कथा: चिन्तन

कथा: चिन्तन
एक गृहस्थ साधक गुरुसँग आफ्नो दुःख बिसाउन गए । दुःख यो थियो कि ध्यान अभ्यासको बेलामा मन एकत्रित रहनुको सट्टा दिनभरीका विभिन्न उल्झनमा लागिरहन्छ । गुरुले निर्देश गर्नुभएको साधनामा टिकाउन साह्रै गाह्रो हुन्छ । गुरुले एकछिन विचार गर्नुभयो र उक्त शिष्यलाई दश दिन जति आश्रममा नै बस्न निर्देशन गर्नुभयो । गुरुको आज्ञा शिरोपर गरी शिष्य पनि आश्रममा नै बस्न थाले । फेरी गुरुले शिष्यलाई एउटा कुकुर ल्याउर पालनपोषण गर्न आज्ञा गर्नुभयो । गुरुले भन्नुभए अनुरुप शिष्यले पनि एउटा कुकुर ल्याएर पालनपोषण गर्न थाले । 

साधकले हरेक दिन बडो स्नेहपूर्वक कुकुरको सेवा गरे । एक हप्ता यसरी नै बित्यो । आठौँ दिनमा गुरुले शिष्यलाई उक्त कुकुरलाई केही पर लगेर छोड्न निर्देश गर्नुभयो । केही दिन पालनपोषण गरेको कुकुरलाई छोड्न शिष्यलाई मन भएन तर पनि गुरुको आज्ञा भएपछि छोड्नु नै पर्याे । उनले आश्रमको परिसरभन्दा केही पर लगेर कुकुरलाई छोडेर आश्रममा आईपुगे । 

त्यसपछि गुरुसँग यो अवस्थाको रहस्य बुझ्न निवेदन गरे । शिष्यले कुकुरलाई आश्रम परिसर बाहिर छोडेर आएको पनि जानकारी गराए । गुरुले आश्रममा कुकुर आईपुगेको छ कि हेरेर आउन निर्देश गर्नुभयो । शिष्यले कक्ष बाहिर हेर्दा त कुकुर स्नेही भएर पुच्छर हल्लाएर बसिरहेको देखे । उनलाई कुकुर देख्दा माया लागेर आयो । 

गुरुले आज्ञा गर्नुभयो – ‘हेर ! जसरी तिमीले पालनपोषण गरेको कुकुर केही समयपछि तिम्रै पछि लाग्दछ, त्यसरी तिमीले दिनभरी पालनपोषण गरेका विचारहरुलाई तिमीले ध्यानको समयमा छोड्न खोज्यौ । तर ति विचारहरु तिमीलाई पछ्याएर आउँछन् । जसरी तिमीलाई केही दिनमा नै कुकुरसँग तादात्म्य भयो, त्यसैगरी तिमीलाई विचारहरुसँग तादात्म्य भएको हुन्छ । त्यसैले जुन कुरा श्रेष्ठ लाग्दछ र जसको चिन्तन आवश्यक हो, त्यही दिनभरी चिन्तन गर्नुपर्छ । अन्य कार्यको फलमा चिन्ता नगरी कर्ममा निरन्तर लाग्नुपर्छ ।’  

  
यसरी हामी पनि मायाजालमा फसेर रातदिन नश्वर वस्तुको चिन्तन गरिरहेका हुन्छौँ । जे चिन्तन गर्छाैँ, त्यो पछि चिन्ताको विषय बन्छ र साधनाको समयमा पनि दुःख दिन्छ । त्यसैले नश्वरलाई छोडेर हर कार्य गर्दा ईश्वरको चिन्तन गरेमा नै हाम्रो साधना फलिभूत हुन्छ ।