शनिबारको व्रतकथा र पूजा विधि


शनिबारको व्रतकथा र पूजा विधि

शनि व्रत गर्नाले तथा शनि स्तोत्र पाठले मनुष्यको जीवनमा धन, सम्पत्ति, सामाजिक सम्मान र बुद्धिको विकास हुन्छ । 

शनिबार व्रतको पौराणिक कथा

एक समय स्वर्गलोकमा ग्रहहरुको बिचमा ‘सबैभन्दा ठूलो को ?’ भन्ने विवाद भयो । विवाद धेरै नै भएपछि ग्रहहरु निर्णयको लागि देवराज ईन्द्रकोमा पुगे । ईन्द्रले भने – ‘म यस प्रश्नको उत्तर दिन असमर्थ छु । हामी सबै पृथ्वीलोकमा उज्जयिनी नगरको राजा विक्रमादित्यकोमा जाउँ । 

राजा विक्रमादित्यलाई पनि ग्रहहरुमा सबैभन्दा ठूलो को भनेर भन्न साह्रै गाह्रो भयो । उनले एउटा जुक्ति निकाले । उनले विभिन्न धातुहरु सुन, चाँदी, कांस, तामा, सीसा, फलाम आदि विभिन्न नौ धातुको आसन बनाए । धातुहरुको गुण अनुसार उनले सबै आसनलाई एक पछि अर्काे गरेर राखे र देवताहरुलाई आ–आफ्नो आसनमा बस्न आग्रह गरे । 

देवताहरु बसेपछि राजा विक्रमादित्यले भने – ‘तपाईँहरुको निर्णय त स्वयं भयो । जो सबैभन्दा अगाडि सिंहासनमा विराजमान छ, ऊ नै सबैभन्दा ठूलो भयो ।’ राजा विक्रमादित्यको निर्णय सुनेर शनि देवता आफ्नो फलामको आसन राजाले जानीजानी अन्तिममा राखेको र आफूलाई सानो बनाएको भनेर क्रोधित हुँदै भने – ‘राजा विक्रमादित्य ! तिमीले मलाई सबैभन्दा पछाडि बसाएर मेरो अपमान गरेका छौ । तिमी मेरो शक्तिसँग परिचित छैनौ । म तिम्रो सर्वनाश गर्दिन्छु ।’

शनिले भने – ‘सूर्य एक राशिमा एक महिना, चन्द्रमा दुई–अढाई दिन, मंगल डेढ महिना, बुध र शुक्र एक महिना, वृहस्पति तेह्र महिना बस्छन्, तर म कुनै पनि राशिमा साढे दुई वर्ष बस्दछु । ठूला ठूला देवताहरु त मेरो प्रकोपले पिडित छन् ।’ यति शनिले भने पनि राजाले सबैले आफ्नो कर्मको फल भोग्नुपर्दछ भन्दै उनको वचनलाई वेवास्ता गरे । 

राजा विक्रमादित्य पहिलाको जस्तै राज्य सञ्चालन गर्दै रहे । उनको राज्यमा सबै स्त्री–पुरुष एकदम आनन्दसहित जीवन यापन गर्दै थिए । केही समय यस्तै चलिरह्यो । अनि राजाको शनिको दशा सुरु भयो ।

राजासँग बदला लिने उद्देश्यले शनिले घोडको व्यापारीको रुपमा धेरै घोडाको साथमा उनको राज्यमा घोडा बेच्न आए । राजाले व्यापारीले ल्याएका घोडामध्ये सबैभन्दा उत्तम केही घोडा किने । केही दिनपछि किनेका मध्ये पनि सबैभन्दा राम्रो घोडा लिएर उनी घुम्न निस्किए । त्यो घोडा यति जोडले दौडिएको थियो कि राजाले त्यसलाई रोक्न सकेनन् । घोडाले उनलाई एउटा घना जङ्गलमा लगेर फालिदियो र त्यहाँबाट अन्तध्र्यान भयो । 

