अध्याय २ श्लाेक २३ भगवद् गीता

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: ।। २।२३||

अर्थातः

यो आत्मालाई हतियारले छिनाउन सक्दैन, आगोले जलाउन सक्दैन,  पानीले गलाउन सक्दैन र हावाले सोस्न सक्दैन । 

अर्जुन शस्त्र–अस्त्रद्वारा आफ्नो गुरुजन र भाई–बन्धुहरुको नाश हुने आशंकाले चिन्ता गरिरहेका थिए, त्यसैले उनको चिन्ता निवारण गर्नको निमित्त भगवानले यस श्लोकमा पृथ्वी आदि महाभूत आत्मालाई नाश गर्न असमर्थ छन् भनी निर्विकार आत्माको नित्यत्व र निराकारत्व सिद्ध गर्नुभएको छ । यसको अर्थ यो हो कि शस्त्रहरुद्वारा शरीरलाई काट्दा पनि आत्मा काटिँदैन, अग्न्यास्त्रद्वारा शरीरलाई जलाउँदा पनि आत्मा जल्दैन, वरुणास्त्रद्वारा शरीरलाई गलाउँदा पनि आत्मा गल्दैन र वायव्यास्त्रद्वारा शरीरलाई सुखाउँदा पनि आत्मा सुख्दैन । शरीर अनित्य र साकार वस्तु हो भने आत्मा नित्य र निराकार हो । त्यसैले आत्माको तीनै कालमा नाश छैन ।