आईतबारको व्रत कथा र पूजा विधि

आईतबारको व्रत कथा र पूजा विधि 

आईतबार सूर्य भगवानको पूजा गर्ने बार हो । जीवनमा सुख–समृद्धि, धन–सम्पत्ति एवं शत्रुहरुबाट सुरक्षाको निमित्त आईतबारको व्रत श्रेष्ठ मानिन्छ । आईतबारको व्रत गर्नाले र कथा सुन्नाले मनुष्यको सबै मनोकामना पूर्ण हुन्छ, मान–सम्मान, धन–यश तथा उत्तम स्वास्थ्य मिल्दछ ।
 
आईतबार व्रतको पौराणिक कथाः
प्राचीन कालमा एक बूढी विधवा थिइन् । उनी नियमित रुपमा आईतबारको व्रत गर्थिन् । आईतबारको दिन सूर्याेदयभन्दा पहिला उठेर स्नानादिबाट निवृत्त भएर आँगनलाई गोबरले लिपेर स्वच्छ गर्थिन् । त्यसपछि सूर्य भगवानलाई पूजा गरी आईतबार व्रतको कथा सुनी सूर्य भगवानलाई भोग लगाएर दिनमा एक समय मात्र भोजन गर्थिन् । सूर्य भगवानको कृपाबाट बूढीलाई कुनै प्रकारको चिन्ता एवम् कष्ट थिएन । 

ती बूढीलाई सुखी देखेर उनकी छिमेकी साह्रै डाहा गर्थिन् । बूढीले कुनै गाई पालेकी थिईनन् । उनी आफ्नो छिमेकीकहाँबाट गोबर लिएर आउँथिन् । छिमेकीले आफ्नो गाईलाई भित्र बाँध्न थालिन् । यसो हुँदा ति बूढीले गोबर ल्याउन पाईनन् र आफ्नो आँगन लिप्न पाईनन् । आँगन लिप्न नपाएको हुनाले उनले सूर्य भगवानलाई भोग पनि लगाउन सकिनन् र स्वयंले पनि खाना खाईनन् र भोकै सुतिन् । 

बिहान सूर्याेदयभन्दा पहिला उनले आफ्नो घरको आँगनमा एक सुन्दर गाई र बाच्छो देखेर अचम्मित भइन् । उनले गाईलाई बाँधेर घाँस खान दिईन् । छिमेकी सुन्दर गाई र बाच्छो देखेर झन् डाहाले जलिन् । केही बेरमा गाईले सुनको गोबर गर्यो । त्यसबखत बूढी भित्र गएकी थिइन् । छिमेकी झट्ट आएर सुनको गोबर लिएर गईन् र आफ्नो घरको गाईको गोबर त्यहाँ ल्याएर राखिदिईन् । 

धेरै दिनसम्म बूढीलाई सुनको गोबरबारे केही थाहा भएन । एकदिन ठूलो आँधीबेरी आयो र बूढीले गाईलाई आँगनबाट भित्र लगरे बाँधिन् । बिहान उठेर हेर्दा त सुनको गोबर देखेर साह्रै आनन्दित भईन् । त्यसपछि उनले गाईलाई बाहिर बाँध्न छोडिन् । उनी छोटो समयमा नै निकै धनी भईन् । यो देखेर छिमेकीलाई सकी नसक्नु छटपटी भयो । उनले यो निवेदन राजासामु पुर्याईन् । 

राजाले बूढीको गाई लिएर गए र सुनको गोबर देखेर निकै प्रसन्न भए । यता बूढी पहिलाजस्तै सूर्यको व्रत गर्थिन् र कथा सुन्थिन् । सूर्य भगवानले बूढीको अनुहारमा प्रसन्न मुद्रा नदेखेर हेर्दा त उहाँले दिनुभएको गाई राजाले लगेको थाहा पाउनुभयो । भगवान राजाको सपनामा आएर उक्त गाई बूढीलाई फिर्ता गरिदिनु नत्र राज्यमा ठूलो आपत्ति आउने चेतावनी दिनुभयो । राजा भयभीत भएर अर्काे दिन बिहानै बूढीलाई बोलाएर आफ्नो गल्तीको लागि क्षमा मागी गाई बूढीलाई नै फिर्ता गरिदिए । राजाले छिमेकीलाई पनि उनको दुष्टताको दण्ड दिए र सबै स्त्री–पुरुषलाई आईतबार सूर्य भगवानको व्रत बस्नु भनी निर्देशन गरे । राजाको आज्ञा पालन गरी सूर्यको व्रत बस्दा र कथा सुन्दा सबै प्रजा सुखी खुशी भए र उनीहरुको सम्पूर्ण शारीरिक दुःखकष्ट पनि निवारण भयो । 

आईतबारको पूजा विधिः
१) सूर्यको व्रत एक वर्ष, नसके ३० आईतबार, त्यो पनि नसके कम्तिमा १२ आईतबार गर्नुपर्दछ । 
२) आईतबार सूर्याेदयभन्दा पहिला उठेर शौच र स्नानादिबाट निवृत्त भएर सफा रातो रंगको लुगा लगाउनु,
३) त्यसपछि घरको कुनै पवित्र स्थानमा भगवान सूर्यको स्वर्ण मूर्ति वा चित्र स्थापना गर्नु, यसपछि विधि–विधान सहित भगवान सूर्यलाई पूजा गर्नु,
४) पूजा पछि व्रतकथा सुन्नु,
५) व्रतकथा सुनेर आरती गर्नु,
६) त्यसपछि सूर्य भगवानलाई स्मरण गरेर ‘ॐ ह्रां ह्रीं ह्रौँ सः सूर्याय नमः’ यस मन्त्र १२ वा ५ वा ३ माला जप गर्नु,
७) जपपछि शुद्ध जल, रक्तचन्दन, अक्षता, रातो फूल र दूबोले सूर्यलाई अघ्र्य दिनु,
८) सात्विक भोजन वा फलाहार गर्नु, भोजनमा गहुँको रोटी, दलिया, दूध, दही, घ्यू र चिनी खानु,
९) आईतबारको दिन नुन नखानु ।