मङ्गलबारको व्रत कथा र पूजा विधि

मङ्गलबारको व्रत कथा र पूजा विधि

हिन्दु धर्ममा मङ्गलबारको व्रतको विशेष महत्व रहेको छ । विधिपूर्वक वर्त गर्नाले सबै किसिमको भय र चिन्ताबाट मुक्ति मिल्दछ । 

मङ्गलबार व्रतको पौराणिक कथा

एक निःसन्तान ब्राह्मण दम्पत्ति अत्यन्त दुःखी थिए । ब्राह्मण वनमा पूजा गर्न गएको थियो र हनुमानसँग पुत्रको कामना गर्दै थियो । घरमा उसकी स्त्री पनि पुत्र पाउने कामना सहित मङ्गलबारको व्रत गर्दथी । मङ्गलबारको दिन व्रतको अन्तमा हनुमानलाई भोग लगाएर मात्र भोजन गर्दथी । एक पटक ब्राह्मणीले व्रतको दिनमा भोजन लगाउन सकिन र उसले प्रण गरी कि अर्को हप्ता हनुमानलाई भोग लगाएर मात्र आफूले भोजन ग्रहण गर्छु भनी । ऊ एक हप्तासम्म भोकै आराधना गरेको देखेर हनुमान उसको निष्ठाप्रति अत्यन्त प्रसन्न हुनुभयो र पुत्र प्रदान गर्नुभयो । 

ब्राह्मणी धेरै खुशी भई र त्यस बालकको नाम मङ्गल राखी । केही समय पछि जब ब्राह्मण घर आयो र बालकलाई देखेर यो को हो भनी सोध्यो । श्रीमतीले सबै कहानी सुनाई तर ब्राह्मणले ऊप्रति शङ्का गर्यो । एक दिन मौका छोपेर ब्राह्मणले बच्चालाई कुवामा फालिदियो । ब्राह्मणीले छोरोको बारेमा सोध्दा ब्राह्मण डरायो र केही बोल्न नसकी चुपचाप बसिरह्यो । यता पछाडिबाट मङ्गल मुस्कुराउँदै आयो । ब्राह्मण आफ्नो कर्तुत प्रति लज्जित भयो । राति सपनामा हनुमान आएर उसलाई सबै कहानी भन्नुभयो । त्यसपछि ब्राह्मण, ब्राह्मणी र मङ्गल मङ्गलबारको व्रत गरेर आनन्दको जीवन व्यतित गर्न थाले । 

मङ्गलबार व्रतको पूजा विधिः
१) मङ्गलबारको दिन सूर्याेदयभन्दा पहिला उठ्नु,
२) स्नानादि नित्यक्रियाबाट निवृत्त भई स्वच्छ हुनु,
३) यस दिन रातो कपडा धारण गर्दा शुभ हुन्छ । त्यसपछि हनुमानलाई रातो फूल, सिन्दुर र कपडा चढाउनु पर्दछ । 
४) श्रद्धापूर्वक हनुमानको प्रतिमा अगाडि दियो बालेर हनुमान चालिसा वा सुन्दरकांडको पाठ गर्नुपर्दछ,
५) साँझको समय बेसनको लड्डु वा खीर हनुमानलाई भोग लगाएर आफूले पनि नुनविनाको खाना ग्रहण गर्नुपर्दछ,
६) मङ्गलबार व्रत गर्नेले यस दिन ब्रह्मचर्यको पालना गर्नुपर्दछ,
७) माङ्गलिक दोषबाट पिडित व्यक्तिले पनि मङ्गलबार व्रत गर्दा लाभ हुन्छ,
८) शनिको महादषा, अढैया वा साढेसातीबाट विघ्न आईपरेको भए पनि यो व्रत गर्दा राम्रो हुने मानिएको छ ।