कथा: नचिकेतालाई आत्मज्ञान

नचिकेतालाई आत्मज्ञान

उपनिषदमा एउटा दृष्टान्त आउँछ – नचिकेतालाई उनको पिताले दानमा यमराजलाई दिएका थिए । जब दानमा गए त उनी यमराजको ढोकामा तीन दिनसम्म भोकै कुरेर बसिरहे । तीन दिनपछि यमराज आएर सोधे – ‘मानिसहरु मसँग डराउँछन्, कोही पनि मेरो नजिक आउन चाहन्नन् । तिमी तीन दिनदेखि भोकै मलाई कुरिरहेका छौ, यसबाट म अत्यन्त प्रसन्न भएको छु, तिमी मसँग वर माग, म तिमीलाई प्रदान गर्छु ।’ नचिकेताले भने – ‘महाराज मलाई आत्माको ज्ञान ‘आत्मज्ञान’ दिनुहोस् ।’ त्यसपछि यमराजले भने – ‘तिमी पुत्र माग, सुन्दर स्त्री माग, संसारको धन सम्पत्ति माग, जे पनि माग म दिन्छु, तर आत्मज्ञानको चर्चा नगर । यसबाहेक जे पनि माग ।’ 

नचिकेताले त्यस समय जे मागेको भए पनि पाउँथ्यो । ऊ तीनै लोकमा सबैभन्दा वैभवशाली हुन सक्थ्यो । तर उसले भन्यो – ‘मलाई आत्मज्ञान नै चाहियो । जे तपाईँ माग भनिरहनुभएको छ, पुत्र, स्त्री, धन–सम्पत्ति यी सबै मायामा फसाउने तत्वहरु हुन् । यिनीहरुले मुक्ति दिन सम्भव छैन । यी नश्वर छन् । मलाई त यस्तो वस्तु दिनुहोस् जो शरीरको मृत्युपछि पनि सधैँ अमर रहन्छ । यस स्थूल शरीरको मृत्युपछि पनि साथ जान्छ र कहिल्यै साथ छोड्दैन । त्यस्तो चिज आत्मज्ञान नै हो ।’ बारम्बार नचिकेतालाई यमराजले सांसारिक वस्तु माग भन्दा पनि उनले आत्मज्ञान नै मागिरहे । धेरै कोशिश गर्दा पनि नचिकेता विचलित नभएको देखेर यमराज प्रसन्न भई उनलाई आत्मज्ञान प्रदान गरे । 

यसरी, हामीले पनि जीवनमा भगवानसँग अनेक सांसारिक वस्तुहरु माग्दछौँ जो क्षणिक हुन्छन् । यदि नचिकेताले जस्तै हामीले पनि सत्य ज्ञान दिनुहोस्, सत्य सँगत दिनुहोस्, सत्प्रेरणा दिनुहोस्, सत्शास्त्र पढ्ने सामर्थ दिनुहोस् र सही मार्गनिर्देश गर्ने सद्गुरु दिनुहोस् भनेर माग्यौँ भने हामीले यथार्थ ज्ञान प्राप्त गर्न सक्दछौँ ।