प्रत्यक्षानुमानागमाः प्रमाणानि


प्रत्यक्षानुमानागमाः प्रमाणानि ।।७।। - पतञ्जलीयोग दर्शन

प्रत्यक्ष, अनुमान र आगम यी तीन प्रमाण हुन् । वृत्ति भेदले दुई प्रकारका हुन्छन्– क्लिष्ट र अक्लिष्ट । क्लिष्ट अर्थात अविद्यादि क्लेशहरुलाई पुष्ट गर्ने र योगसाधनामा विघ्न ल्याउने र अक्लिष्ट अर्थात क्लेशहरुलाई क्षय गर्ने र योगसाधनामा सहायक हुने । 
१) प्रत्यक्ष प्रमाणः बुद्धि, मन र इन्द्रियले जान्ने जति पनि पदार्थ छन्, त्यसको अन्तःकरण र इन्द्रियहरुको साथ कुनै अड्चनविना जो भ्रान्ति तथा संशयरहित ज्ञान हुन्छ, त्यो प्रत्यक्ष अनुभवबाट हुने प्रमाणवृत्ति हो । जुन प्रत्यक्ष दर्शनबाट संसारका पदार्थको क्षणभङ्गुरता निश्चय भएर वा सबै प्रकारबाट तिनमा दुःख प्रतित भएर मनुष्यलाई सांसारिक पदार्थमा वैराग्य हुन्छ, जो चित्तको वृत्तिहरुलाई रोक्नलाई सहायक छन्, जसले मनुष्यको योग साधनामा श्रद्धा र उत्साह बढाउँछन्, तीबाट हुने प्रमाणवृत्ति अक्लिष्ट हुन् तथा जुन प्रत्यक्ष दर्शनबाट मनुष्यलाई सांसारिक पदार्थ नित्य र सुखरुप देखिन्छ, भोगमा आसक्ति हुन्छ, जो वैराग्यको विरोधी भावलाई बढाउँछन्, तीबाट हुने प्रमाणवृत्ति क्लिष्ट हुन् । 
२) अनुमान प्रमाणः कुनै प्रत्यक्ष दर्शनको सहारा युक्तिहरुद्वारा जो अप्रत्यक्ष पदार्थको स्वरुपको ज्ञान हुन्छ, त्यो अनुमानबाट हुने प्रमाणवृत्ति हो । जसरी गर्मी देखेर सूर्यको विद्यमानताको ज्ञान हुन्छ, नदीमा बाढी आएको देखेर दाेस्रो देशको मौसम प्रतिकूल भयो भनेर ज्ञान हुन्छ आदि । यसमा पनि जुन अनुमानले मनुष्यको संसारका पदार्थको अनित्यता, दुःखरुपता आदि दोषहरुको ज्ञान भएर तिनमा वैराग्य हुन्छ र योगको साधनामा श्रद्धा बढ्छ, जो आत्मज्ञानमा सहायक हुन्छ, यी सबै वृत्तिहरु अक्लिष्ट हुन् र विपरीत वृत्तिहरु क्लिष्ट हुन् ।  
३) आगम प्रमाणः वेद, शास्त्र र यथार्थ वक्ता पुरुषको वचनलाई ‘आगम’ भनिन्छ । जो पदार्थ मनुष्यको अन्तःकरण र इन्द्रियहरुको प्रत्यक्ष छैनन् र जहाँ अनुमानको कुनै पहुँच छैन, त्यसको स्वरुपको ज्ञान वेद, शास्त्र र महापुरुषको वचनबाट हुन्छ, त्यो आगमबाट हुने प्रमाणवृत्ति हो । जुन आगम प्रमाणले मनुष्यलाई भोगमा वैराग्य उत्पन्न हुन्छ र योगसाधनामा श्रद्धा–उत्साह बढ्छ, त्यो अक्लिष्ट हो र जुन आगम प्रमाणले भोगमा प्रवृत्ति र योग साधनामा अरुचि हुन्छ, त्यो क्लिष्ट हो ।