लाल किताब अनुसार शनि ग्रह


लाल किताब अनुसार शनि ग्रह

लाल किताब अनुसार शनि ग्रहको मान्यता अन्य ज्योतिषिय सिद्धान्तभन्दा केही फरक रहेको छ । त्यस्तै शनि ग्रहको प्रभावबाट बच्ने उपाय पनि केही भिन्न छ । लाल किताब अनुसार शनि ग्रहलाई जानेर उपाय गर्दा मनुष्यको आधाभन्दा बढी समस्या समाधान हुन्छ । 

पापीहरुको राजा शनिः लाल किताब अनुसार शनि पापी ग्रहहरुको राजा मानिएको छ । राहु र केतु शनिका सेवक हुन् । यदि यी तीन ग्रह एकै साथ वा दुई ग्रह एकै साथ छन् भने पनि खतराको अवस्था सृजना हुन्छ । लाल किताब अनुसार शनिको प्रेमिका शुक्र ग्रह हो । शनिको साथमा बुध ग्रह बसेर हरेक राम्रो नराम्रो कुरामा सहमति जनाउँछन् । अर्थात शनि, राहु, केतु, बुध र शुक्र हरेक गलत कार्यको जड बन्न सक्छन् । 

दण्डाधिकारी शनिः लाल किताबमा अर्काे एउटा मान्यता छ कि कलियुगमा शनि ग्रह न्यायधिश पनि हो र मनुष्यलाई उसको पाप र गलत कार्य अनुसार दण्ड पनि दिन्छ । लाल किताब अनुसार दशौँ र एकादशौँ भावमा शनिको प्रभाव रहन्छ । शनि मकर र कुम्भ दुवै राशिको स्वामी हो । कुण्डलीको प्रथम भावमा मेष राशिको आधिपत्य हुन्छ र यो राशीमा शनि ग्रह नीच अवस्थामा रहन्छ । शुभ योग भएमा यो भावको शनि व्यक्तिलाई मालामाल गर्दछ जबकि अशुभ योग भएमा बर्बाद गर्दछ । सप्तम भावमा राहु वा केतु भएमा शनिले अझै खराब फल दिन्छ । यदि दशौँ वा एकादशौँ भावमा सूर्य भएमा, मङ्गल र शुक्रले पनि अशुभ फल दिन्छन् । शनि जुन भावमा प्रसन्न हुन्छ, त्यो भावमा राम्रो हुन्छ र यदि क्रोधी भएमा बर्बाद गर्दछ । 

शनिको कारक वस्तुहरुः कालो रङ्ग, कालो धन, फलाम, मेसिन, कारखाना, फलामको औजार वा वस्तु, जादू, मन्त्र, जीव हत्या, लठ्ठी, छाल, ईँट्टा, सिमेन्ट, ढुङ्गा, सूती, नसालु वस्तु, मासु, रौँ, घर, खाल, तेल, रक्सी, पेट्रोल, स्पिरिट, चना, बदाम, नरिवल, जुत्ता, चोट, दुर्घटना आदि सबै शनि ग्रहसँग सम्बन्धित छन् । 

शनिसँग सम्बन्धित जीवः माछा, भैँसी, कछुवा, सर्प, कामदार, मजदुर, डाँका, चिरफार गर्ने चिकित्सक, चलाख, काका आदि । यो सेवा र नोकरीको कारक हुन्छ । 

शनि शुभ भएको खण्डमाः

  • शनि यदि शुभ भएमा व्यक्तिको हरेक क्षेत्रमा प्रगति हुन्छ । 
  • शनि शुभ भएमा व्यक्तिलाई जीवनमा कुनै किसिमको कष्ट हुँदैन । 
  • कपाल र नङ्ग मजबुत हुन्छ ।
  • यस्तो व्यक्ति न्यायप्रेमी हुन्छ र समाजमा मान–सम्मान पाउँछ । 
  • घर–जग्गाको कारोबारमा सफलता पाउँछ । 
  • व्यक्ति भूमिको मालिक हुन्छ र धनी पनि हुन्छ । 
  • यदि व्यक्तिले फलामको काम गरेमा उसलाई धेरै धन प्राप्त हुन्छ । 

