‘सन्तोषी माताको पूजा कसरी गर्ने, पूजा गरेमा के हुन्छ ?’ ती नारीले सन्तोषी माताको व्रत, पूजा र व्रतफलबारे सबै बताई । उसले पनि अर्को शुक्रबारबाट सन्तोषी माताको व्रत गर्ने प्रण गरि । 

अर्काे शुक्रबार उसले मन्दिरमा गएर भनी – ‘आमा म अज्ञानी छु, व्रतको कुनै नियम थाहा छैन, म दुःखी छु । जगत जननी मेरो दुःख नाश गरिदेऊ, म तिम्रो शरणमा छु ।’ उसको व्रतको प्रभावले अर्को हप्ता नै उसलाई विदेशबाट उसको पतिको पत्र आयो, पैसा आयो, कपडा आयो । त्यो देखेर उसका जेठानीहरु डाहाले जल्न थाले । उसले मन्दिरमा गएर फेरि भनी – ‘आमा मलाई त मेरो पति चाहिएको हो । विना पति यो धन सम्पत्तिले म के गरुँ ?’ उसको प्रार्थनाको प्रभावले उसको अर्को हप्ता पति पनि आयो । पतिको अगाडि उसकी सासुले भनिन् – ‘हेर तेरो पति आएको छ । राम्रो कपडा लगा । गहना लगा ।’ उसले आमासँग सोध्यो – ‘यो को हो ?’ आमाले भनिन् – ‘यो तेरो श्रीमति हो ।’ उसकी पत्नीको अवस्था देखेर भन्यो – ‘आमा मलाई छुट्टै बस्ने व्यवस्था गरिदेऊ ।’ 

नवौँ महिनामा एउटा सुन्दर छोरो पनि जन्मियो । त्यसपछि उनीहरु सधैँ शुक्रबार सन्तोषी माताको व्रत गर्दै, पूजा आरती गर्दै, व्रतकथा सुन्दै, अरुलाई पनि सन्तोषी माताको व्रतकथाको प्रभाव सुनाउँदै आरामले बस्न थाले । 

शुक्रबारको पूजा विधिः

१) सूर्योदयभन्दा पहिला उठ्नु,
२) घर सफा गर्नु,
३) स्नानादि नित्यकर्मबाट निवृत्त हुनु,
४) घरमा कुनै पवित्र स्थानमा सन्तोषी माताको मूर्ति अथवा चित्र स्थापना गर्नु,
५) सम्पूर्ण पूजा सामग्री तथा कुनै ठूलो पात्रमा जल भरेर राख्नु,
६) जल भरिएको पात्रमा गुंड र चना भरेर अर्काे पात्र राख्नु,
७) सन्तोषी मातालाई विधि विधान सहित पूजा गर्नु,
८) सन्तोषी माताको कथा सुन्नु,
९) त्यसपछि आरती गरेर सबैलाई गुंड र चनाको प्रसाद बाँड्नु, कुनै पनि अमिलो वस्तु नछुनु, 
१०) अन्तिममा ठूलो पात्रमा भरिएको जललाई घरमा सबैतिर छर्किनु र बाँकी जल तुलसीको विरुवामा हाल्नु,
११) यसप्रकार सोह्र शुक्रबार नियमित उपवास गर्नु, अन्तिम शुक्रबार व्रत बिसर्जन गर्नु, बिसर्जनको दिन उपरोक्त विधिले सन्तोषी माताको पूजा गरी आठ बालकलाई खीर–पुरीको भोजन गराउनु तथा दक्षिणा दिएर बिदा गर्नु, अन्तिममा आफैँ भोजन गर्नु ।