प्रेरक कथा: व्यापारीको मोह
व्यापारीको मोह
एक महात्मा एउटा व्यापारीको घरमा बसे । उनले व्यापारीलाई मसँग हिँड, तिमीलाई भगवानको भजन भन्छु जसले तिमीलाई मुक्ति दिन्छ भने । व्यापारीले भन्यो – ‘मेरा साना साना बच्चा छन्, यदि म तपाईँसँग गएँ भने यिनलाई कस्ले हेर्छ ? मलाई केही समय दिनुहोस् । यदि तपाईँ केही समयपछि आउनुभयो भने म अवश्य तपाईँसँग जान्छु, मलाई भगवानको ज्ञान गर्ने इच्छा छ ।’
केही समयपछि महात्मा व्यापारीको घरमा पुग्दा त उनको मृत्यु भईसकेको रहेछ । उनले दिव्य दृष्टि लगाएर हेर्दा व्यापारी त्यही घरमा भैँसी भएर काममा लागेको देखे । महात्मा भैँसीको नजिक गएर भने – ‘आऊ मसँग । तिमीलाई भगवानको भजन दिन्छु । पूर्वजन्ममा पनि तिमीले केही समय पछि आउन भन्यौ । यो जन्ममा त तिमीलाई अत्यन्त दुःख भएको रहेछ । म तिम्रो कल्याण हुने मार्ग भन्दछु ।’ भैँसीले भन्यो – ‘मलाई केही समय दिनुहोस् । मेरा बच्चा अझै खुट्टामा उभिन सक्ने भएका छैनन् । मैले मिहिनेत गरेर काम गरेको हुनाले नै उनीहरुले खान पाएका छन् । तपाईँ केही समय पछि आउनुहोस्, मलाई भगवानको ज्ञान गर्ने इच्छा छ ।’
अर्काे पटक जाँदा भैँसीको पनि मृत्यु भइसकेको रहेछ । दिव्यदृष्टिले हेर्दा उनी त्यही घरमा कुकुरको जन्म लिएका रहेछन् । महात्मा कुकुर नजिक पुगेर भने – ‘हेर तिमीले अनेक जन्म लिइसक्यौ । तिमीलाई व्यापारीको जन्ममा पनि सुख भएन, भैँसीको जन्ममा पनि तिमी दुःख मात्र गरेर मर्याै । अब त मसँग हिँड । यो क्षणिक मायामा नभुल । यस जन्ममा पनि तिमीलाई दुःख मात्र छ । मसँग गयौ भने भगवानको नामरुपी भजन दिएर तिम्रो कल्याण हुने मार्ग भन्दछु ।’ कुकुरले भन्यो – ‘महात्मा मलाई केही समय दिनुहोस । मेरो बच्चाहरु अलि होशपूर्वक काम गर्दैनन् । यो घरमा धेरै सम्पत्ति छ । तर यिनीहरु कहिले ढोका खुल्यै छोडेर पनि जान्छन् । म घरमा कुरिरहनुपर्दछ । म तपाईँसँग गएँ भने यो सम्पत्ति को रक्षा कस्ले गर्दछ ? मेरो बच्चाहरुले दुःख पाउँछन् । तपाईँ केही समयपछि आउनुहोस । बच्चाहरुले सम्पत्ति रक्षा गर्ने स्त्री विवाह गर्छन् र म तपाईँसँग ज्ञान प्राप्तिको लागि जान्छु । मलाई भगवानको ज्ञान गर्ने इच्छा छ ।’
केही समयपछि महात्मा घुम्दै फिर्दै आउँदा त कुकुरको पनि मृत्यु भइसकेको रहेछ । उनले दिव्यदृष्टिले हेर्दा व्यापारीले वासनाको कारण त्यही घर नजिकै भ्याकुताको रुपमा जन्म लिएको रहेछ । महात्माले भ्याकुतालाई उसको पूर्व जन्महरुको सबै दुःखदायी कथाहरु सुनाए र उसले पहिला जन्महरुमा ज्ञान गर्ने इच्छा गरेको पनि याद दिलाए । महात्माको कुरा सुनेर भ्याकुताले भन्यो – ‘महात्मा अहिले मलाई पहिला जस्तो कुनै दुःख छैन । म हिलोमा डुले पनि मैले मेरो नाति–नातिनीलाई देखेर सबै दुःख भुल्दछु । तपाईँ केही समयपछि आउनुहोस । मलाई भगवानको ज्ञान गर्ने इच्छा छ ।’
यसरी हरेक पटक महात्मालाई केही न केही कारण देखाएर व्यापारीले फर्कायो । मोह र वासनाको कारणले उसले सम्पूर्ण दुःखबाट मुक्ति दिलाउने महात्माको सङ्गत नगरेर अत्यन्त दुःख भए पनि त्यही घरमा नै बस्ने इच्छा राख्यो र भगवानको ज्ञान गर्ने इच्छालाई स्थगित गरिरह्यो । यसरी नै हामी पनि साना साना कामनाहरुमा फसेर परम आनन्दरुपी भगवानको नाम कीर्तनलाई भुलिरहेका छौँ । यस कथाले हामीलाई वासनाहरुलाई त्याग गरी समय रहँदा नै भगवानको सत्यज्ञानमा लाग्नलाई प्रेरणा दिन्छ ।