अध्याय २ श्लाेक १५ भगवद् गीता

 

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ |
समदु:खसुखं धीरं सोऽमृतत्वाय कल्पते
।।२।१५।।

अर्थातः
दुःखसुखलाई समान सम्झने जो धीर पुरुषलाई यी इन्द्रिय र विषयहरुको संयोगले व्याकुल गर्दैन, उनीहरु नै मोक्षको लागि योग्य हुन्छन् । 

यस श्लोकमा भगवान श्रीकृष्ण अर्जुनलाई मोक्ष प्राप्त गर्नको निमित्त इन्द्रियहरुको साथमा विषयहरुको संयोगले जो पुरुषलाई व्याकुल गर्दैन, ऊ नै मोक्षको लागि योग्य हुन्छ भनेर भन्नुभएको छ । पुरुषहरुमा जो अधिक शूरवीर एवं बलवान् हुन्छन्, तिनलाई ‘पुरुषर्षभ’ भनिन्छ । भगवानले अर्जुनलाई पुरुषर्षभ सम्बोधन गर्दै भन्नुभएको छ – ‘तिमी शूरवीर छौ, सहनशील छौ, धीर पनि छौ । त्यसैले दुःखसुखको द्वन्द्वलाई अनित्य सम्झिएर र विषयहरुको संयोग–वियोगमा राग–द्वेष वा हर्ष–शोक नगरेर निरन्तर अभ्यास गर्यौ भने इन्द्रियहरुको कुनै पनि भोगसँगको संयोगले कुनै पनि प्रकारले व्याकुल गर्दैन, अर्थात कुनै पनि प्रकारको विकार उत्पन्न गर्दैन र तिमी मोक्षको लागि योग्य हुन्छौ ।’