शनि ग्रह अशुभ भएको लक्षणः

  • शनि ग्रह खराब भएमा विवादको कारण घर बेच्न पर्ने स्थिति भएमा । 
  • घर वा भवनको कुनै भाग क्षतिग्रत भएमा । 
  • अङ्गको रौँ छिटो झरेमा । 
  • घर वा पसलमा अचानक आगो लागेमा । 
  • कुनै पनि कारणले धन वा सम्पत्ति नाश भएमा । 
  • यदि मनुष्यले परस्त्रीसँग सम्बन्ध राखेमा ।
  • जुवा–तासमा लत लागेमा । 
  • कानूनी वा आपराधिक कृयाकलापमा संलग्न भएमा । 
  • रक्सी लगायत मादक पदार्थ सेवन गरेमा । 
  • कुनै दुर्घटनामा अपाङ्ग भएमा । 

लाल किताबमा शनि ग्रहसँग सम्बन्धित उपायः

  • भगवान भैरवको उपासना गर्नु । 
  • शनि ग्रहको खराब प्रभावबाट बच्नको लागि हरेक दिन हनुमानजी को सेवा र हनुमान चालीसा पाठ गर्नु । 
  • तिल, मासको दाल, फलाम, भैँसी, तेल, कपडा, काली गाई र जुत्ता पनि दान गरेर दिनु । 
  • माग्ने व्यक्तिलाई फलाको चिम्टा, तावा दानमा दिनु ।
  • निधारमा तेलको सट्टा दूध वा दहीको तिलक लगाउनु । 
  • कालो कुकुरलाई हरेक दिन रोटी खुवाउनु, पाल्नु वा सेवा गर्नु,
  • घरको अन्तिम कोठालाई अँध्यारो बनाउनु,  
  • माछालाई दाना वा चामल खुवाउनु, 
  • चामल वा बदाम बगेको पानीमा बगाउनु, 
  • रक्सी, मासु र अण्डा नखानु, 
  • मेसिन र शनिसँग सम्बन्धित अन्य वस्तुहरुबाट लाभ हुन्छ,
  • हरेक दिन कौवालाई खुवाउनु,
  • दाँत, नाक र कान सदैव सफा राख्नु, 
  • आफूभन्दा तल्लो स्तरको कर्मचारीसँग सदैव राम्रो व्यवहार गर्नु, 
  • छाया पात्र दान गर्नु अर्थात कुनै एक कटौरीमा वा अन्य पात्रमा सरसौँको तेल लिएर आफ्नो अनुहार हेरेर शनि मन्दिरमा आफ्नो पापको लागि क्षमा मागेर राखेर आउनु, 
  • भूरे रङ्गको भैँसी पाल्नु, 
  • मजदुर, भैँसी र माछाको सेवा गर्नु ।

सावधानीः कुण्डलीको प्रथम भाव अर्थात लग्नमा शनि भएमा भिखारीलाई तामा वा तामाको सिक्का कहिल्यै दान नगर्नु अन्यथा पुत्रलाई कष्ट हुन्छ । यदि आयु भावमा स्थित भएमा धर्मशालाको निर्माण नगर्नु । अष्टम भावमा भएमा घर नबनाउनु वा नकिन्नु । माथि बताईएका उपाय पनि लाल किताब जान्ने व्यक्तिसँग परामर्श लिएर मात्र गर्नु । 

शनि ग्रहको परिचयः
१) देवताः भैरव
२) गोत्रः कश्यप
३) जातिः क्षेत्रिय
४) रङ्गः श्याम नीलो
५) वाहनः भैँसी, गीद्ध
६) दिशाः वायव्य
७) वस्तुः फलाम
८) कपडाः जुत्ता
९) नक्षत्रः अनुराधा, पुष्य, उत्तर भाद्रपदा
१०) शरीरको अङ्गः दृष्टि, रौँ, कनपटी