बिहिबारको व्रतकथा र पूजा विधि

बिहिबारको व्रतकथा र पूजा विधि

बिहिबार व्रत गर्नाले वृहस्पति देवता प्रसन्न हुन्छन् । अग्निपुराण अनुसार अनुराधा नक्षत्रयुक्त बिहिबारबाट सुरु गरेर सात बिहिबार व्रत गर्नाले वृहस्पति ग्रहको सबै पीडाबाट मुक्ति मिल्दछ । 

बिहिबार व्रतको पौराणिक कथा 

धेरै पहिलेको कुरा हो । एउटा नगरमा एक जना ठूलो व्यापारी बस्दथ्यो । ऊ जहाजमा मालसमान हालेर विदेशमा पठाउँथ्यो । ऊ जसरी धन कमाउँथ्यो, त्यसरी खुलेर दान पनि गर्दथ्यो । तर उसकी पत्नी भने अत्यन्त लोभी थिई । ऊ कसैलाई एक पैसा पनि दिन चाहन्नथी । 

एक पटकको कुरा हो । जब व्यापारी व्यापारको सिलसिलामा विदेश गएको थियो, वृहस्पति देव साधु भेष धारण गरेर उसकी पत्नीसँग भिक्षा माग्न पुगे । व्यापारीकी पत्नीले वृहस्पतिदेवसँग भनी – ‘म यो दान पुण्यबाट हैरान भएकी छु । तपाईँ कृपा गरेर यस्तो उपाय भनिदिनुहोस् जसबाट मेरो यो सबै धन नष्ट होस् र म आराम गर्न सकुँ । म यो धन दानमा गएको देख्न नसक्ने भएकी छु ।’

वृहस्पति देव पत्नीको मूर्खतापूर्ण कुरा सुनेर सम्झाउन थाले – ‘तिमी त विचित्र स्वभावकी रहिछौ । सन्तान र धनबाट पनि कोही दुःखी हुन्छन् त ? यदि धेरै धन छ भनी शुभ कार्यमा लगाउनुपर्छ । यस्तो पुण्य कार्य गरेमा तिम्रो यो लोक र परलोक दुवै सार्थक हुन्छ ।’ साधुको कुरा सुनेर पत्नीले जवाफ दिई – ‘मलाई यस्तो अरुलाई दान दिनलाई आर्जन गरेको धन कुनै आवश्यकता छैन ।’

त्यसपछि वृहस्पति देव भन्छन् – ‘यदि तिम्रो यस्तै विचार छ भने मैले भनेको गर । सात बिहिबार घर गोबरले लिप्नु, आफ्नो कपाल पहेँलो माटोले धुनु, भोजनमा मासु र मदिरा सेवन गर्नु.............. । यस्तो गर्नाले तिम्रो सम्पूर्ण धन नष्ट हुन्छ ।’

व्यापारीकी पत्नीले वृहस्पति देवले भनेजस्तै गर्न थाली । मात्र तीन बिहिबार भएको थियो, उसको सम्पूर्ण धन–सम्पत्ति नष्ट भयो र ऊ परलोक प्रस्थान गरी । जब व्यापारी फर्केर आयो तब उसले देख्यो कि उसको सबै सम्पत्ति नष्ट भएको थियो । व्यापारीले आफ्नी छोरीलाई सान्त्वना दियो र उसलाई लिएर अर्काे नगरमा गएर जङ्गलबाट काठ ल्याएर बेच्दै जीविका चलाउन थाल्यो । 

एक दिन उसकी छोरीले दही खाने ईच्छा गरी । तर व्यापारीसँग दही किनेर खुवाउने पैसा पनि थिएन । ऊ आफ्नी छोरीलाई आश्वासन दिएर जङ्गलमा दाउरा बटुल्न गयो । त्यहाँ ऊ एउटा रुखमुनि बसेर आफ्नो बिगतबारे सम्झेर रुन थाल्यो । त्यस दिन बिहिबार थियो । त्यही समयमा वृहस्पति देव साधुको भेषमा व्यापरी सामुन्ने आए र भन्न थाले – ‘हे मनुष्य ! तिमी यस जङ्गलमा कुन चिन्ताले बसेका छौ ?’

