अध्याय ४ श्लाेक ४१ भगवद् गीता

योगसंन्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ॥ ४-४१॥

 अर्थातः

हे धनञ्जय ! योगद्वारा कर्महरुको त्याग, ज्ञानद्वारा शंका निवारण भएपछि आत्मामा स्थित महात्माको लागि कुनै कर्मले बन्धन बनाउँदैन ।

योगमा रत स्वरुप परायण मनुष्यको ध्येय लोकसेवामा नै केन्द्रित हुन्छ । उनीहरुले इन्द्रिय, मन, बुद्धिलाई आफ्नो स्वार्थको लागि किञ्चित प्रयोग गर्दैनन् । भगवानले त धर्तीमा धर्मको नाश भएको बेला धर्म रक्षाको निमित्त अवतार लिएर आउनुपर्छ भने धर्तीमा नै भएका र ज्ञान प्राप्त गरिसकेका महात्माहरुले धर्म रक्षाको निमित्त कर्म गर्नुपर्छ । कर्म स्वरुपमा नै बन्धनबारक नभएको र कर्ममा फलेच्छा, ममता, आसक्ति र कर्तृत्वाभिमानले बन्धन उत्पन्न गराउँछ भन्ने ज्ञानीजनले बुझेका हुन्छन् । यस्ता महापुरुषहरुलाई त्यसैले कर्म गर्दागर्दै पनि कर्मले बाँध्दैन । उनीहरुले कर्मबाट उत्पन्न सम्पूर्ण परिणामहरुलाई परमात्मामा समर्पण गरिसकेका हुन्छन् र त्यसकारण कर्मलफलले पनि उनीहरुलाई सुखी वा दुःखी बनाउँदैन ।