अजा एकादशी

अजा एकादशी

भाद्र महिनाको कृष्ण पक्षको एकादशीलाई अजा एकादशी भनिन्छ। यसलाई ’जया एकादशी’ पनि भनिन्छ। यस दिनमा भगवान हरिको ऋषिकेश स्वरुपको पूजा गरिन्छ। 

व्रत कथा:

प्राचीनकालमा एक दानी, सत्यवादी र चक्रवर्ती राजा हरिशचन्द्र थिए। उनको सत्यवादी र धार्मिक कीर्ति सबैतिर फैलिएको थियो। यो देखेर इन्द्रले महर्षि विश्वामित्रलाई राजाको परीक्षा लिन लगाए। ऋषि विश्वामित्रले आफ्नो योग क्षमताले राजालाई सपनामा राज्य ऋषिलाई दान गरेको देखाए। 

अर्को दिन ऋषि विश्वामित्र आफ्नो राज्य माग्न अयोध्या आए। सपनामा दान गरेको कुरा पनि राजाले स्वीकार गरे र ऋषिलाई आफ्नो राज्य सबै दिए। राज्य दान गरेपछि राजा अयोध्याबाट निस्किन लाग्दा ऋषिले राज्य दान गरेपछि दान दक्षिणा पनि दिनपर्छ भने। राजाले सबै कुरा पहिले नै ऋषिलाई दिएको हुनाले दक्षिणाको लागि मलाई एक महिनाको समय दिनुहोस भने। त्यसपछि राजा काशी पुगे। काशीमा गएर उनले आफ्नी पत्नी शैव्यालाई एक ब्राह्मण कहाँ बेचे र उनको छोरा राजकुमार रोहिताश्व आफ्नी आमासँग बस्न थाले। राजाले आफैँलाई भने एउटा चाण्डाल कहाँ बेचे र एक हजार मोहोर दक्षिणा ऋषि विश्वामित्रलाई दिए। 

राजाले चाण्डालको सेवक भएर मसानघाटको चौकीदारी गर्न थाले। मसानघाटमा दाह संस्कार गरेवापत राजाले कर जम्मा गर्दथे। उनी धेरै पटक धर्म संकटमा पर्दथे तर धर्मको बाटो कहिले पनि छोडेनन्। एकदिन गौतम ऋषि घुम्दै राजा भएको ठाउँमा आउनुभयो। पूर्वजन्मको केहि पापले गर्दा राजा भएर पनि यसरि बस्नुपरेको हुनाले ऋषिले राजालाई ’अजा एकादशी’को व्रत गर्न भन्नुभयो। ऋषिको कुरा मानेर राजाले व्रत गर्न थाले। 

एकदिन राजकुमारले फूल टिप्ने बेलामा सर्पले टोकेर मृत्यु भयो। रानीले छोराको दाह–संस्कार गर्न घाटमा पुर्याइन। राजाले आफ्नो कर्तव्य अनुरुप रानीसंग कर मागे। रानी संग करको रुपमा दिने कुरा केहि थिएन। उनले आफ्नो सारीको फेरो च्यातेर राजालाई करको रुपमा बुझाइन। राजालाई एकदम नराम्रो लग्यो। त्यहिपनि उनी आफ्नो कर्म र धर्ममा अडिग रहे। यस्तो देखेपछि भगवान नारायण, इन्द्र, ऋषि विश्वामित्र प्रकट भएर राजकुमारलाई जीवित पारिदिनुभयो र विश्वामित्र ऋषिले राजकुमारलाई अयोध्याको राजा बनाउनुभयो। राजा रानी भने भगवानको धाममा गए। 

यो एकादशीको व्रत गर्नाले सबै पाप नाश हुन्छन र विधिपूर्वक गर्नाले स्वर्गलोक प्राप्त हुन्छ। यो एकादशीको कथा सुन्नाले मात्र पनि अश्वमेघ यज्ञ गरेको फल प्राप्त हुन्छ।