व्यापारीले आफ्नो दुःखदायी कथा साधुलाई सुनायो । साधुले व्यापारीको कथा सुनेर भने – ‘तिम्रो पत्नीले वृहस्पति देवको अपमान गरेको थिई, त्यसैले तिम्रो अवस्था यस्तो भएको हो । अब तिमी कुनै चिन्ता नगर । तिमी बिहिबारको दिन वृहस्पति देवको पाठ गर ।’ व्यापारीले भन्यो – ‘मसँग यति पैसा छैन कि म विधि विधानसहित व्रत गरुँ ।’ साधुले व्यापारीलाई काठ–दाउरा सहरमा लगेर बेच्न सुझाव दिए । अर्को दिन उसले सहरमा गएर बेच्दा पहिला भन्दा मनग्गे आम्दानी भयो । त्यसबाट प्राप्त पैसाले उसले छोरीलाई दही पनि खुवायो र वृहस्पतिदेवको पाठ पनि गर्यो । 

तर जब उसको सबै समस्याहरु बिस्तारै समाधान हुँदै गए, उसले वृहस्पति देवको व्रत गर्न बिर्सियो । अर्काे दिन राजाको दरबारमा सबै जनतालाई भोजनको निमित्त निम्ता थियो । ऊ र उसकी छोरी अलिक ढिला गरि पुगेको हुनाले राजाले उनीहरुलाई आफूले खाने भान्सामा नै लगेर खुवायो । तर भाग्यको खेल, त्यही समय रानीको नजर उनको हार राखेको ठाउँमा गयो । त्यहाँ हार थिएन । अरु कोही नआएको हुनाले राजाले व्यापारी र उसकी छोरीलाई शङ्का गरेर जेलमा हाल्ने निर्देशन दिए । 

व्यापारी आफ्नो भाग्य सम्झेर साह्रै रोयो । उसले आफूलाई पहिला अप्ठ्यारो पर्दा वृहस्पति देवले सहयोग गरेको सम्झियो । उसले आफूले सहज अवस्था भएपछि वृहस्पति देवको व्रत पूजा नगरेको भूल महसुस गर्यो । उसले जेलभित्र नै वृहस्पति देवको व्रत गर्यो । त्यही रात राजाको सपनामा वृहस्पति देव आएर भने – ‘राजन ! तिमीले कैदी बनाएको व्यापारी र उसकी छोरी निर्दाेष छन् । रानीको हार पहिलाकै अवस्थामा छ ।’ अर्को दिन बिहान हार पहिला भएकै ठाउँमा भेटियो । राजाले व्यापारी र उसकी छोरीसँग माफी मागेर उनीहरुलाई प्रशस्त धन–धान्यसहित पठाए । यसरी फेरी पनि वृहस्पतिदेवले समस्या समाधान गरिदिएकोमा व्यापारी अत्यन्त प्रशन्न भएर सधैँ वृहस्पतिको व्रत कथा, पूजा गर्ने अठोट सहित आफ्नो नगरमा गयो । 

बिहिबारको पूजा विधिः

१) अग्नि पुराण अनुसार बिहिबारको व्रत अनुराधा नक्षत्रयुक्त बिहिबारबाट शुरु गरेर लगातार सात बिहिबार गर्नुपर्दछ,
२) यस दिन बिहान सूर्याेदयभन्दा पहिला उठेर स्नानादि नित्यकर्म गर्नुपर्दछ,
३) भगवान विष्णुको ध्यान गरेर व्रतको सङ्कल्प लिनुपर्दछ,
४) वृहस्पति देवको ध्यान गर्नुपर्दछ,
५) पहेँलो कपडा लगाउनुपर्दछ र पहेँलो फलफूलले वृहस्पति देव र भगवान विष्णुको पूजा गर्नुपर्दछ,
६) पूजा पछि कथा सुन्नुपर्दछ,
७) प्रसादको रुपमा केरा चढाउनु शुभ मानिन्छ तर ती केरालाई दानको रुपमा दिनुपर्दछ,
८) साँझको समय बिहिबारको कथा सुन्नुपर्दछ र मान्यता अनुसार यस दिन एक पटक नुन विनाको पहेँलो भोजन गर्नुपर्दछ,
९) भोजनमा चनाको दाल पनि प्रयोग गर्न सकिन्छ ।