अध्याय ४ श्लाेक ७ भगवद् गीता
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ४-७॥
अर्थातः
हे अर्जुन ! जब जब धर्मको अवनति हुन्छ, अर्धमको बाहुल्यता हुन्छ, त्यही त्यही बेला म निराकारबाट साकार रुपमा प्रकट हुन्छु ।
जबजब संसारमा अधर्मले धर्ममाथि, अन्यायले न्यायमाथि, हिंस्रकले अहिंसावादी माथि, असत्यले सत्यमाथि शोषण दमन गर्न थाल्छन्, त्यस्ता दुराचारी व्यक्ति र प्रवृत्तिको नाशको निमित्त भगवानले अवतार लिन्छु भन्नुभएको छ । भगवान श्रीहरिले विभिन्न कालखण्डमा अनेक अवतारहरु लिनुभएको छ चाहे कंसलाई मार्नलाई कृष्ण अवतार होस्, रावणलाई मार्नलाई श्रीराम अवतार होस् वा भक्त प्रह्लादको उद्धारको निमित्त नृसिंह अवतार होस् । यहाँ भगवानले कुन युगमा कति पटक आउँछु भनेर भन्नुभएको छैन । मात्र अधर्मको नाश हुने अवस्थालाई संकेत गर्नुभएको छ । धार्मिक, सदाचारी, निरपराधी व्यक्तिहरु माथि त्यो बेला अन्याय हुन थाल्छ जब व्यक्तिहरुमा सांसारिक भोग्य संग्रहमा आसक्ति बढ्छ, अनैतिक रुपमा व्यक्तिले धनसंग्रह गरेर अहंकार बढाउन केन्द्रित हुन्छ र पापाचार, झैझगडा र विद्रोहमा लिप्त हुन्छ । यस्तो अवस्थाको निर्मूल त्यही समयमा भएका ज्ञानीजन, ऋषिमुनिहरुबाट संभव नभएमा परमात्माले साकार रुपमा नै प्रकट भएर त्यस्ता निकृष्ट व्यक्ति र प्रवृत्तिको नाश गरी धर्म स्थापना गर्नुहुन्छ ।