अध्याय ३ श्लाेक ५ भगवद् गीता

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ३-५॥

अर्थात्ः

केही न केही कर्म नगरी कुनैपनि मानिस शान्त भएर एकछिन पनि बस्न सक्दैन । कर्म गर्दिन भनेपनि प्रकृतिको गुण अनुसार स्वतः रुपमा कर्म भैरहेको हुन्छ ।

उठ्नु, बस्नु, खानु, पिउनु, सुत्नु, जाग्नु, सोच्नु, मनन गर्नु, ध्यान गर्नु, समाधिस्त हुनु – यी सबै कर्म अन्तर्गत नै पर्दछन् । त्यसैले जबसम्म शरीर रहन्छ, तबसम्म मनुष्यले केही न केही कार्य गरेकै हुन्छ । कोही पनि मनुष्य एक क्षणको लागि पनि कर्मलाई त्याग गर्न सक्दैन । ती कार्यमा कर्तापनको भाव नहुनुलाई नै त्याग भनिन्छ । 
मनुष्यले ‘त्याग’ भनेर कर्तव्यकर्मलाई त्याग गर्न खोज्दछ । त्यसो गर्दा इन्द्रियले मनलाई विचलित गराई दुष्कर्मतर्फ प्रेरित गर्दछ । आत्मज्ञानको अभावका कारण र प्रारब्ध कर्मको संस्कारको कारण मनुष्य ‘स्वधर्म’मा स्थित हुन सक्दैन जसले गर्दा अधोगतितर्फ लाग्दछ र अपनाएको साधनामा नै वितृष्णा उत्पन्न हुन्छ । त्यसैले कर्तापनको त्याग गरी धर्म निर्देशित कर्तव्यकर्म गर्नुपर्दछ ।