विचारद्वारा रोग निवृत्ति

विचारद्वारा रोग निवृत्ति

विचारहरुको बलबाट नै रोगहरुको वृद्धि र निवृत्ति पनि हुन सक्छ । उपर्युक्त रीतिबाट विचारहरुद्वारा जसरी दरिद्रता दूर गरिन्छ उस्तै गरी नाना प्रकारको रोग पनि विचारहरुबाट दूर गर्न सकिन्छ । यसलाई रोग निवृत्तिको उपाय पनि मान्नु पर्दछ किनभने जगतमा प्रायः सबै नै मानिस रोगग्रस्त हुन जान्छन् । यसमा कुनै रोग त सामान्य औषधीले र कुनै स्वतः नै निवृत्ति भैरहेछन् । रोग उत्पन्न गर्नु र नष्ट गर्नु हाम्रो नै हातमा छ किनभने ईश्वरको इच्छा छ सब जीव निरोगी र सुखी रहून् । रोग मानिसको भूलले नै हुन्छ त्यसैले सर्वप्रथम भूललाई सुधार्नु पर्दछ । त्यसको उपाय केवल आरोग्यताको विचार नै हो । जब घरमा छोरा–छोरी बिरामी हुन्छन् तब नारीहरु रोग र भयको विचार धेरै गर्दछन् र उनका विचारबाट नै छोराछोरी पनि मर्दछन् । मैले आफैँले देखेको छु नारीहरु छोरा छोरीहरुलाई रोगबाट बचाउनका लागि जति उपाय गर्दछन्, छोरा–छोरी उत्ति नै चाँडो मर्दैछन् । यसको कारण केवल उनका विचार नै हुन् । ती सदा कस्तो विचार गर्दछन्, भने फलानी स्त्रीका चार छोरा दुई वर्ष बीचमा मरे । अब पाँचौँ भएको छ जसको ऊ खुबै हेरचाह राख्दछे तैपनि त्यो धेरै क्षीण भैसक्यो, बाँच्ने आशा छैन, डाक्टरले जवाफ दिइसकेको छ । यहाँ विचार गर्नु पर्ने कुरा के छ भने त्यो छोरो पनि हप्ता दिनमा मर्यो । यदि यो सारा विचारहरुको नै प्रभाव हो भने यस्तो किन हुन्छ ? यस्तो तर्क–वितर्क गर्ने धेरै छन् । आफ्ना छोरा–छोरी बाँचिरहून् भन्ने सबै आमाले चाहन्छन् । यस विचारमा जति बल छ त्यसभन्दा धेरै बल अति स्नेह गर्ने अज्ञानी माताहरुमाथि मलिन विचारहरुको हुन्छ । ती आफ्ना बालकका लागि आफ्नो मनमा सधैँ के डर लिइरहन्छन् भने उसलाई कहीँ कुनै रोग नलागोस्, कहीँ नलडा्स्, कसैले कहीँ उडाई नलैजाओस् । टोलमा खेलिरहन्छ कहीँ कुकुरले नटोकोस्, यो बिरामी छ, यसको रोग मेटिने हो वा होइन, कसैको नजर नलागोस् । यदि मरे म के गरौँला यस्ता भयका विचार नै सदा तिनको आँखा अगाडि नाचिरहेका हुन्छन् । यी विचारहरुद्वारा माताहरु केटा–केटीलाई बिरामी गराइदिन्छन् । रोगका लागि ती बाहिरी उपायहरु त गर्दछन् तर हृदय बिग्रको हुनाले बाहिरी उपाय किञ्चित् पनि लाभकारी हुँदैन किनभने बालकहरुलाई राम्रो गर्नका लागि जति विचार ती गर्दछन् त्यसबाट बालक झन् बिरामी हुन्छन् । स्मरण रहोस् – जहाँ परस्पर विरोधी विचारहरुको जम्काभेट हुन्छ, उहाँ दुबैको बल घट्दछ । तिनमा जो बलवान् छ उसैको जय हुन्छ । जस्तो धेरै दूधमा अलिकति पनि अमिलो पर्यो भने दूध फाट्दछ उस्तै धेरै राम्रा विचारहरुलाई पनि अलिकति नराम्रा विचारले बिगारिदिन्छन् र असल विचारहरुको बल कम हुन जान्छ । त्यसैले आमाका राम्रा विचार कम हुनाले निर्बल हुने र नराम्रा विचार धेरै र बलवान हुनाले बालकहरु बिरामी हुन्छन् र मर्दछन् । त्यसैले यदि बालकहरुलाई निरोग र चिरञ्जीवी राख्नु छ भने सदैव शुभ विचार गर्नुपर्दछ । 

(खप्तड बाबाको पुस्तक ‘विचार विज्ञान’बाट साभार)