मोहिनी एकादशी

मोहिनी एकादशी

यो पौराणिक कथा पढेर सौभाग्य र धन प्राप्त हुन्छ । 

पौराणिक मान्यता अनुसार मोहिनी एकादशीको कथा महर्षि वशिष्ठले भगवान रामचन्द्रलाई भन्नुभएको थियो । धार्मिक ग्रन्थमा मोहिनी एकादशीको तिथि अत्यन्त शुद्ध तथा पवित्र मानिन्छ । यो एकादशीको दिनमा व्रत राख्नाले वैशाख महिनामा गरिएको दानको पुण्य मिल्दछ भन्ने विश्वास छ । वैशाख महिनाको शुक्ल पक्षको यो एकादशी व्रतले समस्त दुःख नाश गरेर सौभाग्य र धन प्रदान गर्दछ । यो व्रत गरेपछि सबै मोहजालबाट मुक्त भईन्छ । 
धार्मिक मान्यता अनुसार यही तिथिको दिनमा समुन्द्र मन्थनको गर्दा अमृत निस्किएको थियो र भगवान विष्णुले दैत्यहरुबाट अमृत रक्षा गर्नको निमित्त मोहिनी रुप धारण गर्नुभएको थियो र सबै देवताहरुलाई अमृतपान गराउनुभएको थियो । 

पूजा–विधि
यस दिन समस्त कामना र सिद्धिहरुका दाता भगवान श्रीविष्णुको पूजा–अर्चना गर्नुपर्दछ । ‘ॐ नमो भगवते वासुदेवाय’ जप एवं विष्णु सहस्रनामको पाठ गर्दा धेरै फलदायी हुन्छ । भक्तले परनिंदा, छल–कपट, लोभ, द्वेष आदि कार्यबाट अलग रही भक्तिपूर्वक श्री नारायणको ध्यान र जप गर्नाले सम्पूर्ण मोहजालबाट छुटकारा पाई वैकुण्ठ धाम प्राप्त गर्दछ । 

पौराणिक एवं प्रामाणिक व्रतकथाः
मोहिनी एकादशी व्रत कथा अनुसार सरस्वती नदीको तटमा भद्रावती नाम गरेको एक नगरीमा धृष्टिमन नाम गरेको एक चन्द्रवंशी राजाले राज्य गर्दथे । उनका पाँच पुत्र थिए । पाचौँ पुत्रको नाम धृष्टबुद्धि थियो । ऊ खराब र अनैतिक कार्य गर्दथ्यो । यो सबै थाहा भएपछि राजा धृष्टिमनले धृष्टबुद्धिलाई त्याग गरिदियो । जीवित रहनको निमित्त धृष्टबुद्धिले झन् डकैती गर्न थाल्यो । परिणामस्वरुप, उसलाई राजाले राज्यबाट निकालिदिए । धृष्टबुद्धि एक जङ्गलमा बस्न थाल्यो । जङ्गलमा एता उता भौँतारिँदा ऊ एकदिन ऋषि कौडिन्यको आश्रममा पुग्यो । यो वैशाख महिनाको समय थियो र ऋषि स्नान गर्दै थिए । स्नान गर्दाको पानीको छिटा धृष्टबुद्धिको शरीरमा पर्यो । त्यो छिटा शरीरमा पर्दा धृष्टबुद्धिको मनमा राम्रो भावना संचार भयो । ऋषिको स्नान गर्दाको पानीले त त्यति प्रभाव पर्छ भने ऋषिसँग संगत गर्दा आफ्नो सम्पूर्ण दुष्कर्मको प्रायश्चित हुने सोची धृष्टबुद्धिले ऋषिसँग शरण माग्यो । उसले आफूलाई सबै खराब कार्यबाट मुक्ति दिलाई मुक्तिको मार्गमा मार्गदर्शन गर्न ऋषिसँग अनुरोध गर्यो । सबै गलत कार्यबाट मुक्ति र सत्य मार्गमा चल्नको निमित्त ऋषिले धृष्टबुद्धिलाई मोहिनी एकादशीको व्रत राख्न निर्देशन गरे । ऋषिको आज्ञा अनुरुप धृष्टबुद्धिले सम्पूर्ण श्रद्धासहित एकादशी व्रत गर्यो र व्रतको प्रभावले उसको सबै पाप नष्ट भए र उसले विष्णु लोकमा स्थान पायो ।