मूलाधार चक्र

मूलाधार चक्र

मानवदेहको गुह्यदेखि दुई अङ्गुल माथि र लिङ्गमूलदेखि दुई अङ्गुल तल चार अङ्गुल विस्तृत जुन योनिमण्डल विद्यमान छ, त्यहाँ मूलाधार चक्र विद्यमान छ । मूलको अर्थ जरा र आधारको अर्थ स्तम्भ हुन्छ । यसरी नामबाट नै मूलाधारको अर्थ सम्पूर्ण चक्र प्रणालीको आधार चक्र भनेर बुझ्न सकिन्छ । यो मानव देहको आधार स्वरुप पनि भएको हुनाले यसको अर्काे नाम आधारपद्म हो । 

यो चक्र रक्तवर्णको र चतुर्दल विशिष्ट छ जसका चार पाँखुरीहरुमा वं, शं, षं, सं चार वर्णहरु अवस्थित छन् । यस चक्रको सम्बन्ध अवचेतन मनसँग पनि भएको हुनाले यी चार वर्णले अन्तःकरणका चार भाग मन, बुद्धि, चित्त र अहंकारलाई पनि प्रतिनिधित्व गर्छन् । यी वर्णहरुको रङ्ग सुनजस्तो पहेँलो छ । यस पद्ममा कर्णिकाको बिचमा अष्टशूल शोभित चतुष्कोण पृथ्वी मण्डल छ जहाँ पृथ्वीबीज लं विद्यमान छ । त्यहाँ पृथ्वीबीजका प्रतिपाद्य इन्द्रदेव विराजित हुनुहुन्छ । चतुर्भुज ब्रह्मा पनि हुनुहुन्छ र डाकिनी शक्ति पनि विराजित हुनुहुन्छ । यस चक्रमा गणेश भगवानको पनि ध्यान गरिन्छ । 

मूलाधार चक्रले शारीरिक रुपमा काम वासनालाई, मानसिक रुपमा स्थायित्वलाई, भावनात्मक रुपमा ईन्द्रियसुखलाई र अध्यात्मिक रुपमा आत्मसंरक्षणलाई प्रतिनिधित्व गर्दछ । मूलाधार पद्मको रातो रङ्गले उर्जा, गति, जागृति र विकास दर्शाउँछ र यस चक्र संतुलित हुँदा खुशी, संतोष र आनन्द अनुभव हुन्छ । ध्यान, जपका साथसाथै यस चक्रलाई संतुलित राख्नको निमित्त स्वष्तिकासन, पश्चिमोत्तानासन, कपालभाँति, उत्तानासन, मलासन, सुखासन, बलासन आदि आसनहरु गर्न सकिन्छ ।