चन्द्रागिरी भालेश्वरको धार्मिक र ऐतिहासिक महत्व

चन्द्रागिरी भालेश्वरको धार्मिक र ऐतिहासिक महत्व

धार्मिक महत्व

दक्ष प्रजापतिको यज्ञमा होमिएकी सती देवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सती देवीको भाल अर्थात निधार पतन भयो, त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको भन्ने कुरा हिमवतखण्डमा उल्लेख गरिएको छ । 

सुमुम नामक गन्धर्वसँग पनि महादेवको प्रसङ्ग जोडिएको छ । स्वर्गको ईन्द्रसभाबाट भोग–विलास सिध्याई भर्खर निवृत्त भएकी रम्भालाई सुमुखले बलजफ्ती चुम्बन गरे । रम्भाको श्रापले सुमुख मत्र्यलोकमा आउन बाध्य भए । मत्र्यलोकमा भौतारिएका सुमुखलाई गालव ऋषिले प्रत्येक दिन शुद्ध स्नान गरी भालेश्वरको दर्शन गर्न उपदेश दिए । यसो गर्दै जाँदा महादेव उत्पन्न भए र महादेवले रम्भासँगको काम भोग–विलास गरेर आफ्नो गण भएर बस्न सुमुखलाई वर प्रदान गरे । 

ब्राह्मण कुलमा जन्मिएका बिरुपासलाई पूर्व जन्मको फलस्वरुप विभिन्न पापकर्म एवं मातृगमन समेत भयो । कुष्ठ रोगले ग्रस्त बिरुपास यत्रतत्र बरालिन थाले । बरालिँदै जाँदा कोशी किनारमा नेमुनिलाई भेटी नेमुनिको उपदेश अनुसार प्रयाश्चितका लागि चौँसठ्ठी शिवलिङ्गको दर्शन गर्न हिँडे । यसरी हिँडेका बिरुपासले लिङ्गहरुको दर्शन गर्दै गन्धर्व तीर्थमा नुहाएर भालेश्वर महादेवको दर्शन गर्दै पूजाअर्चना गरी पापबाट मुक्त भएको जनविश्वास रही आएको छ । 

यस्तै कथनका आधारमा समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पुरा भई अन्त्यमा शिवलोकमा बास हुने जन श्रुती पाईन्छ । 

ऐतिहासिक महत्व

चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीको अवलोकन गर्नुभएको थियो । त्यति मात्र होईन यहीँ स्थानमा आध्यात्मिक साधनामा साधनारत रहेर एकीकरणको शक्ति आर्जन गरेको भन्ने उक्ति समेत पढ्न पाईन्छ । काठमाडौँका तात्कालिन मल्ल राजाहरुले चिन्छन् कि भनेर उहाँ घुम ओढेर चन्द्रागिरी डाँडातर्फ लाग्नुभएको थियो । 

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफू शासित राज्य गोरखा फर्किँदा चन्द्रागिरी हुँदै फर्किनुभएको र अवलोकन पछि काठमाडौँ उपत्यकालाई एकीकृत राज्यको राजधानी बनाउने दृढ निश्चय गर्नुभएको उहाँका उपदेशमा उल्लेख गरिएको छ । उहाँका साथ रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको ईच्छा पुरा हुने भविष्यवाणी समेत गरेको ईतिहासकार प्रा.डा.दिनेश राजपन्तले उल्लेख गर्नुभएको छ । त्यो ईच्छा ‘भालेश्वर महादेव’ले पुरा गरिदिनु भएको जनविश्वास रहीआएको छ । 

(चन्द्रागिरी भालेश्वरमा रहेको ‘भालेश्वर महादेव प्रसङ्ग’बाट साभार गरिएको)