राजा आफ्नो नगरमा फर्किनको लागि यता उता भौतारिरहे । उनलाई भोक–प्यासले सतायो । धेरै घुमिसकेपछि उनले एउटा गोठालोलाई भेटे । उनले गोठालोसँग पानी मागे । पानी खाएर आफूसँग भएको औँठी दिएर बाटो सोधी उनी नजिकैको नगरमा पुगे । 

राजा एउटा व्यापारीको पसलमा केही बेर आराम गरे । त्यस व्यापारीसँग कुरा हुँदा उनले आफू उज्जयनी नगरबाट आएको बताए । राजा त्यहाँ केहीबेर बस्दा त्यो व्यापारीको धेरै बिक्रि भयो । व्यापारीले राजालाई भाग्यमानी सम्झेर उनलाई आफ्नो घरमा भोजनको लागि लिएर गए । व्यापारीको घरमा एउटा सुनको हार राखिएको थियो । राजालाई त्यही छोडेर केही बेरको लागि व्यापारी बाहिर निस्किए । 

व्यापारी घर फर्किदा त उनको हार राखेको ठाउँमा थिएन । त्यहाँ त्यस समय अरु कोही नआएको हुनाले व्यापारीले विक्रमादित्यलाई चोर ठानेर त्यस नगरको राजाको सामुन्ने लिएर गए । त्यस नगरका राजाले विक्रमादित्यलाई हारको बारेमा सोधे । उनले आफूलाई हारको बारेमा जानकारी नभएको बताए । तर विक्रमादित्यको कुरा कसैले पत्याएन र उनको हात खुट्टा दुवै काट्ने आदेश दिए । उनको हात खुट्टा दुवै काटेर सडकमा छोडिदिए । 

केही दिन पछि एक तेली उसलाई उठाएर आफ्नो घर लिएर गयो र उनलाई मिलमा आवाज दिएर चलाउन आदेश दियो । यसरी राजलाई काम गरेर खाने बाटो मिल्यो । 

राजाको शनिको प्रकोपको साढे साती सकिनासाथ वर्षा ऋतु प्रारम्भ भयो । राजा विक्रमादित्य एक रात मेघ मल्हार गाईरहेका थिए, त्यही बेलामा नगरको राजाकी छोरी मोहिनी रथमा त्यही तेलीको घरको छेउबाट जाँदै थिई । उसलाई मेघ मल्हर राम्रो लागेर दासीलाई गायकलाई ल्याउनु भनी आदेश दिई । दासीले राजाको अपाङ्गताबारे सबै भई । तर पनि राजकुमारीले त्यस अपाङ्ग राजासँग विवाह गर्ने निर्णय लिई । 

राजकुमारीले आफ्ना आमाबाबुसँग यो कुरा बताउँदा उनीहरु पागल जस्ता भए । उनीहरुले उसलाई निकै सम्झाए तर पनि ऊ मानिन । उसले विवाह नगरिदिए प्राण त्याग गर्ने अठोट गरी । आखिर राजारानी विवश भएर अपाङ्ग विक्रमादित्यसँग राजकुमारीको विवाह गरिदिए । विवाह पछि राजा विक्रमादित्य र राजकुमारी मोहिनी तेलीकै घरमा बस्न थाले । त्यसै रात शनिदेव राजाको सपनामा आएर भने – ‘राजा तिमीले मेरो प्रकोप देख्यौ होला । मैले तिमीले गरेको अपमानको दण्ड दिएको हुँ ।’ राजाले शनिदेवसँग माफी माग्दै भने – ‘हे शनिदेव ! मैले मूर्खतावश तपाईँलाई अपमान गरेँ । मलाई जस्तो दुःख अरु कसैलाई नदिनुहोला ।’ शनिदेवले भने – ‘म तिम्रो प्रार्थना स्वीकार गर्दछु । जो कोही स्त्री–पुरुष मेरो पूजा गर्दछन्, शनिबारको व्रत गरेर मेरो कथा सुन्दछन्, उनीहरुमा मेरो कृपा रहन्छ ।’

