अध्याय २ श्लाेक २४ भगवद् गीता

अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्य: सर्वगत: स्थाणुरचलोऽयं सनातन:
।।२।२४।।

अर्थातः

यो आत्मा नटुक्रिने, नजल्ने, नगल्ने, नसुक्ने भएकोले यसलाई नित्य सर्वगत, स्थाणु, स्थिर र सनातन आदि विशेषण दिइन्छ । 

आत्मा अखण्ड, अव्यक्त, एकरस र निर्विकार तत्व हो । त्यसैले आत्माको नाश सम्भव छैन । यस श्लोकमा भगवानले ‘नित्य, सर्वगत र सनातन’ भनेर आत्मा आकाशभन्दा पनि सूक्ष्म तत्व हो भन्नुभएको छ । आकाश अन्य चार महाभूतको कारण हो र सबैमा व्याप्त पनि छ तर महाप्रलयमा आकाशको नाश हुन्छ । तर आत्माको कहिल्यै नाश हुँदैन । त्यसैले आत्मालाई ‘नित्य’ विशेषणले सम्बोधन गर्नुभएको छ । त्यस्तै आकाश सर्वव्यापी छैन, केवल आफ्नो कार्यक्षेत्रमा व्याप्त छ, तर आत्मा सर्वव्यापी छ । आकाश सनातन, सधैँ रहनेवाला वा अनादि छैन तर आत्मा सनातन हो । यसप्रकार आकाशभन्दा आत्माको अत्यन्त विलक्षणता देखाउनुभएको छ । त्यस्तै ‘स्थाणु’ र ‘अचल’ शब्द प्रयोग गरेर भगवानले आत्मामा ‘चल्नु’ र ‘हल्लिनु’ यी दुई क्रियाहरुको पनि अभाव भएको बताउनुभएको छ । आत्मा सर्वव्यापी भएका कारण ऊबाट भिन्न कुनै स्थान छैन ।