अध्याय २ श्लाेक ६० भगवद् गीता

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित: |
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन: ।।२।६०।।

अर्थातः

यदि जबरजस्ति इन्द्रियहरुलाई दमन गरियो भने त्यस्तो पुरुषको मनलई इन्द्रियहरुले हरण गर्छन् र विषयाभिमुखि बनाउँछन् । 

जबसम्म मनुष्यको विषयमा आसक्ति रहन्छ, तबसम्म त्यो आसक्तिको कारणले इन्द्रियहरुले बलपूर्वक विषयमा प्रवृत्त गराईरहन्छन्, जसकारण मनसहित बुद्धि परमात्माको स्वरुपमा स्थित हुँदैन, यहाँ ‘प्रमाथीनि’ शब्द प्रयोग गरेर भगवानले जबसम्म इन्द्रियलाई वशमा गर्न सकिँदैन, तबसम्म आसक्ति रहिरहन्छ र इन्द्रियले मनलाई बारम्बार विषयसुखमा तानिरहन्छ भन्नुभएको छ । 
शास्त्रको श्रवण–मनन गर्ने र विवेक–विचारले विषयहरुमा दोष देख्ने बुद्धिमान साधकलाई त आसक्ति नाश नभएका कारण इन्द्रियहरुले विषयतिर खिचिरहन्छन् भने साधारण मनुष्यको अवस्था के हुन्छ होला । त्यसैले स्थितप्रज्ञ अवस्था प्राप्त गर्न चाहने साधकले आसक्तिलाई त्याग गरेर इन्द्रियलाई वशमा राख्ने प्रयत्न गर्नुपर्दछ ।