बिहान उठ्दा त विक्रमादित्यको हात खुट्टा दुवै सबल थिए । त्यो देखेर उनी अत्यन्त खुशी भई सपनाको र आफ्नो सम्पूर्ण वृतान्त सबैलाई सुनाए । राजकुमारी पनि पतिको हात खुट्टा राम्रो देखेर खुशी भई । यता व्यापारीले यो कुरा थाहा पाएर राजासँग माफी माग्न आयो र फेरि भोजनको निमित्त निम्ता दियो । राजा व्यापारीको घरमा खाना खाईसकेपछि व्यापारी आफ्नो कोठामा गएर हेर्दा त पहिलेकै ठाउँमा सुनको हार देखियो । उसले आफ्नी छोरीको विवाह पनि राजासँग गरायो र धेरै धन सम्पत्ति दिएर बिदा गर्यो । 

राजा विक्रमादित्य राजकुमारी मोहिनी र व्यापारीकी छोरीसँग उज्जयिनी पुग्दा नगरवासीहरु हर्षले उनीहरुलाई स्वागत गरे । अर्काे दिन राजाले सबै नगरमा घोषणा गरे कि शनि देव नै सबै देवहरुमा श्रेष्ठ हुनुहुन्छ । प्रत्येक स्त्री–पुरुषले शनिबार उनको व्रत गर्नुपर्दछ र व्रतकथा सुन्नुपर्दछ भनी आदेश दिए । 

राजा विक्रमादित्यको घोषणाले शनिदेव खुशी भए । शनिबारको व्रत गर्नाले र व्रतकथा सुन्नाले नगरका सबैको मनोकामना पूरा हुन थाल्यो । सबै नगरवासी आनन्दपूर्वक बस्न थाले । 

शनिबारको पूजा विधिः

१) ब्रह्म मुहुर्तमा उठेर स्नानादि नित्य कार्यबाट निवृत्त हुनु,
२) त्यसपछि पीपलको बोटमा जल अर्पण गर्नु,
३) फलामले बनेको शनिदेवको मूर्तिलाई पञ्चामृतले स्नान गराउनु,
४) त्यसपछि त्यस मूर्तिलाई चामलले बनेको चौबीस दलको कमलमा स्थापित गर्नु,
५) कालो तिल, फूल, धुप, कालो कपडा र तेल आदिले पूजा गर्नु,
६) पूजाको समय शनिको यी दश नाम उच्चारण गर्नुः कोणस्थ, कृष्ण, पिप्पला, सौरि, यम, पिंगलो, रोद्रोतको, बभ्रु, मंद, शनैश्चर ।
७) पूजापछि पीपलको बोटमा सूतको धोगोले सात परिक्रमा गर्नु,
८) त्यसपछि निम्न मन्त्रले शनिदेवको प्रार्थना गर्नुः

       शनैश्चर नमस्तुभ्यं नमस्थे त्वथ राहवे ।
       केतवेअथ नमस्तुभ्यं सर्वशांतिप्रदो भव ।।

९) यस प्रकार शनिदेवको व्रत गर्दै शनिको प्रकोपको लागि शनि मंत्रको समिधामा, राहुको कुदृष्टिबाट सुरक्षाको लागि दुवोको समिधामा, केतुको सुरक्षाको लागि कुशको समिधामा, कृष्ण जौ, कालो तिलले १०८ आहुति प्रत्येकको लागि दिनुपर्छ,
१०) आफ्नो क्षमता अनुसार ब्राह्मणलाई भोजन गराउनु तथा फलामको पदार्थ, धन आदि दान गर्नु, यसरी शनिको व्रत बस्नाले दुर्भाग्यलाई पनि सौभाग्यमा परिणत गर्न सकिन्छ र हरेक विपत्तिबाट बच्न सकिन्छ ।